साफ क्लब च्याम्पियनसिप : एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेले

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

नेपालको एपिएफ क्लबले भारतको इस्ट बंगाल क्लबलाई साफ महिला फुटबल च्याम्पियनसिपमा गोलरहित बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्लड लाइटमा भएको लिग चरणको अन्तिम खेलमा बुधबार दुवै टोलीले गोल गर्न सकेनन् । यसअघि नै अपराजित रहँदै एपिएफ र इस्ट बंगालले शनिबार हुने फाइनलमा स्थान बनाइसकेका थिए । 

एपिएफले चारमध्ये दुई खेलमा समान जित र बराबरी नतिजा निकालेको छ । दोस्रो स्थानमा रहेको एपिएफले ८ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको इस्ट बंगालले चार खेलमा तीन जित र एक बराबरी गर्दै १० अंक हात पारेको छ । भुटानको ट्रान्सपोर्ट युनाइटेड तेस्रो स्थानमा छ । समान २ अंक भए पनि पाकिस्तानको कराँची सिटी एफसी चौथो र बंगलादेशको नासरिन स्पोर्टस् एकेडेमी पुछारमा छन् । यसअघि लगातार हारसँगै ट्रान्सपोर्ट, कराँची र नासरिन प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

प्रतियोगिताअन्तर्गत बुधबारै भएको पहिलो खेलमा ट्रान्सपोर्ट र नासरिनले १–१ को बराबरी खेले । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलोपटक आयोजना गरेको च्याम्पियनसिपमा माल्दिभ्स र श्रीलंकाका कुनै पनि क्लबले सहभागिता जनाएनन् ।  

समूह चरणमा इस्ट बंगालको १३ र एपिएफको पाँच गोल
समूह चरणमा इस्ट बंगाल र एपिएफ अपराजित रहे । भारतको बलियो टोली इस्ट बंगालले समूह चरणमा सर्वाधिक १३ गोल गर्‍यो । समूह उपविजेता एपिएफले सात गोल गरेको छ । इस्ट बंगाल र एपिएफले अहिलेसम्म गोल व्यहोरेका छैनन् । एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्टस् एकेडेमीलाई ४–० ले हराएको थियो । दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग एपिएफले गोलरहित बराबरी खेल्यो । तेस्रो खेलमा एपिएफले पाकिस्तानको कराँची सिटी एफसीमाथि १–० को जित हात पारेको थियो । इस्ट बंगालले ट्रान्सपोर्टलाई ४–० र नासिरलाई ७–० को फराकिलो अन्तरले हराएको थियो । उसले कराँचीलाई २–० ले पाखा लगायो । 

फाइनलअघिको भिडन्त 
समूह चरणको एक खेलअगाडि नै एपिएफ र इस्ट बंगाल फाइनल पुगिसकेका थिए । यी दुई टोलीले यस खेललाई उपाधि भिडन्तअघि आफ्ना कमजोरी औँल्याउने अवसरका रूपमा लिएका थिए । हार र जितले केही फरक नपर्ने भएपछि दुवै पक्षले रक्षात्मक खेले । एक किसिमले यो खेल फाइनलअघिको तयारीजस्तै थियो । एपिएफले पहिलो रोजाइका रेनुका नगरकोटे, सरु लिम्बू, अनिता केसीलाई‌ आराम दिएको थियो । दोस्रो हाफमा अनिता, सरु र रेनुका मैदान प्रवेश गरेका थिए । उनीहरूले खेलमा केही मौका पाए पनि गोल गर्न सकेनन् । एपिएफकी गोलरक्षक अञ्जना रानामगरले इस्ट बंगालका केही सुन्दर प्रहार बचाएकी थिइन् । 

एपिएफकै रश्मिकुमारी घिसिङ दुईपटक गोलनजिक पुगे पनि असफल भइन् । एपिएफको तुलनामा इस्ट बंगाल बलियो देखियो । एपिएफले साफ च्याम्पियनसिपका लागि विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान रहँदा पनि भिœयाएन । इस्ट बंगालले भने पाँच विदेशी खेलाडीका साथ प्रतिस्पर्धा गरिरहेको छ । तीन विदेशी खेलाडी एपिएफविरुद्ध मैदानमा उत्रिएका थिए । 

सुझावित समाचार