कप्तान रोहितकुमार पौडेलको ह्याट्रिकसँगै लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ च्याम्पियन बनेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले स्तब्ध बनायो ।
लुम्बिनी प्रतियोगितामा नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम भने लगातार उपविजेतामा सिमित बन्यो । यसपटक साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा रहँदा प्रतियोगिताले नयाँ च्याम्पियन पाएको हो । यसअघि पनि सुदूर उपविजेतामै सिमित बनेको थियो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको सुदूरले १९ ओभरमा सबै विकेट गुमाउँदा मात्र ८६ रनको लक्ष्य दिएको थियो । टोलीको इनिङ्समा ठूलो साझेदारी हुनै पाएन । दोस्रो एनपिएलको इतिहासमा कुनै पनि टोेलीले कम रन बनाएको पहिलो पटक हो । त्यस्तै, सुदूर एनपिएलमै पहिलो पटक तेहोरो अंकमा रन बनाउन चुक्यो । प्रत्युत्तरमा लुम्बिनीले ९ ओभरमा चार विकेट गुमाउँदै प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो ।
ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । उनले १३ बलमा एक छौका र ५ छक्का हिर्काए । उनलाई हेमन्त धामीले स्कट कुगुलेइनबाट क्याच गराएका हुन् । दिनेशले पहिलो ओभरमै सुदूरका कप्तान दीपेन्द्रलाई २७ रन हिर्काएका थिए । अस्ट्रेलियन ब्याटर डार्सी सर्टले १३ बलमा १४ रन बनाए । कप्तान रोहितले १३ बलमा दुई चाका र एक छक्कासहित १६ रन बनाए । रोहितलाई अविनाश बोहराले दीपेन्द्रबाट क्याच गराए । रोहित फाइनलका प्रतिद्वन्दी विनोद भण्डारीलाई पछि पार्दै प्रतियोगितामा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने । पहिलो स्थानमा पोखराका एडान रोसिंघन (३२३ रन) छन् । तेस्रो स्थानमा रहेका विनोदले २६४ रन बनाएका हुन् । सन्दीप जोरा डक भए ।
सुदूरका हेमन्त धामीले दुई विकेट लिए । दीपेन्द्र र अनिनाशले समान एक विकेट हात पारेका हुन् ।
यसअघि टस जितेर बलिङ गरेको लुम्बिनीको लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिए । रोहितले ११औं ओभर लगातार तीन विकेट लिएका हुन् । उनले १०.४ ओभरमा सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीलाई १३ रन बनाउँदा आउट गराए । दीपक बोहरालाई १०.५ तथा १०.६ ओभरमा पुनीत मेहरालाई डक आउट गराएका हुन् । ह्याट्रिक विकेट पछि उनी ओनर बक्समा ‘फ्ल्याइगं किस’ दिन पुगेका थिए ।
रोहित प्रतियोगितामा ह्याट्रिक लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाडौंका शाहव आलमले पोखराविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । योसँगै रोहितले प्रतियोगितामा १० विकेट लिएका छन् ।
सुदूरको इनिङ्समा ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले ५१ बलमा १ चौकामात्रै प्रहार गरे । १६.३ ओभरसम्म क्रिजमा टिकेका इशानलाई शेर मल्लले श्रीलंकन अलराउन्डर मोभिन सुवासिंघाबाट क्याच आउट गराएका थिए ।
त्यसबाहेक कप्तान दीपेन्द्र सिंह ऐरीले २० बलमा १३ रन बनाए । हर्मित सिंह र स्कट कुगुलेइनले पनि १० रन मात्रै बनाएर पेभिलियन फर्किएका थिए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि दुई अर्धसतक बनाएका विनोद भण्डारी डक आउट भए । दोस्रो खेल खेलिरहेका भारतीय ब्याटर सेल्डन ज्याकसन पनि एक रन बनाएर आउट भएका थिए । ६ रन बनाएका आरिफ शेखलाई शेर मल्लले एलबिडब्लु धरापमा पारे । रोहितले एघारौं ओभरमा दीपक बोहरा र पुनीत मेहराको विकेट लिँदै ह्याट्रिक गरेपछि सुदूरपश्चिमको ब्याटिङ दबाबमा आएको थियो ।
लुम्बिनीको लागि रोहित, शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३ विकेट लिए । रोहितले ४ ओभरमा १२ रन खर्र्चिए । त्यस्तै शेर मल्लले पनि ३ विकेट लिए । शेरले चार ओभरमा १८ रन खर्चिएका हुन् । उनी सन्दीप लामिछानेसँगै सर्वाधिक समान १७ विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । रुवेन ट्रम्पलम्यानले २.१ ओभमार मात्र ३ रन खर्चिएर तीन विकेट लिएका थिए । अभिशेस गौतम र मोभिन भने विकेट विहिन भए ।
सुदूरपश्चिमले पहिलो क्वालिफायर्समा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । लुम्बिनीले पनि दोस्रो क्वालिफायर्समा विराटनगरलाई नै ४० रनले हराएको हो । यसअघि सुदूरपश्चिम सर्वाधिक १२ अंक जोड्दै प्लेअफमा पुगेको थियो भने ८ अंकको लुम्बिनी चौथो टोलीको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । योसँगै मंसिर १ बाट सुरु भएको प्रतियोगिता सम्पन्न भएको छ ।