उदयपुरमा बर्सेनि धान उत्पादन घट्दै

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण
  • खेतीयोग्य २२ हजार दुई सय १० हेक्टरमध्ये १३ हजार एक सय १२ हेक्टर धानखेतीका लागि उपयुक्त

मौसममा आउने परिवर्तनसँगै सिँचाइको अभवमा उदयपुरमा बर्खे धान उत्पादन घट्दै गएको छ । बर्सेनि धानखेती हुने जग्गाको क्षेत्रफल यथावत् रहे पनि उत्पादन घट्दै गएको कृषि ज्ञानकेन्द्र उदयपुरको तथ्यांकमा उल्लेख छ ।

ज्ञानकेन्द्रका अनुसार कुल खेतीयोग्य जमिनमा २२ हजार दुई सय १० हेक्टरमध्ये १३ हजार एक सय १२ हेक्टरमा बर्खे धानखेती हुन्छ । मौसममा आउने परिवर्तन र सिँचाइ सुविधाको अभावमा क्षेत्रफल यथावत् रहेपछि धान उत्पादन घट्दै गएको कृषि ज्ञानकेन्द्र उदयपुरका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवले जानकारी दिए । उनले भने, ‘धान रोपाइँ हुने समयमा पानी पर्दैन । सिँचाइको अभाव छ । त्यसकारण पछिल्लो समय धान उत्पादन घटेको देखिन्छ ।’ उनका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ मा जिल्लामा १२ हजार नौ सय १२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा हाल ३१ हजार तीन सय १८ मेट्रिकटन उत्पादन भएको छ । उनले भने, ‘गत आव ०८१/८२ को तुलनामा चालू आर्थिक वर्ष चार सय आठ हेक्टर क्षेत्रफलमा धानखेती हुन सकेन । जसको कारण १८ हजार दुई सय ७५ मेट्रिकटन धान उत्पादनमा कमी भएको हो ।’ यता धान थन्क्याउने समयमा बेमौसमी झरीले पनि धान उत्पादनमा क्षति पुर्याएको छ ।

उनका अनुसार आव ०८१/८२ मा १३ हजार तीन सय २६ हेक्टरमा ४९ हजार पाँच सय ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । यसैगरी, आव ०८०/८१ मा १२ हजार सात सय ९३ दशमलव ९५ हेक्टरबाट ५१ हजार एक सय ७५ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको थियो । जसमा आव ०८०/८१ को तुलनामा आव ०८१/८२ मा धानखेती भएको क्षेत्रफल बढे पनि उत्पादनमा एक हजार ६ सय मेट्रिकटन घटेको छ । 

उदयपुरमा २२ असारभित्र रोपाइँ सक्नुपर्ने खेतमा समयमै रोपाइँ हुन नसक्नु र धान थन्क्याउने समय कात्तिकमा परेको बेमौसमी झरीले उत्पादनमा कमी आएको प्रमुख यादवको भनाइ छ । 

See More On

सुझावित समाचार