चार दशकमा नर्स सकेनाले वीर अस्पतालमा जे देखिन्...

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण
  • अरूलाई दुई वर्षसम्म बच्चालाई स्तनपान गराउनुपर्छ भनेर सुझाव दिने सकेनाले आफ्नो बच्चालाई भने आठ महिना पनि दुध खुवाउन पाइनन् 

सयपत्री फूलको माला, निधारमा रातो टीका अनि कुनै उत्सवजस्तो भेला । यो दृश्य सकेना भुजूले नर्सिङ पेसालाई बिट मार्दैै गर्दाको हो । यसै वर्षको कात्तिक २७ गते वीर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको प्रशासन विभागले बिदाइ गर्दै गर्दा उनी अलिअलि भावुक अनि अलि धेरै उत्साहित भएकी थिइन् । किनभने, उनी पेसानिवृत्त भई जीवनको अर्को अध्यायमा प्रवेश गर्दै थिइन् । 

‘३८ वर्षदेखि प्रत्येक बिहान अस्पताल जानुपर्छ भन्ने मनस्थिति हुन्थ्यो । त्यो दिनबाट म फ्री भएको अनुभव गरेँ । तर, सँगै काम गरेका साथीहरू, आफूले हेर्दै गरेका कैयौँ बिरामी छोड्नुपर्दा दु:ख लाग्यो,’ कात्तिक २७ गतेलाई सम्झँदै सकेनाले भनिन् । जीवनको ऊर्जाशील समय अस्पतालमै व्यतीत गरेकी सकेनाले मंसिर २ देखि नर्सिङ पेसालाई बिट मारिन् । जीवनको ३८ वर्ष अस्पतालको विभिन्न युनिटमा बिताएकी सकेनासँग थुप्रै अविस्मणीय क्षण छन् । अनुभवका लामो संगालो छन् ।

सकेना भक्तपुरमा जन्मिइन्, त्यतै हुर्किइन् । आफन्त बिरामी हुँदा भक्तपुरको मिसन अस्पताल जान्थिन् । त्यहाँ सेता लुगा, सेतै क्याप लगाएर हिँड्ने नर्स देखेर उनी सानैमा लोभिइन् । नर्स बनेर बिरामीको सेवा गर्छु भन्ने उनलाई त्यतिवेलै लाग्यो ।

२०३७ सालमा एसएलसी पास गरेपछि बाल मस्तिष्कले देखेको नर्स बन्ने सपना पूरा गर्नतर्फ लागिन् । भक्तपुरबाट महाबौद्ध नर्सिङ क्याम्पस काठमाडौं धाउन थालिन् । तीन वर्षसम्म लगातार गरेको मिहिनेतले ०४१ सालमा प्रमाणपत्र तह (पिसिएल) नर्सिङ पास गरेर पेसा नै सुरु गरिन् । अस्थायी रूपमा जागिर सुरु गरेकी उनी अर्को वर्ष नै स्थायी कर्मचारीको रूपमा अनुबन्ध भइन् ।

देशमा पञ्चायती व्यवस्थाको जगजगी थियो । छोरीलाई पढाउनुहुन्न भन्ने सामाजिक मान्यता गलेकै थिएन । त्यही वेला सकेनाले वीरमा नर्सको रूपमा काम सुरु गरिन् । वीर अस्पताल स्थापना भएको करिब एक सय वर्षपछि सकेना पनि अस्पतालको हिस्सा भइन् ।

आफूले रोजेकै पेसा अपनाए पनि सकेनाका लागि सजिलो भने थिएन । सुरुका तीन वर्ष उनी भादगाउँबाटै धाइन् । उनले काम गर्दाताकाको वीर अहिलेजस्तो अस्तव्यस्त थिएन । अहिलेजस्तो भिडभाड थिएन । भौतिक संरचना, जनशक्ति पनि थिएनन् । उपचारका लागि काठमाडौं उपत्यकाका सीमित मानिस मात्र वीरमा आउँथे । वीर अस्पतालमा प्रवेश गर्दाको सुरुका दिन सम्झँदै उनले भनिन्, ‘बिरामी, स्टाफ र कुरुवाबिच पारिवारिकजस्तो नाता हुन्थ्यो । झैझगडा केही हुन्थेन ।’

बिरामीको अप्रेसनपछि...
सघन उपचार कक्ष (आइसियू)मा एक बिरामी एक नर्स, सामान्य वार्डमा एक नर्स, ६ बिरामी हेर्ने नियम छ । तर, उनले ३० जना बिरामीसम्म हेरिन् । त्यो अवस्था अझै फेरिएको छैन ।

बिरामीको नर्सिङ केयर गर्नु, उनीहरूको समस्याबारे बुझ्नु, बिरामीलाई स्वास्थ्य शिक्षा दिनु, आवश्यक नर्सिङ अभिलेख राख्नेलगायत नर्सको जिम्मेवारी हुन् । उनले पनि आफ्नो जिम्मेवारी हरतरहले पूरा गरिन् । बिहान, साँझ र राति भनेर छुट्याइएका तालिकाअनुसार काम गरिन् ।

विद्यार्थी जीवनका सुरुका दिन गम्भीर बिरामी देख्दा उनलाई डर लाग्थ्यो । मृत शरीर देख्दा सातो नै गएकोजस्तो हुन्थ्यो । अप्रेसनका वेला निकालेको मासु देखेर दुई हप्तासम्म उनले मासु नै हेरिनन् । अस्पतालमा अभ्यासका लागि जाँदा साथी लिएर वा कार्यालय सहयोगी लिएर हिँड्ने गरिन् । अलि पछि मृत्यु प्राकृतिक प्रक्रिया हो भन्ने लाग्दै गएपछि आफ्नो पेसाप्रति मनैदेखि लागिन् ।

बिरामी मात्र होइन, मृत मानिस पनि अस्पतालबाट बाहिर नजाउन्जेल उनको जिम्मामा हुन्थ्यो । ‘मृत शरीरलाई पनि हामीले पूरै हेरचाह गर्नुपर्ने हुन्छ । पूरै सफा गर्ने, आँखा खुला भए बन्द गर्ने, मुख खुला भए बन्द गर्ने, नाकबाट केही बगेको छ भने कपास राखिदिने, हातखुट्टा सीधा बनाएर राखिदिनेजस्तो काम गर्नुपर्छ,’ उनले भनिन् । उनका अनुसार मृत शरीरलाई सीधा बनाएर राख्ने, अभिलेख राख्ने र ट्याग लगाएर मात्र छोपेर राख्न पाइन्छ । 

सुरुमा मेडिकल वार्डमा काम गर्दा अहिलेजस्तो छुट्टाछुट्टै युनिट थिएन । रोगको प्रकृतिअनुसार बिरामी छुट्टाछुट्टै राखिँदैन थियो । त्यही वेला उनले अघिल्लो रात ठिकठाकै भएका धेरै बिरामीले प्राण त्यागेको देखिन् । ‘मुटुको बिरामीलाई एकैछिनमा हृदयाघात हुन सक्ने सम्भावना हुन्छ । बेलुका केही नभएको बिरामी सुतेकोसुत्यै भएको देखेँ,’ उनले भनिन् । 

आफूसँग धेरै दिन बसेका, आफ्नै हातले सुम्सुम्याएका बिरामीको मृत्यु हुँदा उनलाई धेरैपटक दुख्यो । तर, प्रकृतिको अकाट्य नियमअघि जति दुखे पनि सहनै पर्‍यो । वीरमा काम गर्दा उनले त्यस्ता धेरै दृश्य देखिन् । मेडिकल वार्डमै काम गर्दा एकजना बिरामीलाई उनले २० दिनजति हेरिन् । ‘फोक्सोको बिरामी हुनुहुन्थ्यो । उहाँलाई भित्तामा सुताइएको थियो । एकदिन बिरामीले भित्तासँगैको ढोका हिर्काउनुभयो । कुरुवाले घरको साँचोको झुप्पा दिएपछि त्यो साँचो काखीमा च्याप्नुभयो । त्यसपछि उहाँको सास गयो,’ उनले भनिन्, ‘उहाँको हातखुट्टा पनि राम्रो चल्दैनथ्यो । बोल्न पनि सक्नुहुन्नथ्यो ।’

तीन सिफ्टमा काम गर्ने क्रममा रातिको ड्युटी १२ घन्टा हुन्छ । ‘मेडिकेसन, डकुमेन्टेसन त गर्नु नै पर्छ । कसैकसैको दुई घन्टा, चार घन्टामा भाइटल साइन (ब्लड प्रेसर)नाप्नुपर्ने हुन्छ । रातभरमा एक–दुई घन्टा रेस्ट हुन्छ । रातिको ड्युटीमा भए पनि सुत्ने कुरा हुन्न,’ सकेनाले भनिन् ।

मातृत्व र नर्सिङ
नर्सिङ पेसा सुरु गरेको तीन वर्षपछि उनको बिहे भयो । छोरीबाट, श्रीमती, आमा, बुहारी, भाउजू हुँदै अनेक जिम्मेवारी थपियो । बिहेलगत्तै बच्चा जन्मियो । बच्चा जन्माएर उनले मातृत्वको अनुभव गरिन् । बच्चा भएपछि उनले ६० दिन बिदा पाइन् । ६० दिनपछि उनी फेरि आमालाई बच्चा हेर्न लगाएर अस्पताल धाइन् । अरूलाई दुई वर्षसम्म बच्चालाई स्तनपान गराउनुपर्छ भनेर सुझाव दिने उनले आफ्नो बच्चालाई भने आठ महिना पनि दुध खुवाउन पाइनन् । मातृत्वको अनुभव पूरा गरे पनि बच्चाको अधिकार हनन गरेँ कि भन्ने उनलाई लागिरहन्छ । बच्चालाई स्तनपान गराउन छाडेपछि आमा र बच्चा दुवैलाई सकस भयो । बच्चाले दुध खान पाएन । आमाले झोलिलो खानेकुरा खान पाइनन् । स्तन बाँधेर काम गरिन् । ‘रातभर दुध खुवाउन नपाएर निकै गाह्रो भयो । झोल खानेकुरा नै नखाई बसेँ । ब्रेस्टलाई कसेर बाँधेर राखेँ । बच्चाले खान पाउनुपर्ने खान पाएन,’ आमा भएका दिनबारे उनले भनिन् । 

चार वर्षपछि उनको दोस्रो बच्चा भयो । दोस्रो बच्चा हुँदा पनि उही परिस्थिति दोहोरियो । बिरामीको सेवा गर्ने पेसागत प्रणको अघि आफ्नो सन्तानलाई पुग्दो स्याहार गर्ने प्रयास फेरि पूरा भएन । छोराछोरी विद्यालय जान थालेपछि भने उनका श्रीमान् र परिवारका साथका कारण केही सहज भयो । सातौँ तहको नर्स भएपछि उनी एउटा युनिटको इन्चार्ज भइन् ।

रंगशाला दुर्घटनादेखि कोभिडसम्म
३८ वर्षे नर्सिङ जीवनमा उनी धेरै घटनाको साक्षी बनिन् । ०४४ साल फागुन २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज सिल्ड चलिरहेको थियो । एक्कासि चलेको हावाहुरीका कारण भागदौड मच्चियो । मानिसको भागाभाग भयो । ९३ जनाको मुत्यु भयो । सो घटनाका वेला उनले भर्खर वीरमा नर्सको रूपमा काम थालेकी थिइन् । त्यतिवेला धेरै घाइतेको उपचार गरिन् । आँखैअगाडि धेरैजनाको मृत्यु पनि देखिन् । 

०७२ सालको भूकम्पको दिन उनी बिदामा थिइन् । तर, त्यसपछिका साना–ठुला परकम्पका वेला पटक–पटक वीरको अवस्थामा साक्षी बनिन् । ‘भूकम्पका वेला सबै भागाभाग भयो । अक्सिजन सिलिन्डर सबै ढल्यो । बिरामी पनि भागाभाग भयो । खुट्टा भाँचिएका बिरामीसमेत भागे,’ उनले भनिन्, ‘म त्यतिवेला न्युरो सर्जरीमा काम गर्थें । स्पाइनल कर्ड इन्ज्युरी भएको बिरामीसमेत भागे ।’

पाँच वर्षअघि विश्वभर कोराना भाइरस फैलियो । त्यतिवेला पनि उनले तनमनका साथ बिरामीको सेवा गरिन् । कोरोना भाइरसको संक्रमणबाट बच्न एक महिना आइसोलेटेट भइन् । जतिसुकै जोखिमपूर्ण अवस्था भए पनि सबैभन्दा पहिले बिरामीको सेवा गर्नु उनले आफ्नो कर्तव्य ठानिन् । ‘कोरोनाका वेला आफ्नो बिरामीसँग कुरुवा सँगै बसेनन् । तर, हामी उनीहरूसँग बस्नुपथ्र्याे,’ सकेनाले भनिन्, ‘सुरुको फेजमा अक्सिजन नै पुगेन । दोस्रो फेजबाट काम गर्न अलि सहज भयो । तर, हामी भने उत्तिकै जोखिममा थियौँ ।’ आफ्नो ज्यानै जोखिममा राखेर उपचारमा होमिएको उनले सधैँ सकारात्मक प्रोत्साहन भने पाइनन् । कोरोनाकै वेला एकजना बिरामीको मृत्यु भएपछि ढुंगामुढा भएको थियो ।

नर्सलाई नेपालमै रोक्न सुविधा थप्नुपर्ने 
उनले विभिन्न अवस्थामा वीर अस्पताललाई देखेकी छिन् । दुईवटा भवन चारमा परिणत भएको देखिन् । काठमाडौं उपत्यकाका मात्र बिरामी आउने अस्पतालमा अहिले ७७ जिल्लाका मानिस उपचारमा आएको देखिन् । किशोरावस्था पार गर्दै गर्दा नर्सको रूपमा काम सुरु गरेकी उनी अहिले ६० वर्षकी भइन् । त्यतिवेला र अहिलेको नर्सको अवस्थामा भने धेरै अन्तर पाउन सकेकी छैनन् । बरु हिजोभन्दा आज झन् नर्सको अवस्था खराब हुन थालेको छ । सरकारी अस्पतालका नर्ससमेत टिक्न नसकेर फरक पेसामा हात हाल्न थालेका छन् । त्यसमा पनि सफल हुन नसके विदेश भासिन पुगेका छन् । ‘समय, परिस्थिति, महँगीअनुसार निजीमा काम गर्ने नर्सहरूको अवस्था खराब छ । सरकारी अस्पतालमा काम गर्ने नर्सहरू पनि जागिर छाडेर हिँडिरहेका छन्,’ उनले भनिन् ।

कम तलब सुविधा, अवसरको अभाव, तनावरहित वातावरण हुन नसक्दा केही नर्समा रिसाउने, झर्कने, चिडचिडाहट हुनेजस्ता अवस्था देखिएको उनी बताउँछिन् । ‘नर्सको व्यवहार परिवर्तन हुनुको कारण एकजनाले ३० जनासम्म बिरामी हेर्नुपर्छ । नर्सले बिरामी मात्र हेरेर पुग्दैन, मेडिसिन दिने, भाइटल साइन हेर्ने, त्यसबाहेक कुरुवाले पानी आएन, भुइँ फोहोर भयो, ट्वाइलेट फोहोर भयो भन्ने कुरा लिएर आउँछन्, ती सबैको पनि जवाफ दिनुपर्ने हुन्छ । त्यसैले उनीहरूमा चिडचिडाहट हुन्छ,’ उनी भन्छिन् ।

नर्सिङ पेसामै रहँदा उनले ब्याचलर अफ नर्सिङ गरिन् । उनी तीनपटक बढुवा हुँदै आठौँ तहको कर्मचारीको रूपमा वीरबाट बिदा भइन् । ‘मुख्य पारिश्रमिक नै हो । आधारभूत आवश्यकता पूरा गर्ने तलब हुनुपर्‍यो । स्टे«सफुल वातावरण हुनुभएन । पढाइ र अनुभवका आधारमा अवसर दिनुपर्‍यो । यति भएमा नर्स नेपालमै बस्छन्,’ उनले भनिन्। 
 

See More On

सुझावित समाचार