कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा मोबाइलजन्य सामग्री बरामद गरेको छ।
कृष्णनगर नगरपालिका–२ क्षेत्रबाट विभिन्न ब्रान्डका मोबाइल सेट तथा तिनका पार्टपुर्जा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामग्रीको अनुमानित बजार मूल्य २ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार बरामद सामग्रीमा चार थान रियलमी मोबाइल, मोबाइलका डिस्प्ले, ब्याट्री, ग्लास, सफा गर्ने कपडा तथा ब्रससहित कुल १७६ थान सामग्री रहेका छन्।
भन्सार छली अवैध रूपमा ल्याइएका ती सम्पूर्ण सामग्री आवश्यक कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको डिएसपी सिंहले जानकारी दिए।