दिक्तेल बजारको शंखधर साख्वा–भानुचोक सडक ढलान तीव्रगतिमा

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको शङ्खधर साख्वाचोकदेखि भानुचोकसम्मको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको छ। कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत  भौतिक पूर्वाधार कार्यालय खोटाङको मूल्य अभिवृद्धि कर तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा सडक ढलानको काम सुरु गरिएको हो। 

फास्ट एण्ड फास्ट कन्ट्रक्सन प्रालि. काठमाडौंले जिम्मा लिएको सडकको २२५ घनमिटर ढलान गरिने जनाइएको छ। कच्ची अवस्थामा सञ्चालन हुँदै आएको यो सडकमा नाली निर्माण तथा ढलानको काम गरिने ठेकेदार कम्पनीका प्रबन्ध/निर्देशक ध्रुब श्रेष्ठले जानकारी दिए। 

वि.सं. २०८२ चैत–२२ गतेभित्र अनिवार्य सम्पन्न गर्नेगरी वि.सं. २०८२ मङ्सिर–२२ गते कार्यालयसँग सम्झौता गरिएको थियो। कार्यालयसँग सम्झौता गरेको भोलिपल्टबाटै सुरु गरिएको सडक ढलानको कामलाई दिनरात नभनी तीव्रगतिमा अगाडि बढाइएको कम्पनीका प्रबन्ध/निर्देशक श्रेष्ठले जानकारी दिए। 

सडक ढलानको काम आगामी पुसभित्रै जसरी पनि सम्पन्न गर्नेगरी तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ। पूरानो संरचनाका घरहरु रहेको दिक्तेल बजारको बाँकी सडकखण्ड यसअघि नै ढलान गरेर सञ्चालनमा ल्याइसकिएको छ।  जिल्ला प्रहरी कार्यालय खोटाङको अगाडि तथा हप्तामा दुई पटक हटिया लाग्ने हाटडाँडा आवतजावत गर्ने सडक ढलान नहुँदा नेताहरुको चर्को आलोचना हुँदै आएको थियो ।

यातायातका साधन तथा पैदल यात्रीको निक्कै बाक्लो चहलपहल हुने यो सडक ढलानका लागि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बजेट विनियोजन गरेका हुन् । 
 

सुझावित समाचार