सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल नेकपा एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन्। एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका रावल संस्थापन समूहबाट खुला केन्द्रीय सदस्यमा चुनाव लडेका थिए। सार्वजनिक मत परिणामअनुसार उनले ९४३ मत प्राप्त गरेका छन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला मन्त्री वीरबहादुर थापा पनि केन्द्रीय सदस्यमा पराजित भएका छन्। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका थापाले सुदूरपश्चिमबाट भूगोलतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। थापा पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन्।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ भूगोलतर्फको केन्द्रीय सदस्यमा पराजित भए। केपी ओलीनिकट भए पनि ओलीको टिममा नपरेपछि भूगोलतर्फ केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले कैलालीका इन्चार्ज एवं पूर्वसांसद नारदमुनि राना पनि पराजित भएका छन्।
सुदूरपश्चिममा भूगोलतर्फको केन्द्रीय सदस्यमा पूर्वसांसद डा. दीपकप्रकाश भट्ट र नरबहादुर धामी पनि पराजित भए।
भूगोलतर्फको केन्द्रीय सदस्यमा चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, लीलाधर भट्ट र सहदेव बोगटी युवातर्फ केन्द्रीय सदस्यमा गोविन्द गिरी, महिलातर्फ केन्द्रीय सदस्यमा कमलाकुमारी ओली, भागरथी सिंह र लीलाकुमारी भण्डारी निर्वाचित भएका छन्।