निर्वाचन पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

पर्यवेक्षण गर्ने २७ नेपाली र चार अन्तर्राष्ट्रिय संस्था

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोग प्रवक्ता नारायण भट्टराईका अनुसार पर्यवेक्षण अनुमति प्राप्त गर्ने २७ नेपाली र चार अन्तर्राष्ट्रिय संस्था छन् । 

पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय र पाँचवटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट आयोगमा निवेदन प्राप्त भएका थिए । आयोगले पर्यवेक्षण निर्देशिका ०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ३१ संस्थालाई छनोट गरेको हो ।

निर्वाचन पर्यवेक्षण निर्देशिकाबमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थाहरूलाई पाँच दिनभित्र थप कागजात पेस गर्न पत्राचार गरिएको भट्टराईले बताए । ‘माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक निर्णय हुनेछ,’ उनले भने । 

आयोगका अनुसार अनुमति पाउने २७ नेपाली संस्थामा डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, नेपाल मानव अधिकार संगठन, निर्वाचन पर्यवेक्षण समिति नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, संघीय बहसमा युवा, नेपाल मतदाता अधिकार मञ्च, राष्ट्रिय अपांग महासंघ नेपाल, सुशासन महासंघ नेपाल, राष्ट्रिय व्यावसायिक पहल, बागेश्वरी असल शासन क्लब (बास), कानुनी न्यायिक अध्ययन प्रतिष्ठान, युवालय, उन्नत नेपाल, सामूहिक अभियान, युवा वकालत नेपाल (युथ एड्भोकेसी नेपाल), लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल (डिइसिओएन), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल, इन्टरनेसनल युएनएचआर काउन्सिल अफ नेपाल, महिला कानुन र विकास मञ्च, समृद्ध आधार नेपाल, महिला सेवा संस्था नेपाल, विश्व उपभोक्ता महासंघ नेपाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र सञ्चारिका समूह नेपाल रहेका छन् । यसैगरी, चारवटा अन्तर्राष्ट्रिय संस्था पर्यवेक्षणका लागि छनोट भएका छन् । 

सुझावित समाचार