ट्रम्पद्वारा भेनेजुयला भित्रने तेल ट्यांकरमाथि नाकाबन्दीको आदेश

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयला भित्रिने र बाहिरिने प्रतिबन्धित तेल ट्यांकरमाथि ‘पूर्ण’रूपमा नाकाबन्दी लगाउन आदेश दिएका छन् । ‘लागुपदार्थको तस्करी र मानव बेचबिखनलगायत धेरै अपराधमा संलग्न भेनेजुयलाका शासनलाई अहिले विदेशी आतंकवादी संगठन तोकिएको छ । त्यसैले, आज म भेनेजुयला भित्रिने र बाहिरिने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि पूर्ण नाकाबन्दीको आदेश दिइरहेको छु,’ ट्रम्पले भने । 

ट्रम्पले भेनेजुयला दक्षिण अमेरिकाको इतिहासमा अहिलेसम्मकै ठुलो सैन्य युद्धपोतबाट पूर्ण रूपमा घेरिइसकेकाले यो काम सहज भएको संकेत गरेका छन् । नाकाबन्दीको प्रतिक्रियामा भेनेजुयला सरकारले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको ‘घृणित धम्की’लाई अस्वीकार गरेको बताएको छ । यो नाकाबन्दी संयुक्त राज्य अमेरिकाबाट आफूहरूको ‘सम्पत्ति चोर्ने उद्देश्यले लागू भएको’ पनि काराकसले आरोप लगाएको छ । 

अमेरिकी प्रशासनले गत हप्ता भेनेजुयलाको कच्चा तेल बोकेको तेल ट्यांकर कब्जामा लिएको थियो । अमेरिकी सेनाले भेनेजुयलाको तटबाट कब्जामा लिएको सो ट्यांकरको तेललाई अनलोड गर्न अमेरिकी राज्य टेक्सास ल्याएको समाचारमा उल्ल्लेख छ ।

सुझावित समाचार