कृषि विकास बैंक लिमिटेडले १९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष डिमप्रसाद पौडेलको अध्यक्षतामा गत सोमबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा वार्षिक साधारणसभा सम्पन्न भएको हो।
सेयरधनीहरूलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र नगद लाभांशस्वरूप ९.७५ प्रतिशत (करसहित) उपलब्ध गराउने प्रस्ताव साधारणसभाले पारित गरेको छ।
साधारणसभामा वक्ताको रूपमा महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तिरमण पराजुलीसहित नौजनाले आफ्नो भनाइ राखेका थिए। सेयरधनीहरूले उठाएका जिज्ञासहरूलाई सञ्चालक समिति अध्यक्ष पौडेलले स्पष्ट पार्दै प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा स्थापना भएका शाखा, मुख्य कार्यालयसमेत गरी बैंकले २८५ वटा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा दिँदै आएको छ। नेपालका वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी कृषि विकास बैंकले नै गरेको छ।