प्रेरक प्रसंग : क्रमवेल र चित्रकार

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

बेलायती सैनिक तथा राजनीतिज्ञ ओलिभर क्रमवेल आफ्नो वीरताका लागि विख्यात थिए । उनको वीरताबाट प्रभावित भएर एक चित्रकार उनीसामु आए र उनको एउटा चित्र बनाइपाऊँ भनी अनुरोध गरे । उनले भने, ‘म तपाईंको वीरताको सम्मानमा तपाईंको एउटा चित्र बनाउन चाहन्छु । के त्यसका लागि तपाईं मलाई अनुमति दिनुहुन्छ ?’ चित्रकारको अनुरोध सुनेपछि क्रमवेलले उनलाई आफ्नो चित्र बनाउने स्वीकृति दिए । 

चित्रकार धेरै खुसी भए । तर, चित्र बनाउँदै गर्दा एउटा समस्या देखियो । क्रमवेल जति साहसी, वीर र लडाकु थिए, उति नै कुरूप पनि थिए । उनको अनुहारमा एउटा ठुलै आकारको मांशपिण्ड थियो, जसका कारण उनी निकै कुरूप देखिन्थे । 

चित्रकारले बडो मिहिनेत गरेर क्रमवेलको चित्र त बनाए । तर, उनले जानीजानी सो मांशपिण्ड उनको चित्रबाट हटाइदिए । चित्रमा क्रमवेल धेरै सुन्दर देखिएका थिए । चित्रकार त्यो चित्र लिएर क्रमवेललाई देखाउन गए । क्रमवेलले त्यो चित्र गौरपूर्वक हेर्दै भने, ‘तिम्रो कलाकृति अत्यन्तै सुन्दर छ, तर यो चित्र मेरो होइन । त्यसैले तिमी बनाउनै चाहन्छौ भने मेरै चित्र बनाएर देऊ ।’

चित्रकारले उनको भनाइको आशय बुझे । उनले एउटा अर्को चित्र बनाए, जसको अनुहारमा ठुलो आकारको मांशपिण्ड थियो, त्यो नै क्रमवेलको वास्तविक रूप थियो । चित्रकार त्यो दोस्रो चित्र लिएर फेरि क्रमवेललाई देखाउन गए । चित्र देखेपछि क्रमवेलले खुसी हुँदै भने, ‘हो, यो चित्र मेरो हो । यो चित्र अत्यन्तै सुन्दर पनि छ । सुन साथी, मलाई आफ्नो नराम्रो अनुहार हेर्ने बानी परिसकेको छ । त्यसलाई सिँगारेर राम्रो देखाइरहन जरुरी छैन । आखिर व्यक्ति जस्तो छ, त्यस्तै देखिनु ठिक होइन र ?’ चित्रकार उनलाई हेरेकोहेर्यै भए ।

सुझावित समाचार