डिपिआर बनेको १० वर्षसम्म अलपत्र छ पोखरा क्रिकेट मैदान

पोखरामा हुने भनिएकाे यू–१९ महिला विश्वकपका खेल अन्योलमा

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियमसहित पूर्वाधार बनाउन ०७२ मा डिपिआर बनेको थियो। राष्ट्रिय खेलकुद परिषद्ले डिपिआर बनाएको १० वर्ष पुग्दा पनि कुनै काम भएको छैन । यहाँ २० हजार दर्शक क्षमताको स्टेडियम निर्माणका लागि एक अर्ब ६८ करोडको लागत अनुमान गरिएको थियो । हाल मैदानमा दुईवटा पिच छन् । सामान्य पूर्वाधारको शौचालयसमेत छैन ।

०७२ मा डिपिआर तयार गरेपछि राखेपले ०७५ मा तीन करोड र ०७६ मा पाँच करोड बजेट विनियोजन गरेको थियो । तर, विनियोजन गरिएको तीन करोड फ्रिज भयो भने पाँच करोडको बजेट ठेक्का प्रक्रियामा गए पनि कोभिडका कारण काम हुन नसकेपछि लागेको ठेक्का पनि रद्द भएपछि बजेट केन्द्रमा फिर्ता गएको थियो ।

पाँच करोड फिर्ता भएपछि राखेपले ०८१/८२ मा मैदानका लागि एक करोड बजेट विनियोजन गरेको थियो । सो बजेटबाट प्लेयर बक्स र त्यसमाथि प्यारापिट निर्माणको काम सुरु गरिए पनि बजेट अभावले पूरा हुन नसकेको पोखरामा कार्यरत राखेपका इन्जिनियर अनिल अधिकारीले बताए । चालू आर्थिक वर्षमा मैदानका लागि तीन करोड रकम विनियोजन भएको थियो । तर, अर्थ मन्त्रालयले तीन करोडसम्मका योजना रोक्का गरेपछि पोखरा क्रिकेट मैदान बजेटविहीन बन्न पुगेको छ ।

‘रकम रोक्का हुँदा गत आर्थिक वर्षमा निर्माण सुरु गरिएको काम पनि अलपत्र छ, ढलान गरिएको संरचना बजेट अभावका कारण फिनिसिङ हुन पाएको छैन,’ उनले भने । क्यानका पूर्वकेन्द्रीय सदस्य ऋषिराम गौतमले राखेपले पोखरामा पूर्वाधार निर्माणका लागि कुनै चासो नदिएको बताए । ‘पोखरालाई सिधै एक अर्ब ६८ करोडको स्टेडियम चाहिएको होइन । सुरुमा आवश्यक पूर्वाघार निर्माण गरेर पछि विस्तार गर्दै लग्न सकिन्छ,’ उनले भने ।

नेपाल र बंगलादेशमा सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपका केही खेल पोखरामा समेत हुने भनिएको थियो । तर, पहिलो चरणका आधारभूत पूर्वाधार नहुँदा पोखरामा हुने भनिएका खेल अन्योलमा छन् । चार वर्षअघि आइसिसीले विश्वकप आयोजनाका लागि नेपाललाई सहआयोजक बनाउने निर्णय गरेको थियो । प्रतियोगिताको सहआयोजक बन्ने अवसर पाएको नेपालका तर्फबाट नेपाल क्रिकेट संघ (क्यान)ले दुई स्थान काठमाडौं र पोखरालाई आयोजनास्थल तोकेर आइसिसीलाई जानकारी दिएको थियो ।

प्रतियोगिताका लागि एक वर्षअघि गत मंसिर ०८१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का दुई प्रतिनिधि सिनियर म्यानेजर रोहित पोडर र डेभलपमेन्ट अफिसर एमडी एम्युनल इस्लामल मैदान अवलोकनका लागि नेपाल आएका थिए । पोखरा पुगेका उनीहरूले मैदान अवलोकनपछि पोखरामा प्रतियोगिता आयोजनाका लागि आइसिसी सकारात्मक भएको बताएका थिए । तर, पहिलो चरणका आधारभूत पूर्वाधारसमेत नरहेकाले छिटोभन्दा छिटो आवश्यक पूर्वाधार निर्माण गर्न भन्दै तीन तहका सरकारका प्रतिनिधिसँगै सरोकारवाललाई भेट गरी फर्किएका थिए ।

मैदानमा ड्रेसिङ रुम, शौचालय, एक्सेस रोड, ब्रोडकास्टर वा मिडिया बक्स, प्लेयर बक्स, अम्पायर स्कोरका लागि डेसिङ रुम, भिआइपी कक्ष, डाइनिङ रुम, स्कोरबोर्डसँगै आउटफिल्ड आवश्यक पर्ने मैदान अवलोकनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरूले बताएका थिए।

सुझावित समाचार