प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत सुरक्षा योजना, २०८२ अनुसार नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ। कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए।
त्यस्तै, एसएसपीको कमान्डमा आठवटा प्रदेश निर्वाचन सेल पनि प्रहरी प्रधान कार्यालयमा स्थापना भएको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीतिबारे प्रहरी अतिरिक्त महानिरीक्षक भन्छन्, ‘आसन्न निर्वाचनलाई निष्पक्ष एवं भयरहित वातावारणमा सम्पन्न गराउन उच्च मनोबालका साथ प्रहरी खटिरहेको छ। निर्वाचन लक्षित सुरक्षा योजना निर्माण एवं परिचालनको लागि स्थानीय तह र अन्य सुरक्षा निकायहरूसँग आवश्यक समन्वय भइरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ बमोजिम उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूमा प्र.व.उ /प्र.उ को कमान्डमा र जिल्ला प्रहरी कार्यालयहरूमा प्र.ना.उ.-प्र.नि.को कमान्डमा निर्वाचन सेल गठन गरी प्रारम्भिक चरणका कार्यहरू गरिएको छ ।’
भौगोलिक विकटता तथा प्रतिकूल मौसमको कारण हुन सक्ने सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी मतदान केन्द्र तथा मतगणनास्थलसम्म निर्वाचन सामग्रीको ढुवानी तथा सुरक्षा व्यवस्थापनमा प्रहरीले आवश्यक योजना बनाइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले निर्वाचनलाई सम्पन्न गराउन सबै सरोकारवाला पक्ष र अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको छ। विभिन्न राजनीतिक दलहरूसँग नियमित संवाद तथा समन्वय साथै सर्वपक्षीय छलफल, अन्तर्क्रियामार्फत निर्वाचनको वातावरण तयार गर्न प्रहरी क्रियाशील रहेको प्रवक्ता काफ्ले बताउँछन्।