समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न पार्टी एकता गरेका हौँ : नेता गजुरेल

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबिच पार्टी एकता गरिएको बताएका छन्। नेकपा खोटाङले मंगलबार दिक्तेल बजारमा आयोजना गरेको ‘एकता सन्देश सम्प्रेषण कार्यक्रम’लाई सम्बोधन गर्दै नेता गजुरेलले अबको कार्यभार समाजवादी क्रान्ति भएकाले त्यसलाई पूरा गर्न नेपालका वामपन्थी राजनीतिक दलहरूबिच एकता गरिएको दाबी गरे। 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का १ नम्बर प्रदेश (कोशी)का इन्चार्जसमेत रहेका नेता गजुरेलले जेन–जी आन्दोलनको उद्देश्य पनि यही रहेको जिकिर गरे। ‘नेपाली जनताले परिवर्तन चाहेका छन्। त्यो पूरा गर्न सबै कम्युनिस्ट विचारधाराका राजनीतिक दलहरू एकजुट हुन आवश्यक छ,’ उनले भने, ‘हामीले जेन–जीको भावनाअनुरूप १९ वटा कम्युनिस्ट पार्टीहरूबिच एकता गरेका छौँ। अब यो सन्देश जनस्तरसम्म पुर्याउनुपर्छ। यो समयको माग हो ।’ नेता गजुरेलले पार्टी एकतापछि नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको भरोसा बढेकोसमेत बताए।

कार्यक्रममा नेता गजुरेलले वर्तमान अवस्थामा देशलाई निकास दिन निर्वाचनबाहेक अरू हुनै नसक्ने दाबी गरे। ‘केही राजनीतिक दल प्रतिनिधिसभा पुनर्स्थापना भनेर लागेका छन्। यसमा दुई-दुईपटक संसद् विघटन गर्ने एमाले देखिन्छ। यो निकास होइन। यसो हुँदा देश अनिर्णयको बन्दी बन्छ,’ उनले भने, ‘अब जेन–जीको भावनाअनुसार नयाँ अनुहारहरू राज्यको मूल प्रवाहमा आउनुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ। विगतमा भएका कमीकमजोरीहरू सच्याउँदै अगाडि बढ्छौँ।’  नेता गजुरेलले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले बहुमत लिएर सरकार बनाउने पनि दाबी गरे। 

कार्यक्रममा नेकपाका नेता एवं कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, पूर्वमन्त्री रामकुमार राई पासाङ, पूर्वमन्त्री राजन राई, संविधानसभा सदस्य समिता कार्की अस्मिता, पूर्वसांसद कुलप्रसाद फुँयाल, केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरेन’लगायतले सम्बोधन गरेका थिए। 
 

सुझावित समाचार