- नेतृत्वमा ‘ह्याट्रिक’ गरेका ओलीले शपथबाटै आन्दोलनको तयारीमा बस्न पार्टीपंक्तिलाई अपिल गरेर आगामी दिनमा सम्भावित टकरावको राजनीति गर्ने सन्देश दिएका छन्
झनै शक्तिशाली र प्रभावशाली नेताका रूपमा उदाउँदै केपी ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । ११औँ महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानमा ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओलीले पार्टीमाथि आफ्नो वर्चस्व पुन: स्थापित गरेका छन् ।
अन्तरपार्टी लोकतन्त्रको आवाज उठाउने पक्षलाई पराजित गर्दै ओलीले पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म आफ्नै समूहको बलियो पकड सुनिश्चित गरेका छन् । अध्यक्षमा ‘ह्याट्रिक’ पूरा गरेका ओलीले पहिलो सम्बोधनमै संघर्षमुखी राजनीति र टकरावको बाटो रोज्ने सन्देश दिएका छन् । सरकारसँग सीधा राजनीतिक मुठभेड गर्ने ओलीको संकेत छ।
जेन–जी आन्दोलनको दबाबपछि प्रधानमन्त्री पदबाट हट्दा केही समय रक्षात्मक देखिएका ओली निर्वाचित भएसँगै पुन: आक्रामक शैलीमा फर्किएका छन् । उनको अभिव्यक्तिले मूलत: आसन्न २१ फागुनको निर्वाचन, २३–२४ भदौको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको कामकारबाही प्रभावित हुने प्रस्ट जनाउ गरेको छ ।
जेन–जी आन्दोलनले प्रधानमन्त्रीबाट सत्ताच्यूत भएपछि उनको नेतृत्व र कार्यशैलीलाई लिएर एमालेभित्रै प्रश्न थिए भने बाहिरबाट पनि नेतृत्व हस्तान्तरण गर्न सुझाव थिए । यही वेला उनले महाधिवेशन आयोजना गरेर आफूसहित तीन सय एकसदस्यीय केन्द्रीय कमिटी नै पूरै चुनावी प्रतिस्पर्धाबाट निर्वाचित गराएर आफूलाई पार्टीभित्र अनुमोदन गराएका छन् । यसअघि उनी ०७१ को नवौँ र ०७८ को १०औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए ।
बुधबार बिहानैदेखि बिहीबार बिहानसम्म झन्डै २४ घण्टाको मतदानमा कुल खसेको दुई हजार २२७ मतमा ओलीले एक हजार ६६३ मत पाउँदा प्रतिस्पर्धी पोखरेलले ५६४ मत मात्र पाएका छन् । ओलीले पोखरेललाई एक हजार ९९ मतले पराजित गरेका छन् । पोखरेलले कुल मतको करिब २५ प्रतिशत मत मात्रै पाए ।
लोकप्रियताका बाबजुद महासचिवमा सुरेन्द्रलाई ब्रेक
पार्टीभित्र लोकप्रिय, बौद्धिक र सांगठनिक काममा अनुभवी मानिएका सुरेन्द्र पाण्डेको महासचिव बन्ने दोस्रो प्रयास पनि असफल भएको छ । प्यानलबाट अध्यक्षका उम्मेदवार पोखरेलले भन्दा ४३५ मत संस्थापनबाट क्रस गराएर ९९९ मत पाए पनि पाण्डे महासचिवमा पराजित भएका छन् । महासचिवमा विजयी शंकर पोखरेलले पाण्डेले भन्दा २२८ मत बढी पाएका छन् । नवौँ महाधिवेशनमा पाण्डे ईश्वर पोखरेलसँग मात्रै ६ मतले पराजित भएका थिए । १०औँ महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
११औँ महाधिवेशनमा उनी तुलनात्मक रूपमा टिमकै बलियो नेताका रूपमा महासचिवमा अगाडि सारिएका थिए । उनलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको समेत समर्थन थियो । पाण्डे समर्थक नेता–कार्यकर्ताले महासचिवका उम्मेदवार पोखरेलको जित कठिन बन्न सक्ने विश्लेषण गरेका थिए । ओलीले विशेष गरी विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ र रघुवीर महासेठलाई मत क्रस नहोस् भनेर कडा निर्देशन दिएपछि पाण्डेले अन्तिम समयमा हार व्यहोरेको बताउँछन् ।
उपाध्यक्षमा पिएस र उपमहासचिवमा भट्टको सर्वाधिक मत
एमालेका पाँच उपाध्यक्षमध्ये पृथ्बीसुब्बा गुरुङ र तीन उपमहासचिवमा लेखराज भट्टले सर्वाधिक लोकप्रिय मत पाएका छन् । गुरुङले १७ सय ३७ मत पाए । उपाध्यक्षमै दोस्रो मत विष्णु पौडेल १६७५, तेस्रो मत रामबहादुर थापा बादल १५१६, चौथो मत गोकर्णराज विष्ट १३६८ र पाँचौँ मत रघुजी पन्त १२५८ मत ल्याएर विजयी बने । उपमहासचिवमा लेखराज भट्टले सर्वाधिक बढी मत १४५२, दोस्रो लोकप्रिय रघुवीर महासेठ १३६८ र तेस्रो योगेश भट्टराईले १३८ मत पाए । विष्णु रिमाल, आनन्दप्रसाद पोखरेल र बैजनाथ चौधरी पराजित भए ।
निवर्तमान ७ पदाधिकारी, जो वर्तमान कमिटीमा अटाएनन्
१९ सदस्यीय निवर्तमान पदाधिकारीमध्ये निलम्बनमा रहेका सचिव टोपबहादुर रायमाझीबाहेक १८ जनाको पदाधिकारीमा ६ जना अहिलेको निर्वाचित कमिटीमा अटाएनन् । तीमध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा ५६४ मत र उपाध्यक्ष सुरेन्द्र पाण्डे ९९९ मत ल्याएर पराजित भए । अरू दुई उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले स्वैच्छिक बिदा लिएका छन् । त्यस्तै, उपाध्यक्ष गुरु बराल पुन : उपाध्यक्ष र केन्द्रीय सदस्य दुवैतिर पराजित भएका छन् । उपमहासचिव प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएर जितेका छन् । अर्का उपमहासचिव विष्णु रिमाल पराजित भएका छन् । सचिवहरू भने कोही पनि पराजित भएनन् ।
सचिवमा महेशलाई सर्वाधिक, भानुभक्तलाई कम मत
नौ सचिवमा विजयीमध्ये महेश बस्नेतले सर्वाधिक लोकप्रिय १५ सय ४४ मत पाएका छन् । भानुभक्त ढकाल ११ सय ८ मत ल्याएर नवौँ नम्बरमा बल्लतल्ल विजयी भएका छन् । पोखरेल टिमबाट सबैभन्दा बढी मत ल्याएका सचिवका उम्मेदवार गोकुल बाँस्कोटा १०३० मत ल्याएर १०औँ नम्बरमा परेर पराजित भए । पोखरेल टिमबाट बाँस्कोटापछि ८ सय ८३ दोस्रो लोकप्रिय मत ल्याएका थिए ।
पदाधिकारीमा एक्ली महिला अर्याल, तीन महिला पराजित
एमालेमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उठेकी डा. बिन्दा पाण्डे र सचिवकी उम्मेदवार रचना खड्का तथा कुनै प्यानलमा पनि नपरेकी सचिवकी उम्मेदवार पेम्बा लामा पराजित भए । तर, अध्यक्ष ओली प्यानलबाट सचिवमा पद्ममा अर्याल निर्वाचित भइन् । उनी अघिल्लोपटक पनि सचिव थिइन् । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट भने उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिव पद्ममा अर्याल निर्वाचित भएकब थिए ।
पदाधिकारीमा उठेकामध्ये केन्द्रीय सदस्यमा कसैले जिते, कसैले हारे
एमालेमा पदाधिकारीमा उठेर कोही नेता पदाधिकारीमा हारेर केन्द्रीय सदस्यमा जितेका छन् भने कोही नेता पदाधिकारीमा जितेर केन्द्रीय सदस्यमा हारेका छन् । कसैले भने पदाधिकारी र केन्द्रीय सदस्य दुवैतिर हारेका छन् । अध्यक्ष उठेका ईश्वर पोखरेलले खुलातर्फ ६५औँ नम्बरमा केन्द्रीय सदस्य जितेका छन् । तर, महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे महासचिव र केन्द्रीय सदस्य दुवैतिर पराजित भएका छन् । ७१ खुलातर्फको केन्द्रीय सदस्यमा १०२७ मतसम्म पाउनेले जित्दा पाण्डेले केन्द्रीय सदस्यमा ९६१ मत पाएका छन् । खुला केन्द्रीय सदस्यमा ९९७ सम्म पाउने विजयी बनेका छन् । जबकि पाण्डेले विजयका लागि आवश्यक पर्नेभन्दा दुई मत बढी ९९९ मत महासचिवमा पाएका छन् ।
त्यस्तै, अध्यक्ष जितेका ओली ९७९ र महासचिव जितेका पोखरेलले ८५१ मत पाएर केन्द्रीय सदस्य हारेका छन् । तर, पदाधिकारी जितेका नेताले केन्द्रीय सदस्यमा जित्न अनिवार्य छैन । तर, पदाधिकारीमा नजित्ने नेताले केन्द्रीय सदस्यमा जिते मात्र केन्द्रीय कमिटी सदस्य मान्ने प्रचलन एमालेमा छ ।
उपाध्यक्षमा हारेका टंक कार्की, पर्शुमेघी गुरुङ, भीमप्रसाद आचार्य, सचिवमा हारेका बैजनाथ चौधरी, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल, पेम्बा लामा, विनोद ढकाल पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । त्यस्तै, सचिवमा पराजित गोकुल बाँस्कोटा, ठाकुर गैरे, आनन्दप्रसाद पोखरेल, लालबाबु पण्डित, डा. बिन्दा पाण्डे, अग्नि खरेल र रचना खड्काले केन्द्रीय सदस्य जितेका छन् ।
पदाधिकारीमा भौगोलिक र जातीय समावेशी, कर्णालीमा पहिलो सचिव
पदाधिकारीमा सातै प्रदेश र जातीय सन्तुलनका हिसाबले समावेशी छ । कोशी प्रदेशबाट अध्यक्ष ओली, उपमहासचिव योगेश भट्टराई, सचिवहरू शेरधन राई, हिक्मत कार्की र भानुभक्त ढकाल विजयी भएका छन् । मधेशबाट उपमहासचिवमा रघुवीर महासेठ, बागमतीबाट उपाध्यक्षमा रामबहादुर थापा, रघुजी पन्त, सचिवमा महेश बस्नेत र डा. राजन भट्टराई विजयी भए । गण्डकीबाट उपाध्यक्षमा पृथ्बीसुब्बा गुरुङ, सचिवमा पद्ममा अर्याल र खगराज अधिकारी विजयी भए । लुम्बिनीबाट उपाध्यक्ष विष्णु पौडेल, गोकर्णराज विष्ट, महासचिव शंकर पोखरेल र सचिव छविलाल विश्वकर्मा विजयी भएका छन् । कर्णालीबाट पहिलोपटक प्रतिनिधित्व हुने गरी मुख्यमन्त्री यमलाल कँडेल सचिवमा विजयी भएका छन् । सुदूरपश्चिमबाट उपमहासचिव लेखराज भट्ट विजयी भए । महासेठले मधेशको, थापा र गुरुङले जनजातिको पनि प्रतिनिधित्व गर्छन् ।
पदाधिकारीमा पहिलो जसले गरे डेब्यु
पहिलोपटक उपाध्यक्ष बनेर रघुजी पन्तले पदाधिकारीमा डेब्यु गरेका छन् । सात सचिव महेश बस्नेत, हिक्मत कार्की, शेरधन राई, डा. राजन भट्टराई, यमलाल कँडेल, खगराज अधिकारी र भानुभक्त ढकालले पदाधिकारीमा डेब्यु गरेका छन् । उनीहरू सबै ओली प्यानलबाट निर्वाचित भएका हुन् ।
यी हुन् महाधिवेशनमा धेरै मत ल्याउने टप फाइभ नेता, प्रदीपको पनि लोकप्रिय मत
मधेशबाट प्रतिनिधित्व गर्दै चार महिलाले सर्वाधिक लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका छन् । क्रमश : प्रतीक्षा तिवारी २१२०, सबिता यादव २०५२, भगवती चौधरी २०४४, ज्वालाकुमारी साह २०४४, रामरतीदेवी राम २०३९ र बागमतीको भूगोलबाट निरुकुमारी दर्लामी २००५ मत ल्याएर विजयी भएका छन् । महासचिव नपाएपछि असन्तुष्ट भई केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले १९ सय ४२ लोकप्रिय मत ल्याएका छन् ।
ईश्वर प्यानलबाट कति निर्वाचित
उपाध्यक्ष गोकर्णराज विष्ट र उपमहासचिव योगेश भट्टराईसहित ईश्वर पोखरेल प्यानलबाट दुई दर्जन जति केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् । केन्द्रीय कमिटीमा ईश्वर पोखरेलसहित ठाकुर गैरे, डा.बिन्दा पाण्डे, झपटबहादुर रावल, गोकुल बाँस्कोटा, रचना खड्का, अग्निप्रसाद खरेल, आनन्दप्रसाद पोखरेल, कर्णबहादुर थापा, जमिन्द्रमान घले, जितबहादुर मल्ल, डम्बरबहादुर सिंह, मोहनमाया ढकाल, सुहाङ नेम्वाङ(साझा), राधिका खतिवडा(साझा), रामकुमारी झाँक्री(साझा) र कृष्णगोपाल श्रेष्ठसहित करिब दुई दर्जन जतिले चुनाव जितेका छन् ।
केन्द्रीय कमिटीमा दर्जन बढी ४० वर्षमुनिका युवा
एमालेले विधानमै ४० वर्षमुनिका ५ प्रतिशत युवालाई आरक्षण गरेर केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराएको छ । जसअनुसार सुनिता डंगोल, सुहाङ नेम्वाङ, क्षितिज थेबे, गोविन्द गिरी, रुद्रबहादुर शाही, अस्मिता थापा, एलिसा गौतम, नवराज ओझा, निशा अधिकारी, मोबिन आलम, अमरकुमार यादव, रौनित साह, नरेश रोकाय, सुशीलकुमार थापा र लीलामणि गौतमलगायत निर्वाचित भएका छन् । उनीहरूमध्ये अस्मिता र एसिला ३० वर्षमुनिका हुन् । त्यस्तै, अखिलका पूर्वअध्यक्ष समिक बडालसहित, राष्ट्रिय युवा संघबाट बिदा भएका कतिपय पूर्वपदाधिकारी पनि युवा पुस्ताको प्रतिनिधित्व गर्दै निर्वाचित भएका छन् । महाधिवेशनमा ४० वर्षमुनिका मात्रै ३५ जना उम्मेदवार बनेका थिए ।
ईश्वर–सुरेन्द्रलाई ओलीको निषेध राजनीति, शपथमा समेत डाकेनन्
ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा अलग्गै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि क्रुद्ध बनेका ओलीले उनीहरूविरुद्ध महाधिवेशनमा निषेधको डन्डा चलाएका छन् । ओलीले अध्यक्षका उम्मेदवार पोखरेल र महासचिवका उम्मेदवार पाण्डेलाई मात्र होइन, उनीहरूतर्फका पदाधिकारीका उम्मेदवार कसैलाई पनि आफ्नो तर्फबाट खुलातर्फको केन्द्रीय सदस्यको सूचीमा समेत राखेनन् । दुईतिहाइभन्दा बढी मत रहेका ओलीले त्यसरी निषेधको नीति लिएपछि त्यसको असर देखियो, यही कारण पाण्डेले केन्द्रीय सदस्यमै चुनाव हारे ।
ईश्वर प्यानलले केपी ओली र शंकर पोखरेलसहित उनीहरूको प्यानलका अधिकांश पदाधिकारीका उम्मेदवारलाई केन्द्रीय सदस्यको सूचीमा राखेको थियो । ‘हामीले सहकार्यको हात बढायौँ, उहाँले निषेधको नीति लिनुभो । अब यसैगरी पार्टी चलाउन थाल्नुभयो र सबैको योग्यता, क्षमता र योगदान उपयोग गर्ने विषयमा ध्यान दिनुभएन भने त्यसको असर के होला ?’, ईश्वर प्यानलबाट पराजित पदाधिकारीका एक उम्मेदवारले भने ।
निर्वाचित भएका ओलीलाई सामाजिक सञ्जालबाट बधाई दिएका पोखरेल र पाण्डेलाई विजयी बनेपछि ओलीले शपथमा समेत डाकेनन् । बन्दसत्रको अध्यक्षमण्डलको अध्यक्षको हैसियतले ओलीले उनीहरूलाई बोलाउन उपयुक्त ठानेनन्, निर्वाचन आयोगले पनि मुख्य प्रतिस्पर्धीलाई साथमै राख्न चाहेन । बोलावटको आशामा रहेका पोखरेल र पाण्डे दुवैले शपथ समारोहमा भाग लिएनन् ।
शपथमै ओलीको चेतावनी : एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प पार्नुपर्छ, यो सरकार ढाल्नुपर्छ
महाधिवेशन सकिएलगत्तै भृकुटीमण्डपमा आयोजित शपथग्रहण समारोहबाट ओलीले आफूविरुद्ध सरकारले झुटो मुद्दा लगाएर फसाउन खोजेको भन्दै आन्दोलनका लागि तयारी अवस्थामा बस्न पार्टीपंक्तिलाई निर्देशित गरे । ‘एमाले नेतृत्वमाथि अनेक प्रकारका जालझेल भए । अहिले भौतिक आक्रमणको प्रयास गर्ने र जाली–झुटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । मिडिया ट्रायल गरेर हल्ला चलाएको हुन सक्छ,’ चेतावनीपूर्ण शैलीमा ओलीले भने, ‘म भन्न चाहन्छु– एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ । देशभर प्रदर्शन हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ । यसका लागि एमाले देशभर तयारी अवस्थामा बस्नुपर्छ । कुरा होइन, काम गरेर देखाउनुपर्छ ।’
महाधिवेशन प्रतिनिधिले ओलीविनाको एमाले चाहेकाहरूको सपना ध्वस्त पारेको र एमाले विभाजनको धुप बालेकाको धुप नै खेर गएको टिप्पणी गरेका छन् । ‘केपी ओलीविनाको एमाले भन्ने प्रतिक्रियावादीहरूको जुन चेष्टा थियो, त्यसलाई तपाईंहरूले ध्वस्त पार्नुभएको छ । त्यसैले पार्टी नेतृत्वमा पुन: विश्वास व्यक्त गरिएकोप्रति आभार प्रकट गर्दछु,’ उनले भने, ‘मेरो इतिहास हेरेर तपाईंहरूले फेरि जुन विश्वास दिनुभएको छ, त्यसका लागि तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । धेरैले एमाले फुट्ने आशा गरेका थिए, फुट्छ भनेर धुप हालिराखेका थिए, तर तिनको धुप खेर जान्छ । महाधिवेशनपछि एमाले अझ मजबुत भएर अगाडि जान्छ।’
एमालेको अभियानमा अटुट रहनेछु : ईश्वर पोखरेल
अध्यक्षमा पराजित ईश्वर पोखरेलले एमालेको अभियानमा अटुट रहने प्रतिबद्धता जनाउँदै महाधिवेशनमा आफूले उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । ‘जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन’को सिद्धान्तको पालनालगायतका विषयहरूको बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने विश्वास व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने विश्वास दिलाउन चाहन्छु ।’
एमालेमा यी हुन् एउटै परिवारबाट केन्द्रीय कमिटीमा निर्वाचित
एमाले महासचिव शंकर पोखरेल र श्रीमती सुजिता शाक्य श्रीमान्–श्रीमती हुन् । पोखरेल महासचिव र शाक्य केन्द्रीय सदस्य निर्वाचित भएका छन् । त्यस्तै, महासचिव पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेल पनि केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् । उपमहासचिव निर्वाचित रघुवीर महासेठकी श्रीमती जुली महतो केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् । त्यस्तै, कृष्णगोपाल श्रेष्ठ र विनाकुमारी श्रेष्ठ, शेरबहादुर तामाङ र उषाकला राई पनि निर्वाचित भएका छन् । हिक्मत कार्की र दीपक कार्की पनि दाजुभाइ हुन् । भाइ हिक्मत सचिवमा निर्वाचित हुँदा दीपक भूगोलबाट केन्द्रीय सदस्य चुनिएका छन् ।
विजयी केन्द्रीय सदस्यहरूको सूची (प्राप्त मतसहित)



दलका नेता र विश्लेषकको टिप्पणी के छ ?
वर्तमान चुनौतीको सामना गर्न मिलेर जान सक्ने अवस्था रहन्छ : मीन विश्वकर्मा, प्रमुख, कांग्रेस प्रचार विभाग
विगतभन्दा एमालेको यो महाधिवेशनमा अलि खुला र लोकतान्त्रिक अभ्यास भयो । यसले विधि र लोकतान्त्रिक प्रक्रिया बलियो बनाउन सहयोग पुर्याउँछ । अहिलेको व्यवस्था ल्याउन र संविधान निर्माणमा भूमिका खेल्नुभएका तथा व्यवस्थाको संरक्षणका लागि योगदान गर्नुभएका केपी ओली पार्टीबाट पुन: अनुमोदित हुनुभएको छ । यसले विधि र व्यवस्थाको रक्षा र वर्तमान चुनौतीको सामना गर्न मिलेर जान सक्ने अवस्था रहन्छ।
नेपाली राजनीतिमा उल्लेख्य मात्रामा कुनै परिवर्तन ल्याउँदैन : देव गुरुङ, नेता, नेपाली कम्युनिस्ट पार्टी
महाधिवेशनबाट नयाँ नीति, विचार र रणनीति आउनुपर्ने हो । तर, एमालेमा पुरानै निरन्तरता देखिन्छ । विगतकै नेतृत्वको लाइन पास भएको छ । सोही ढंगले नेतृत्व कमिटी चयन भएको छ । केही साथीहरूले परिवर्तन गर्न खोजे पनि सक्नुभएन । लोकतान्त्रिक अभ्यास फलो गर्नुपर्छ भन्ने धारलाई प्रतिनिधिले अनुमोदन गरेनन् । नेपाली राजनीतिमा उल्लेख्य मात्रामा कुनै परिवर्तन ल्याउँदैन । यही स्थितिमा परिवर्तन हुने आशा–अपेक्षा पनि गर्न सकिँदैन।
एमालेले परिवर्तन स्वीकार नगरेको सन्देश गएको छ : मनीष झा, प्रवक्ता, रास्वपा
लोकतान्त्रिक पद्धति र महाधिवेशनको प्रक्रियालाई सकारात्मक लिनुपर्छ । राजनीतिमा कहिलेकाहीँ प्रतिक्रियाभन्दा प्रक्रिया महत्वपूर्ण हुन्छ । एमालेले आँट गरेर महाधिवेशन गर्यो । त्यो राम्रो कुरा हो । तर, एमालेले परिवर्तन स्वीकार नगरेको सन्देश गएको छ । जेन–जी आन्दोलनको मर्म र भावनामा ध्यान गएको देखिएन । नेतृत्व हस्तान्तरण स्वीकारेको देखिएन।
जनताको चाहना र एमाले कार्यकर्ताको बुझाइ फरक देखियो : सुरेन्द्र झा, महासचिव, लोसपा
जेन–जी आन्दोलनमा सबैभन्दा बढी आक्षेप लागेको पार्टीको महाधिवेशन सबैभन्दा पहिला भयो । यसले शान्ति, सुरक्षा र लोकतान्त्रिक अभ्यासका लागि सहज वातावरण बनेको देखायो । एमालेले लोकतान्त्रिक अभ्यास गरेको छ । जेन–जी आन्दोलनको माग नेतृत्व परिवर्तन र हस्तान्तरण थियो । तर, एमालेमा त्यसको प्रभाव शून्यबराबरै देखियो । जनताले परिवर्तन चाहेका छन्, तर पार्टीका कार्यकर्ताको बुझाइ फरक देखियो ।
विश्लेषककाे धारणा
पार्टीभित्रको विजय आधा मात्रै हो, खास चुनौती आमनिर्वाचन हो : कृष्ण पोखरेल, राजनीतिशास्त्रका प्राध्यापक
आफूहरू पराजित भए पनि ‘सर्वसम्मति नै सर्वोत्तम लोकतन्त्र हो’ भन्ने सोच विस्थापित गर्दै एमालेका केही नेताले आन्तरिक लोकतन्त्र जोगाउने काम गरे । जेन–जी आन्दोलनपछि युवाहरूको वर्चस्व भएको पार्टी बन्ला भन्ने थियो, त्यो बनेन । एमालेभित्र यथास्थिति नै बलियो रहेछ भन्ने सन्देश गएको छ । ओलीले जित्ने त ‘टेकन फर ग्रान्टेड’ नै थियो । यति धेरै सदस्यसहित जित्ने पनि अनपेक्षित थिएन । तर, निर्वाचित भएपछि उहाँले दिएको अभिव्यक्तिले उहाँमा अहं छ भन्ने देखाउँछ । पार्टीभित्रको विजय आधा मात्रै हो, खास चुनौती आमनिर्वाचन हो । पार्टीमा जस्तै आमनिर्वाचनमा हुने स्थिति देखिँदैन।
एमाले एक व्यक्तिको आदेशमा चल्ने पार्टीमा रूपान्तरित भयो : श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक
एमालेमा लोकतान्त्रिक अभ्यास भयो, त्यसलाई राम्रो मान्नुपर्छ । तर, यसले जेन–जी आन्दोलनलाई नजरअन्दाज गर्यो । नेतृत्वको परिवर्तन जरुरी थियो । तर, विधान नै संशोधन गरेर तेस्रोपटक अध्यक्ष बन्दै आजीवन अध्यक्ष बनिरहने ओलीको चाहनामा ब्रेक लगाउन एमाले प्रतिनिधिले सकेनन् । एमाले कार्यकर्तामा आधारित पार्टी भन्ने थियो, तर अहिले एक व्यक्तिको आदेशमा चल्ने पार्टीमा रूपान्तरित भयो । त्यसले फेरि पार्टीमा विद्रोह हुने सम्भावना रहन्छ । समाज कता जाँदै छ भन्ने कुरा प्रतिनिधिले ख्याल गरेको देखिएन, यसले आगामी निर्वाचन ठुलो चुनौती बन्न सक्छ।
एमालेभित्र कन्जरभेटिभ धार बलियो रहेछ भन्ने पुष्टि भयो : दीपेश घिमिरे, राजनीतिक विश्लेषक
जेन–जी आन्दोलनपछि सबैभन्दा पहिलो महाधिवेशन गर्ने र प्रतिस्पर्धाबाट नयाँ नेतृत्व छान्ने राम्रो पक्ष हो । तर, जेन–जी विद्रोह र त्यसका मुद्दालाई महत्व दिएको देखिएन । एमालेभित्र प्रोग्रेसिभ धार कमजोर र कन्जरभेटिभ धार बलियो रहेछ भन्ने भयो । यसको दीर्घकालीन असर पार्टी र समाजले पनि भोग्नुपर्छ । एउटै किसिमको दृष्टिकोण राख्नेहरूको मात्रै प्रभुत्व हुँदा भोलिको दिनमा लिने निर्णय बहुआयामिक नहुन सक्छ । यसले एमालेलाई र ठुलो दलको हिसाबले देशलाई पनि असर पार्छ । नतिजाले एउटा पक्षले वञ्चितीकरणमा परेको अनुभव गरिरहेको देखिन्छ । यसले आसन्न निर्वाचनमा असर पार्न सक्छ । निर्वाचनको नतिजा एमालेका लागि सुखद नहुन सक्छ।