प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको बिदाइ भेट

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको बिदाइ भेट

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन्। आफ्नो कार्यकाल सकेर बेइजिङ फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन्।

भेटका क्रममा नेपाल र चीनबिचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकाले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने बताए।

प्रधानमन्त्रीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाई तथा सफल यात्राको कामना गरिन्। साथै नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास पनि दिलाइन्।

प्रधानमन्त्रीले चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि व्यक्त गरिन्।

सुझावित समाचार