कञ्चनजंघा क्षेत्रमा बढ्दै विदेशी पर्यटकको चहलपहल

आधार शिविरमा भने जाडोको विश्राम

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

ताप्लेजुङस्थित विश्वकै तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्र पछिल्ला वर्षहरूमा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

केही वर्षअघिसम्म सीमित संख्यामा मात्रै पुग्ने पर्यटक पछिल्ला दिनमा क्रमशः बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कले देखाउँछ ।

संरक्षण क्षेत्र कार्यालयले गत वर्ष मंसिर मसान्तसम्म ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । यसवर्ष भने सोही अवधिमा ९४३ जना विदेशी पर्यटक पुगेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले मंसिरपछि पनि फाट्टफुट्ट रूपमा पर्यटक आउने क्रम जारी रहेको बताए । तर मुख्य सिजन भने मंसिरसँगै प्रायः समाप्त हुने उनले बताए ।

जाडो बढेसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र अहिले सुनसान बन्दै गएको छ । लोनाक, खम्बाचेनलगायत आधार शिविर क्षेत्रमा बाक्लो हिउँ परेपछि स्थानीय होटल व्यवसायीहरू गाउँ फर्किसकेका छन् । लोनाक आधार शिविरमा होटल सञ्चालन गर्दै आएका व्यवसायी तेन्जिङ सेराप शेर्पाका अनुसार हिउँ परेपछि होटल सञ्चालन गर्न कठिन हुने भएकाले मंसिरभित्रै बन्द गरेर फर्किनुपरेको हो । उनका अनुसार यो मौसमको पर्यटन समय लगभग सकिएको छ र सबै व्यवसायी फर्किसकेका छन् । 

कोभिड–१९ महामारीले भने कञ्चनजङ्घा पर्यटनलाई ठूलो धक्का दिएको थियो । कोरोना महामारीको मुख्य समय आर्थिक वर्ष ०७७÷०७८ मा कञ्चनजङ्घा भ्रमण गर्ने विदेशी पर्यटकको संख्या शून्य थियो । त्यसपछि अवस्था क्रमशः सुधार हुँदै गएको देखिन्छ । आर्थिक वर्ष ०७८÷०७९ मा २०६ जना विदेशी पर्यटक कञ्चनजङ्घा पुगेका थिए । उता, ०७९÷०८० मा यो संख्या तेब्बरले बढेर ७१३ पुगेको थियो । पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष ०८०÷०८१ मा एक हजार ८५ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् ।

स्थानीय तहका प्रतिनिधिहरूले पनि पर्यटन बढ्नुका पछाडि पूर्वाधार सुधारलाई मुख्य कारण मानेका छन् । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार सडकको पहुँच विस्तार हुनु, पदमार्गहरू सहज बन्दै जानु र कञ्चनजङ्घा क्षेत्रको अन्तराष्ट्रिय पहिचान बढ्नुले पर्यटक आकर्षित हुन थालेका हुन् । उनले आगामी दिनमा पूर्वाधार र सेवामा थप सुधार गर्न सके कञ्चनजङ्घा क्षेत्र विदेशी मात्र होइन, आन्तरिक पर्यटकका लागि पनि अझ लोकप्रिय गन्तव्य बन्ने विश्वास व्यक्त गरे । यसरी हेर्दा, जाडोयाममा आधार शिविर क्षेत्र शान्त भए पनि कञ्चनजङ्घा क्षेत्रको पर्यटन सम्भावना भने निरन्तर उकासिँदै गएको स्पष्ट देखिन्छ ।
 

सुझावित समाचार