शुभकार्यमा नबोलाई जाँदैनन् विराटनगर क्षेत्रका किन्नरहरू

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

कतिपय किन्नर (तेस्रो लिंगी)हरू सार्वजनिक स्थानमा गीत गाउँदै ढोल बजाउँदै त कोही ताली बजाउँदै मागेर जीवन जिउने गर्छन् । तर, विराटनगर क्षेत्रका किन्नहरूले भने मागेर अपहेलित हुनुभन्दा व्यावसायिक रूपमा संगठित भएर शुभकार्यमा बोलाएपछि मात्रै जाने र मनोरन्जन, आशिर्वाद दिन थालेका छन्। 

सामाजिक उत्सवहरूमा पुगेर मनोरन्जनसँगै आर्शिवाद दिन नायक रागिनी किन्नर (तेस्रो लिङि्गी)लगायतले व्यवसायिक टोली बनाएका छन् । उनको टोली कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका घरघरमा पुगेर विवाह, जन्म, नयाँ घरबास, पसल, व्यवसाय उद्घाटन आदि शुभकार्यमा गीत, नृत्य प्रस्तुत गर्दै आर्शिवाद दिँदै दान दक्षिणा लिने गर्न थालेको छ। 

आफूलाई व्यावसायिक बनाउन नायक रागिनी किन्नरको टोलीले भिजिटीङ कार्ड नै छापेको छ । उनीहरू जहाँ-जहाँ पुग्छन् त्यहाँ उक्त कार्ड बाँड्छन्। जसले धेरैले उनीहरूलाई सामाजिक उत्सवहरूमा भजनकीर्तन गाएर आर्शिवाद दिन बोलाउने गरेका छन्।

सुनसरीको इटहरी, इनरुवा, खनार, झापाको दमक, विराटनगर आदि ठाउँमा बसोबास गर्ने उनीहरू घरगाउँ र सहरहरूमा हुने उत्सवहरूबारे जानकारी राख्छन्। अनि ५ देखि ७ जनाको समूह बनाएर भजनकीर्तन र गाना बजाना गर्दै आर्शिवाद दिन पुग्छन्। 

गुन्युचोली, जन्मोत्सव, उद्घाटन, घरबास आदि उत्सवहरूमा उनीहरू भजन गाउने गर्छन भने विवाह र वार्षिकीहरूमा दानदक्षिणा दिनेहरुले माग गरेअनुसारका भजन र गीत गाउँछन्। यसबाहेक किन्नरहरूको टोलीले साना नानीहरूलाई झारफुक पनि गरिदिन्छन्। 

‘हामी कसैलाई पनि करकाप गर्दैनाैँ। धार्मिक परम्पराअनुसार हामीले आर्शिवाद दिएको र झारफुक गरे फलिफाप हुने विश्वास भएकोले सोहीअनुसार मर्यादित ढंगले मनोरन्जन दिँदै आर्शिवाद दिन्छौँ,’ नायक रागिनी भन्छिन्। 

नायक रागिनीकाअनुसार टोलीमा सबै नेपाली किन्नर छन्। कसैले पनि सार्वजनिक स्थानमा जबर्जस्ती माग्दैन। किन्नरहरूको हेड मानिएकी नायक रागिनी भन्छिन्, ‘सार्वजनिक यातायात र सहर बजारमा जबर्जस्ती मागेर हिँडनु गलत हो। यसरी माग्ने धेरैजसो भारतबाट आएका नक्कली किन्नरहरू छन्।’ 

रागिनीको आर्शिवाद टोलीमा १२ कक्षासम्म पढेका सुनसरी, मोरङ र झापाका किन्नरहरू आबद्ध छन्। टोलीमा आबद्ध कतिपयले नागरिकतासमेत पाएका छैनन्।

जीविकोपार्जनका लागि उनीहरू ढोल बजाउँदै भजन, गीत गाउने र नाच्ने प्रशिक्षण लिएका सिपालु छन्। ‘समाजमा तेस्रो लिंगी(किन्नर)हरूप्रति हेर्ने गलत दृष्टिकोणलाई सकारात्मक बनाउन पनि हामीले मर्यादित टोली बनाएका हौँ, हाम्रो टोलीमा कोही पनि गलत भावना भएका छैनन्,’ नायक रागिनी भन्छिन्। 

सुझावित समाचार