घरआँगनमै स्वास्थ्य सेवा दिँदै नरैनापुर गाउँपालिका

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

सर्वसाधारणलाई घरआँगनमा स्वास्थ्य सेवा दिन नरैनापुर गाउँपालिकाले सामुदायिक स्वास्थ्य तथा घरदैलो अभियान थालेको छ। स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकीसम्म आउन नसक्ने ज्येष्ठ नागरिक, गर्भवती महिला, बिरामी र शारीरिक अशक्त व्यक्तिलाई घरदैलो अभियानमार्फत स्वास्थ्य सेवा प्रवाह गर्न घरदैलो अभियान थालेको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए। 

घरदैलो अभियानमा नसर्ने रोगबारे सचेतना फैलाउने र उपचार नपाएका बिरामीलाई घरमै उपचार दिने कार्यक्रम थालेको उनको भनाइ छ। ‘स्वास्थ्यसम्बन्धी जानकारी समयमै नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभव छ। रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोड्न, रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका हौँ,’ उनले भने। 

कार्यक्रमअन्तर्गत गाउँपालिकाका ६ वटै वडामा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। स्वास्थ्यकर्मीले मुटुरोग, मानसिक स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर, गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएको साहले बताए।

जनस्वास्थ्य अधिकृत करम चौधरीले अभियानलाई अर्थपूर्ण र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमको रूपमा व्याख्या गर्दै सम्पूर्ण वडामा स्वास्थ्यकर्मी परिचालन गरी तथ्यांक संकलन र सचेतना विस्तारको काम भइरहेको बताए। 

स्वास्थ्यकर्मीहरू घरआँगनमा आएर स्वास्थ्य सेवा दिएपछि धेरै फाइदा पुगेको नरैनापुर गाउँपालिका– ५, मटेहियाका दिनेशचन्द्र यादवले बताए। उनले उपचारका लागि स्वास्थ्य संस्थामा जान नसकेकाहरू कार्यक्रमबाट लाभान्वित भएको बताए। ‘रोग लागे पनि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति छ। कार्यक्रमले नसर्ने रोगको बारेमा जानकारी पाइनुका साथै स्वास्थ्य संस्थामा जान लजाउनेहरूलाई प्रत्यक्ष फाइदा पुगेको छ,’ उनले भने। 

कार्यक्रमबाट विशेष गरी गर्भवती, सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा बालबालिका लाभान्वित भएको नरैनापुर गाउँपालिका– ६, गंगापुरका रामसोहन मौर्यले बताए। कार्यक्रमलाई निरन्तरता दिन सके पालिकाको स्वास्थ्य अवस्था उल्लेख्य रूपमा सुधार हुने उनले विश्वास व्यक्त गरे। ‘स्वास्थ्यकर्मीको सक्रियता र निरन्तर उपस्थितिले सुरक्षित महसुस गरेका छौँ,’ उनले भने। 
 

सुझावित समाचार