निर्वाचनको सुरक्षाका लागि तयार रहनुस् : डिआइजी ढकाल

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षाको निम्ति तयारी अवस्थामा रहन सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख डिआइजी कृष्ण ढकालले मातहतका प्रहरीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण  सिराहामा निर्माण गरिएको ब्यारेक भवनको उद्घाटन गर्दै डिआइजी ढकालले अहिलेको सुरक्षा अवस्था संवेदनशील भएकाले आगामी दिनमा उत्पन्न सुरक्षा संवेदनशीलताप्रति सजग र सचेत हुनुपर्ने बताएका छन् । 

जेन–जी आन्दोलनपछिको संवेदनशील समयमा थप जिम्मेवारी काँधमा आइपुगेको भन्दै डिआइजी ढकालले शान्तिसुरक्षा कायम गर्दै आगामी निर्वाचनका लागि तयारीमा रहन सुरक्षा अधिकारीहरूलाई निर्देशनसमेत दिएका छन् । सीमासुरक्षा मुख्य प्राथमिकता भएको भन्दै डिआइजी ढकालले अवैध आवतजावत, लागुऔषध नियन्त्रण, मानव तस्करी रोक्न, चोरी तस्करी नियन्त्रणमा थप सक्रियता देखाउँदै काम गर्नुपर्ने बताएका छन् । सीमित स्रोत–साधन भए पनि राज्यले दिएको जिम्मेवारी पूरा गर्न तत्पर र सक्रियता देखाउनुपर्ने भन्दै उनले जेन–जी आन्दोलनको वेला झैँ समन्वय र सहकार्य सुरक्षा निकायबिचमा हुनुपर्ने बताएका छन् ।

अबको समय चुस्ता (ड्रेस)छुट्याउने अवस्था नभएको भन्दै डिआइजी ढकालले हामी सबै एउटै सुरक्षाकर्मी भएकाले तीनतिर हेरेर नहुने बताए । ‘हातेमालो गरी अघि बढ्नुपर्छ,’ उनले भने, ‘सुरक्षा प्रदानमा हामीले कुनै कसर बाँकी राख्नुहुँदैन।’ जनताले तिरेको करबाट सुविधासम्पन्न भवन निर्माण भएकाले अब थप जिम्मेवारी महसुस गर्दै शान्तिसुरक्षा कायम राख्न भूमिका खेल्नुपर्ने बताए। 

नवराजपुरमा सशस्त्र प्रहरी बलको बिओपी र सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण  सिराहामा ब्यारेक भवन निर्माण कार्यको उद्घाटन गरिएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले बताए । ब्यारेक भवन ६१ लाखको लागतमा निर्माण भएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए ।
 

सुझावित समाचार