स्वाद गुलियो, नुनिलो, अमिलो, टर्रो, तितोको समिश्रण हो । स्वाद थाहा पाउने ग्रन्थी जिब्रोमा छ । जिब्रोबाहेक अरू इन्द्रिय कान, छाला, नाक र आँखाले पनि कुनै न कुनै रूपले स्वादको बारेमा जानकारी पाउँछ । वास्ना, स्वाद र रंगसँगै जोडिएर आउँछ ।
१२ हजार वर्षअघिसम्म हामी जंगलमै थियौँ । हामीले जंगलमा खानयोग्य जे–जति भेट्थ्यौँ, त्यही खायौँ । समाज विकासको क्रममा मानव जाति खेतीपातीको अभ्यासतर्फ लाग्यो । त्यसपछि मान्छेले आफ्नो खानाको व्यवस्थापन आफैँ गर्न थाल्यो । जब खेती गर्न थाल्यौँ, मान्छेले प्रकृतिबाट लिइरहेका सबै स्वाद खेतीपातीमा भित्र्याउन खोजे । बिस्तारै स्वादको नामकरण भाषाको विकाससँगै भयो ।
खेतीपातीको युगमा प्रवेश भएपछि स्वाद, बास्ना र रंगको सन्तुलन बिगार्यौँ । किनभने, हामीले आवश्यक सबै खाद्यतत्व उत्पादन गर्न सकेनौँ । छानीछानी उत्पादन गर्यौँ । त्यसपछि स्वादको सन्तुलनमा फरकपना देखा पर्यो । शरीरलाई चाहिने स्वादको सन्तुलनमा फरक पर्यो । स्वाद भनेको शरीरले जे मागेको छ, त्यो आपूर्ति गर्ने प्रणाली हो । शरीर हर्मोनसँग जोडिएको प्रणाली पनि हो । उसले स्वादअनुसारको हर्मोन सक्रिय बनाउँछ । त्यसैले, धेरै गुलियो खाँदा कहिलेकाहीँ अमिलोको माग हुन्छ । किनभने, पाँचवटै स्वादको शरीरमा माग छ ।
अहिले मेडिकल विज्ञानले कति मात्राको कुन स्वाद चाहिन्छ भन्न थालेको छ । कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम कति आवश्यक छ भन्न थालेको छ । त्यो ठाउँमा पुग्नुअघि स्वादलाई घरपालुवा बनाइसकेपछि स्वाद, बास्ना र रंगको सन्तुलन गुमायौँ । स्वाभाविक रूपमा प्रकृतिको सबै कुरा एउटै ठाउँमा ल्याउन सकिँदैन । त्यो गुमाइसकेपछि हाम्रो शरीरमा चाहिने खाद्यतत्वको सन्तुलन बिग्रियो ।
स्वादमा असन्तुलन
आयुर्वेद विज्ञानसँग प्रकृतिमा भएका सबै स्वाद, बास्ना र रंगको सन्तुलन कसरी पुर्याउने भन्ने जोडिएको छ । हाम्रो नियोजित खाद्य व्यवस्थाले शरीरमा विभिन्न तत्वहरू पुगेन । मान्छेको शरीरमा समस्या आउन थाल्यो । हामी बच्चैदेखि केटाकेटीलाई गुलियो मन पर्छ भन्छौँ । तर, स्वभावैले गुलियो मन पर्ने कुरा हो । धेरै गुलियो खान नदेऊ भन्छौँ । तर, त्यो गुलियो बनाएको कुरा कसरी बन्यो भन्ने कुरा प्रश्न हो । गुलियोमा प्रश्न होइन । केटाकेटी सधैँ भोकाइरहेका भन्छौँ । भोकाइरहेको भनेको उनीहरूलाई ऊर्जा आवश्यक छ । शारीरिक वृद्धिका वेला पर्याप्त मात्रामा ऊर्जा चाहिन्छ । ऊर्जाले मात्र पुग्दैन, रोग प्रतिरोध क्षमता पनि चाहिन्छ । त्यसैले, केटाकेटीलाई गुलियो मात्र दियो भने ऊर्जा त हुने भयो । तर, उसको प्रतिरोध क्षमतामा कमी हुने भयो ।
पछिल्लो समय स्वादमा असन्तुलन आएको छ । यो अझै भयावह तरिकाले अगाडि बढ्दै छ । जब हामी औद्योगिक विकासमा लाग्यौँ । सबैजसो काम व्यापारका लागि गर्यौँ । जब व्यापारका लागि काम गर्ने भयौँ, पोषण, स्वास्थ्य वा शिक्षा सबै कुरा पैसासँग जोडियो । पैसा बनाउनेसँग जोड्यौँ । विज्ञानले पनि के भयो भने उत्पादन धेरै बिक्री हुन्छ भन्नेमा मात्र ध्यान दिए । हिजो जे कुरामा मान्छेलाई स्वादमा बास्ना थपेर लत बसाउने संयोजन भयो, त्यो संयोजन हाम्रो स्वास्थ्यका लागि घातक छ । जस्तै– शरीरमा फ्याट, प्रोटिन, मिनरल, भिटामिन, कार्बोहाइड्रेडलगायत सन्तुलित मात्रामा चाहिन्छ । त्यो प्राकृतिक कुरा नै हो । तर, स्वादको व्यापार गर्नेले रासायनिक सन्तुलन मिलाएर खाना बनाए । स्वादको व्यापार गर्नेले हाम्रो जीवन ध्वस्त बनाए ।
शरीरलाई गुलियो ऊर्जाका लागि चाहिन्छ । नुन गुलियोलाई शरीरमा फैलाउन चाहिन्छ । गुलियो, नुनिलो र फ्याटको सन्तुलन यस्तो बनायो, जसले पाँचवटै स्वाद जुन मान्छेलाई प्राकृतिक हिसाबले नै चाहिन्छ । त्यसमध्ये तीन स्वाद गुलियो, नुनिलो र अमिलाको मिश्रण बनाए । यो तिनको मिश्रणमध्ये नुनिलो र गुलियोको मिश्रण बालबालिकालाई धेरै मनपर्छ । किशोरावस्थामा प्रवेश गरेकालाई मध्यनजर गरेर अमिलो थपिन्छ । जंक फुड (पत्रु खाना) किशोरावस्थाका केटाकेटीलाई धेरै मनपर्छ । तर, साना केटाकेटीलाई गुलियो र नुनिलो मनपर्छ । गुलियोलाई कोषमा पुर्याउन नुन आवश्यक हुन्छ । त्यसका लागि उनीहरूले गुलियो र नुनिलो दुवै थप्छन् । त्यसलाई हामी पत्रु खाना अर्थात् जंक फुड भन्छौँ ।
बजार र पोषण
पाँच तत्व स्वाभाविक हिसाबले प्राकृतिक रूपमा लिन खोज्छ । पुस्तान्तरणको समस्या जन्मजात हाम्रो पुस्तालाई राम्रो होस् भन्ने प्राकृतिक गुण हो । प्राकृतिक गुणमाथि अहिलेको बजारले गरेको खेलबाड हो ।
पुस्तान्तरण बनेको सवालचाहिँ बजार हो । किनभने, बुबाआमाले उमेरअनुसारको पोषण नै दिन खोजेको हो । बजारले पोषणलाई पत्रु बनायो । त्यो पत्रु बनाउनुको कारण युवापुस्ताले पत्रु धेरै खान्छ भन्ने लाग्यो । जन्मेको बच्चाले ल्याक्टो खान्छु भनेको होइन, लिटो दिए पनि खान्थ्यो । तर, बुबाआमाले बजारमा बनेको, पढेलेखेको मान्छेले बनाएको खुवाए । ‘यसमा शक्ति छ, उसलाई आवश्यक सबै छ । लिटोमा के छ के ? जाउलोमा के छ के ?’ भनियो । उसले ब्रान्डेड फुड भन्दै सबैथोक छ भनेर लेखेको छ ।
पुस्तान्तरणको किन दोष होइन भने बालबालिकाले जंक फुड खान खोज्यो भनेर हामी जे भन्छौँ, त्योचाहिँ उसको हुर्काइमा आएको फेरबदल हो । जंक फुडबाट बालबालिकाले आवश्यक तत्व आपूर्ति गर्न थाल्यो, जुन लतको रूपमा विकसित भयो । ६ महिना, वर्ष दिन भएको बच्चाले आवश्यकताको माग गर्दैन । उसको अभिभावकले के दियो, त्यसमा भर पर्छ । यसर्थ, पुस्तान्तरणको सवाल होइन । पुस्तान्तरणको सवाल बनाएकै बजारले हो । यस्तो बजारबाट निस्किन नसकेसम्म हामीले भित्र्याउने अर्को बजारको तथाकथित औषधि हो । हामीलाई औषधि हो भनेर सिकाइएको हो । त्यसले केही–केही कुरालाई क्षणिक हिसाबले नियन्त्रण गर्छ । जब औषधिको लत बस्छ, त्यसले अर्को शरीर बिगार्छ । मुटु, मिर्गौला, कलेजो, क्यान्सर, सुगर, प्रेसर जोडिएको रोगलाई निम्तो दिन्छ ।
मूल कुरा के हो भने हामी खराब लतमा फसेका छौँ । सन्तुलन गुमाएका छौँ भन्ने चेतना जब केटाकेटी हुर्काउँदै गरेको पुस्तालाई हुन्छ, तब त्यसमा परिवर्तन गर्न सकिन्छ । पत्रु खाना असन्तुलित खाना हो भन्ने जब उसलाई लाग्छ, उसले त्यसरी नै हुर्काउन थाल्छ । हाम्रो शिक्षा, समाजले उसलाई त्यसरी ग्रहण गर्न थाल्छ । प्राकृतिक स्वाद, बास्ना र प्रकृतिको रंगमा रमाउने जब मान्छे बन्छौँ, तब त्यस्ता खाना खाँदैनौँ । किनभने, उसले त्यो समयसम्म पत्रु खाना के हो भन्ने जानकारी पाइसक्छ । त्यसैले, हामीले चार आयाममा काम गर्नुपर्छ ।
बजारमा तयारी बनेका खानेकुरामा सन्तुलन हुन्छ भन्ने भ्रम भत्काउनुपर्छ । प्रकृतिको सन्तुलन विज्ञानले एक प्रतिशत पनि थाहा पाएको छैन । हाम्रो प्रकृतिले शरीरमा कति सन्तुलन गर्छ भन्ने जानकारी नै छैन । खानेकुरालाई प्राकृतिक बनाउने प्रक्रियामा जानुपर्छ । यसका लागि सकेसम्म धेरै खानेकुरा उब्जाउनुपर्छ । विविध बाली उब्जाउनुपर्छ । प्राकृतिक स्वाद, पोषण पुर्याउनुपर्छ । किनभने, शरीरले मागिहाल्छ । त्यसपछि भोक लाग्छ ।
हाम्रो घरले बच्चा जन्मेदेखि हुर्कंदै जाने क्रममा जस्तो शिक्षा दिन्छ, त्यसले फरक पार्छ । आज हामी हिँडिरहेको बाटो साँच्चै डरलाग्दो छ । व्यापारीहरू गलत होइन भनेर पुष्टि गर्न खोज्दै छन् । पैसा उनीहरूसँग छ । अनुसन्धान उनीहरू गर्दै छन् । प्रमाण उनीहरू नै ल्याउँदै छन् । त्यसलाई काउन्टर गर्ने हामीसँग औकात के छ ? खेती प्राकृतिक गर्ने, प्रकृतिले कसरी हाम्रो शरीरको सन्तुलन, बास्नाको सन्तुलन, स्वादको सन्तुलनमा काम गर्छ भनेर सानैदेखि सिकाउने, कसरी प्रकृतिले हामीलाई ऊर्जा दिन्छ ? भनेर बुझाउने हो भने उसले पत्रु खाना देऊ भन्दैन ।
हाम्रो पुर्खाले प्राकृतिक खानेकुरा खान्थ्यो । प्राकृतिक खेती गथ्र्याे । त्यसमा बास्ना थियो । त्यही बास्ना नफर्काएसम्म अहिलेको समस्याको कुनै समाधान हुन सक्दैन । प्राकृतिक लयमा फर्कने संस्कृति निर्माण नभएसम्म हामीले हाम्रो स्वाद, स्वास्थ्य र जीवन पाउन सक्दैनौँ ।