रुबीभ्याली गाउँपालिका–४ स्थित डुवाङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडासहित खेलकुद एवं शैक्षिक सामाग्री वितरण गरिएको छ । दुर्गम बस्तीका बालबालिकाको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
देशभरका महिला राइडरहरूको संस्था दुई पांग्रे क्विन्सले धादिङमा सामाजिक सेवा र दिगो पर्यटन प्रवर्द्धनलाई जोड्ने उद्देश्यले ‘ह्विल अफ वाम्र्थ : राइड फर चिल्ड्रेन एण्ड कम्युनिटी नामक राइड’ आयोजना गरेको थियो । धादिङ आइपुगेका दुई पाङ्ग्रे क्विन्स टोलीले दुर्गम बस्तीका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेको दुई पाङ्ग्रे क्विन्सका संस्थापक तुलसा पहाडीले बताइन् ।
धादिङको विकास तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षाले धादिङको यात्रा तय गरिएको दुई पाङ्ग्रे क्विन्सकी प्रमोटर मोटो भ्लगर सुस्मिता अधिकारीले बताइन् । ‘सन् २०२३ देखि काम गर्दै यस संस्थाले काठमाडौंसँगै जोडिएको र अथाह सम्भावना बोकेको धादिङ जिल्लालाई देशभर चिनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं । रुबीभ्यालीको पाङसाङ भनेपछि मानिसहरू हुरुक्कै हुन्छन् । धादिङ साँच्चै स्वर्ग छ, एकपटक घुम्न आउनुहोला,’ उनले भनिन् ।
न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको सम्बोधन गर्दै रुबीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले दुई पाङ्ग्रे क्विन्सका महिला राइडरहरूलाई धन्यवाद दिँदै पर्यटन प्रवद्र्धनमा पनि जोड दिन आग्रह गरे ।
राइडरका क्रममा महिला राइडरहरू धादिङको सर्वोच्च मोटरेबल पास ‘पाङसाङ पास’ सम्म पुगेका थिए । महिला राइडरहरू अग्रपङ्क्तिमा रहेर पाङसाङ पाससम्म पुगेर धादिङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरुले बताएका छन् ।
