नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणालीविपरीत भारतबाट प्रतिलिटर सात रुपैयाँ घटेर आएको डिजेलको भाउ नेपालमा चार रुपैयाँ मात्रै घटाउने निर्णय लिएको छ। तर, १.९४ रुपैयाँ प्रतिलिटर बढेर आएको पेट्रोलको भाउ भने सोभन्दा बढी प्रतिलिटर दुई रुपैयाँका दरले बढाउने निर्णय गरेको छ।
सोमबार रातिबाट लागू हुने गरी समायोजन भएको भाउअनुसार काठमाडौंमा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मटीतेल समान १४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ। भारतबाट जुन मूल्यमा थपघट भएर आउँछ सोही मूल्यमा नेपालमा पनि समायोजन गर्ने गरी स्वचालित मूल्य प्रणाली लागू भए पनि निगमले पेट्रोलियम पदार्थको भाउमा नियन्त्रण कायम राख्दै आएको छ।
यसपटक भारतबाट घटेर आएको तुलनामा डिजेलको मूल्य समायोजन नगरेको निगमले बढेको भाउअनुसार भने पेट्रोलमा मूल्य वृद्धि गरेर स्वचालित प्रणालीकै धज्जी उडाएको छ।
