प्रेरक प्रसंग : श्रेष्ठताको मापन

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

एकपटक देवता र दानवबिच कसको समुदाय श्रेष्ठ हो भन्ने विषयमा गम्भीर विवाद चल्यो । विवाद ब्रह्माकहाँ पुग्यो । दुवै पक्षको तर्क सुनिसकेपछि ब्रह्माजीले भने– तिमीहरू दुवै पक्षका कुरा मैले सुनेँ । यसको निर्णयका लागि तिमीहरू सबै आआफ्ना समुदायका सदस्यका साथ भोलि बिहान यहाँ उपस्थित हुनू । 

निर्धारित समयमा देवता र दानव ब्रह्मलोक पुगे । ब्रह्माजीले दुवै समूहलाई अलगअलग कक्षमा भोजनका लागि आमन्त्रित गरे । दुवै कक्षमा चौरासी व्यञ्जन तयार गरिएका थिए । दुवै समूह आआफ्नो निर्धारित स्थानमा बसिसकेपछि खाना पस्किने काम सम्पन्न भयो । तर, ब्रह्माजीले आफ्नो शक्तिले दुवै पक्षका सदस्यको हात खुम्च्याउन नमिल्ने बनाइदिए । 

यस्तो विषम परिस्थिति उत्पन्न भएपछि दुवै पक्षका सदस्य कसरी भोजन गर्ने भन्ने विषयमा अलमलमा परे । तर, दुवै समूहले आआफ्नो क्षमता र बुद्धिले उपाय निकाले । दानवहरूले थाल अलि पर राखेर हातले गाँस टिपे र त्यसलाई माथि उचालेर मुखमा पर्ने गरी खसाल्न थाले । यसो गर्दा केही खानेकुरा मुखमा पनि पर्यो भने केही शरीरभरि पर्यो । पानीको अवस्था पनि त्यस्तै रह्यो । खाना खाइसक्दा उनीहरूको शरीर विरुप देखिन्थ्यो भने सबै वस्त्रसहितै नुहाएर निस्किएजस्ता देखिन्थे ।

उता देवताहरू पनि यही समस्यामा देखिन्थे । तर, उनीहरूले अलि फरक किसिमले समाधान निकाले । उनीहरू दुई–दुईजनाको समूहमा एक–अर्कातिर फर्किएर केही दुरीमा बसे । एक–अर्काको थालबाट गाँस निकाल्दै एक–अर्कालाई खुवाउन थाले । उनीहरूले पानी पनि यसैगरी एक–अर्कालाई पिलाए । अनि, अन्त्यमा त्यसैगरी एक–अर्कालाई चुठाएर उनीहरू उठे । भोजनपछि ब्रह्माजीले दुवै पक्षलाई बोलाए र भने– तिमीहरूको प्रश्नको उत्तर प्राप्त भयो । जो मानिस आफ्ना लागि मात्र सोच्छ र आफ्ना लागि मात्र काम गर्छ, ऊ जहिल्यै असन्तुष्ट रहन्छ र आफ्नै कर्मका लागि अपमानित पनि भइरहन्छ । तर, जसले अर्काका लागि पनि सोच्छ, सहयोग दिन्छ र आवश्यक परे लिन्छ पनि, ऊ जहिल्यै श्रेष्ठ ठहरिन्छ ।

सुझावित समाचार