२४ भदौको जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका दुईजना कैदीबन्दी बारा जिल्लाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका– ७, पिपरानिवासी २३ वर्षीय कृष्ण चौधरी र २९ वर्षीय विवेक चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार उनीहरू दुवैजनालाई बिहीबार बाराको पिपराबाट पक्राउ गरी वीरगन्ज कारागार पठाइएको हो। उनीहरू लागुऔषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षमा रहेका थिए।
प्रहरी निरीक्षक भट्टले बताएअनुसार २४ भदौको जेन–जी आन्दोलनका क्रममा उत्पन्न अव्यवस्थाको फाइदा उठाउँदै उनीहरू कारागारबाट फरार भएका थिए। फरार रहेपछि प्रहरीले खोजतलास तीव्र पारी अन्ततः बाराबाट पक्राउ गर्न सफल भएको हो।