मुस्ताङ यात्रा : पाइलैपिच्छे रमणीय स्थल

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

मुस्ताङ घुम्नका लागि गत साता हाम्रो यात्रा काठमाडौंबाट तय भयो । ट्राफिक जाम, धुलोधुवाँ र खाल्डाखुल्डी सडकका कारण मुग्लिन पुग्दासम्मको पाँच घण्टाको यात्रा भने पट्यारलाग्दो भइरह्यो । जब मुग्लिन बजार कटेर पोखरा जाने बाटो समातियो, त्यसपछि हाम्रो यात्रा थप रमाइयो बन्यो । भर्खरै कालोपत्रे गरिएको फराकिलो सडक हुँदै पुगियो पोखरा । पोखराबाट हाम्रो यात्रा बेनी बजारतर्फ मोडियो ।

बेनी पुग्नुअघि बाटैमा पर्ने केही रमणीय स्थल घुम्ने हाम्रो योजना थियो । बाग्लुङ कालिका मन्दिर, गलेश्वर मन्दिर र नेपालकै अग्लो र लामो झोलुंगे पुल पनि त्यसैदिन धुम्न भ्याइयो । बिहान करिब ५ बजे काठमाडौंबाट हिँडेर बाग्लुङका केही स्थान घुम्दै बेलुकी ८ बजे म्याग्दीको बेनी बजार पुगियो ।

मुस्ताङ

भोलिपल्ट एकाबिहानै हाम्रो गाडी बेनी बजारबाट मोडियो मुस्ताङतर्फ । बाटो घुमाउरो भए पनि अप्ठ्यारो भने त्यति थिएन । जति–जति हामी मुस्ताङसँग नजिकिँदै जान्छौँ, त्यति–त्यति अग्ला डाँडा देखिँदै थिए । बेनी बजारबाट करिब १३५ किमि टाढा थियो मुस्ताङ । बेनीबाट करिब एक घण्टाको यात्रा अघि बढेपछि आयो, रुप्से झरना । रुप्से झरनासँग केही बेर रमाएपछि हामी अघि बढ्यौँ । मुस्ताङ जाने यात्राका क्रममा ठाउँ–ठाउँमा रोकिने र त्यहाँका स्थल घुम्दै जाँदा थकान खासै थिएन । रुप्से झरनाबाट केही किमिको यात्रापछि फेरि अर्को महत्वपूर्ण स्थान आयो, तातोपानीले नुहाउने ठाउँ । प्राकृतिक रूपमा तातोपानी आउने म्यादीको तातोपानी भन्ने त्यस ठाउँमा नुहाउनेको भिड थियो । मुस्ताङबाट फर्किनेले प्राय: त्यहाँ नुहाएर फर्किंदा रहेछन् । फर्किंदा नुहाउने योजनासहित हामी त्यहाँ नपसी अघि बढ्यौँ । करिब आधा घण्टाको यात्रापछि आयो, मुस्ताङको लेते । लेते सानो बजार हो ।

यहाँ सीमित घर छन् । तर, लेते यसकारण प्रसिद्ध छ, यहाँबाट पर्याप्त रूपमा हिमाल र अग्ला डाँडा हेर्न पाइन्छ । लेते पुगेपछि हाम्रो यात्रामा थप रमाइलो थपिँदै थियो । यात्रामा पाइलैपिच्छे रमणीय स्थल भेटिने भएपछि यो यात्राका लागि पर्यटक निकै लालायित हुने रहेछन् । लेतेबाट मुस्ताङमा डाँडापाखा सेताम्मे देखिए । तर, अत्याधिक चिसो । हावाको स्याँठले जोड–जोडले हानिरहेको थियो । तथापि, त्यहाँ केहीबेर फोटो खिच्ने र पारिलो घाम ताप्न हामी रोकियौँ । बिहान ९ बजेतिर त्यहाँ पुग्दा डाँडाँमा घाम टल्किरहेको थियो । सेतो हिमालमाथि घाम झुल्किँदा पाखाहरू बेहुलीझैँ सिँगारिएका देखिन्थे । लेतेबाट करिब डेढ घण्टाको यात्रापछि पुगियो मुस्ताङको जोमसोम बजार । यो बजार पुग्दा घाम टल्किरहेको थियो । तर, यहाँ हरियाली भने देखिँदैनथ्यो । माथिल्लो हिमाली डाँडाबाट चलिरहेको बतासले जोमसोम बजारमा चिसो थपिरहेको थियो ।

ऐतिहासिक बागलुङ कालिका मन्दिर

जोमसोमबाट जति अघि बढ्यो, त्यति हराउँदै थियो हरियाली । मरुभूमितुल्य डाँडापाखा हाम्रो सामुन्ने उभिँदै थिए । जोमसोमबाट करिब एक घण्टाको यात्रापछि आयो कागबेनी चोक । त्यसको बिचमा हामीले छुटाएका थियौँ, मार्फा गाउँ । उक्त गाउँ फर्किंदा घुम्ने योजना बनाएर अघि बढेका थियौँ । 

कागबेनी चोकमा पुगेर अघिपछि हेर्दा पनि कतै देखिएनन्, हरिया रुख र पातपतिंगर । देखिए त केवल फुस्रा पाखाहरू । पाखाहरूको शिरमा घुम्टो ओढेर बसेको थियो सेताम्मे हिउँ । त्यो देख्दा लाग्थ्यो हिउँ र घामले हामीलाई स्वागत गरिरहेका छन् । अझ ठाउँठाउँमा चिरिएर तरेली परेका पहाडहरू । माटोमै प्राकृतिक रूपमा बनेका थिए, मानिसले कोरेकाझैँ अनेकौँ रेखाचित्र । पाखा र माटो हेर्दा लाग्थ्यो, यहाँ कसैले कलाकृति बनाइदिएको छ ।

कागबेनी चोकबाट अघि बढेपछिको यात्रा झन् रमणीय भइरहेको थियो । हिमालमा ठोक्किएर पारिपारिका भित्तामा समेत उज्यालो छर्दै थिए घाममा किरण । कलात्मक पाखा हेर्दाहेर्दै करिब २० मिनेटमा हामी पुग्यौँ मुस्ताङको मुक्तिनाथ बजार । 

बजार पुगेपछिको दृश्य भने फरक थियो । मानिसहरू मुक्तिनाथ मन्दिर जान कोही हिँड्दै थिए, कोही घोडामा सवारी गर्दै थिए । स्थानीयहरू आफ्ना उत्पादन बेच्न व्यस्त थिए । मुक्तिनाथ बजार पुगेपछि सबै गाडीलाई रोकिँदो रहेछ । बजारबाट हिमाली पाखाहरू हेर्दै करिब १५ मिनेट हिँडेपछि हामी पुग्यौँ मुक्तिनाथ मन्दिर । फराकिलो बाटो सकिएपछि सिँढी उक्लिएपछि आयो मुक्तिनाथ मन्दिर । बिहानको करिब १०:३० बजेको थियो । मुक्तिनाथ मन्दिर पुग्दा त्यहाँ भिडभाड र चहलपहल बेग्लै थियो । एकातर्फ प्राकृतिक चहलपहल र अर्कातर्फ मानिसको चहलपहल । हेर्दै आनन्द महसुस भइरह्यो । मन्दिर दर्शनका लागि भक्तजन लामबद्ध थिए । मन्दिरबाट चारैतिर हेर्दा सेताम्मे डाँडा देखिन्थे । त्यहाँ पुगेकाहरू डाँडाकाँडा हेर्न मस्त थिए ।

गलेश्वर महादेव मन्दिर

मन्दिरको दर्शनपछि नजिकै रहेका १०८ वटा धारामा नुहाउनेको उत्तिकै लस्कर थियो । सबै धारामा नुहाएर परिक्रम गर्दा शरीरमा चिसो होइन न्यानो महसुस भयो । मन्दिर दर्शन र धारामा नुहाएपछि घाम ताप्दै हामी झर्‍यौँ मुक्तिनाथ बजार । बजारबाट पनि ठम्याउन सकिन्थ्यो, पारि–पारिका डाँडाँमा जमेको हिउँ । जति हेरे पनि आँखा नथाक्ने हिमाली पाखा हेर्दै मुक्तिनाथ बजारमा खाना खायौँ । त्यहाँबाट झुम्बा ताल हेर्न आयौँ । यो ताल पनि हिउँको पानी पग्लिएर बनेको थियो । झुम्बा तालबाट हामी आयौँ, स्थानीय कला संस्कृतिले भरिपूर्ण मार्फा गाउँ । लेतेमा आएर बास बस्यौँ । भोलिपल्ट बिहान लेतेमा ब्रेकफास्ट गरेर हामी पोखरातर्फ हानियाैँ । 

पोखरा आएपछि यस क्षेत्रमा पुम्दीकोट, बेगनासताल, पातले छाँगो दुप्तेश्वर गुफालगायत घुम्न भ्यायौँ । भोलिपल्ट बिहान फेवातालमा डुंगा सरर गर्दै तालबाराहीको दर्शन गरेपछि हामी मोडियौँ काठमाडौंतर्फ ।

मुस्ताङका अनेकौँ विशेषता

मुस्ताङको लेते

मुस्ताङ पुगेपछि थाहा भयो, यो हिमाल मात्रै देखिने जिल्ला होइन । यहाँ अनेकौँ सम्भावना लुकेका रहेछन् । स्याउ उत्पादनको हिसाबले त यो राजधानी नै हो । यहाँ उत्पादन हुने कोदो र फापर काठमाडौंसम्म निर्यात हुन्छ । घुमन्ते फिरन्तेका लागि यो सबैभन्दा प्रिय र अलौकिक ठाउँ हो । नेपालीजत्तिकै भारतीय पर्यटक पनि यहाँ पुग्ने गर्छन् । एउटै यात्रामा धेरैवटा स्थान घुम्न पाइने भएपछि यस क्षेत्रमा धेरै पर्यटक पुग्ने गर्छन् । 

मानिस एकै उद्देश्य वा कारणले मुस्ताङ पुग्दैनन् । यो ठाउँ बच्चादेखि बुढापाकासम्मलाई लोभ लाग्छ । यहाँ कम उमेरका युवा हिउँसँग रमाउन पुग्छन् भने पाका उमेरका मानिस मुक्तिनाथ दर्शन गर्न पुग्छन् । तीर्थयात्रा मुक्तिनाथबाट सुरु हुने भएपछि यो निकै महत्वपूर्ण स्थानसमेत मानिन्छ । कोही त्यहाँ १०८ धाराबाट निरन्तर बगिरहने पानीमा नुहाउनसमेत पुग्छन् । पोखरादेखि मुस्ताङसम्म पुग्दा अनेकौँ घुम्ने स्थान छन् ।

मुस्ताङको आफ्नै तरिका 

मार्फा गाउँ

यहाँका सबै सामुदायिक विद्यालयमा आवासीय सुविधा छ भने यहाँका हरेक गाउँमा मुखिया परम्परा छ । गाउँका विवाद छिनोफानो गर्न गाउँकै मुखिया न्यायाधीश हुन्छन् । गाउँको बेमेल हत्तपत्त सरकारी निकायमा पुग्दैनन् । गाउँमै समाधान गर्ने प्रयास गरिन्छ । ‘मुस्ताङ अन्य जिल्लाको तुलनामा फरक छ, मौसम मात्रै होइन, यहाँका गाउँ चलाउने परम्परा पनि भिन्न छ, यहाँका विद्यालय पनि भिन्न तरिकाले चल्छन्, यहाँका मानिस जग्गाजमिन बिक्री गर्दैनन्, उनीहरू आफू पनि किन्दैनन्, अरूलाई पनि बेच्दैनन्,’ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रशासकीय अधिकृत प्रदीप अधिकारीले भने, ‘यहाँका हरेक विद्यालयमा आवासीय विद्यार्थी अर्थात् बाहिरबाट आएर पढ्ने विद्यार्थी छन्, यहीँका स्थानीय विद्यार्थी न्यून छन्, हावापानीले गर्दा विद्यार्थी हिँडेर विद्यालय जान सक्ने अवस्था पनि हुँदैन, अर्को कुरा पातलो बस्ती छ, विद्यालय गाउँभन्दा कोसौँ टाढा छ, त्यसैले यहाँका विद्यालयमा आवासीय सुविधा छ । 

See More On

सुझावित समाचार