मुस्लिम महिलाको हिजाब तानेपछि विवादमा नीतिश कुमार

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

भारतको पूर्वीराज्य विहारका मुख्यमन्त्री नीतिश कुमार एक कार्यक्रममा एकजना मुस्लिम महिलाको हिजाब तानेर खोलेको भिडियो बाहिरिएपछि विवादमा तानिएका छन् । धेरैले नीतिशको कदमको निन्दा गरेका छन् । घटना सोमबार विहारको राजधानी पटनामा आयोजित वैकल्पिक चिकित्सा क्षेत्रका डाक्टरलाई नियुक्ति पत्र हस्तान्तरण गर्ने कार्यक्रममा घटेको थियो । 

हाल सामाजिक सञ्जालमा भाइरल भिडियोमा नीतिशले बुर्का लगाएर नियुक्ति पत्र लिन आएकी डाक्टरलाई यो के लगाएको भनेर सोध्छन् र आफैँले तानेर खोलिदिन्छन् । नीतिशलाई छेउमा उभिएका एक मन्त्रीले रोक्न खोजेजस्तो पनि देखिन्छ । मञ्चमा उपस्थित अरूहरू भने यस कदमपछि हाँसेको देखिन्छ ।

भिडियोलाई पहिलोपटक विहारमा नीतिशतको दलको प्रमुख प्रतिद्वन्द्वी दल ‘राष्ट्रिय जनता दल (आरजेडी)’ले आफ्नो एक्स एकाउन्टमा पोस्ट गरेको थियो । 

‘नीतिशजीलाई के भयो ? के उनको मानसिक अवस्था पूरै बिग्रिसकेको छ वा नीतिश ‘बाबु’ अब १०० प्रतिशत संघी बनेका छन्,’ आरजेडीले ‘राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)’सँग आबद्ध व्यक्तिलाई जनाउन प्रयोग हुने संघी प्रयोग गर्दै भनेको छ । भाजपाको मातृ संगठन आरएसएस र यसका सहयोगी संगठनले लामो समयदेखि मुस्लिम महिलाले हिजाबको प्रयोगको विरुद्धमा अभियान चलाउँदै आएका छन् ।

विपक्षी दल र मुस्लिम समूहले मुख्यमन्त्रीको हर्कतको निन्दा गरेका छन् । केही मुस्लिम संघसंगठनले उनको राजीनामा समेत मागेका छन् । बुधबार नै मुस्लिमको प्रतिनिधित्व गर्ने राजनीतिक दल ‘अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिन (एआइएमआइएम)’ का सदस्यले मुम्बईमा नीतिशविरुद्ध विरोध प्रदर्शन गरे । प्रदर्शनमा उनीविरुद्ध फौजदारी अभियोग लगाउनसमेत माग भएको थियो । 

सुझावित समाचार