फरक पहिचानको आलोकमा अन्त्यारम्भ

शनिबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

प्रसिद्ध रुसी कथाकार लियो टोल्सटोयको ‘मान्छेलाई कति जमिन चाहिन्छ ?’ कथामा मान्छेले जिन्दगीभर धनसम्पत्तिका लागि मरिहत्ते गर्ने, तर मरेपछि उसलाई गाड्न छ फिट जमिन भए पुग्ने मार्मिक विषय छ । विश्वविजेता सिकन्दर महान्ले विश्व विजय गरेपश्चात् मर्ने वेलामा भनेका थिए,‘मरेपछि मेरो शवयात्रामा दुवै हात नढाकियून्, ताकि, विश्वविजेता सिकन्दर महान् पनि खालि हात यस संसारमा आएको थियो, र खाली हात गयो भन्ने कुरा सबैले थाहा पाऊन् ।’

मान्छे जीवनमा पद, प्रतिष्ठा, नाम र धनको दौड प्रतिस्पर्धा गर्दा जिन्दगीभर हतारमा हुन्छ । अरूजस्तो हुने रहरमा आफू हुनै बिर्सन्छ । यस्तै, जीवनदर्शनदेखि जिन्दगीका उतारचढावले निर्माण गरेका २१ वटा कथाहरूको सँगालो हो– अन्त्यारम्भ । यस संग्रहमा संकलित कथाहरू हाम्रो जीवनको यथार्थले बुनिएका छन् र तिनमा प्रयुक्त सन्देशले कथाकारको सिर्जनशीलता र विषयगत ज्ञानसमेतको परिचय दिन्छन् । 

निबन्ध, अखबारका आलेख र समसामयिक विषयमा कलम चलाएर आफ्नो विशिष्ट पहिचान निर्माण गरेका डा. टीकाराम पोखरेलले यो संग्रहमार्फत फेरि एकपटक आफ्नो अलग चिनारीलाई स्थापित गरेका छन् । भाषिक रूपमा अब्बल र तिख्खर भएर जनजीवनको बोलीलाई आफ्ना सिर्जनामा कलात्मक तवरले प्रकट गर्नु उनको विशेषता हो । आफ्नो यही मूल विशेषतालाई उनले यो पछिल्लो प्रकाशनमा पनि निरन्तरता दिएका छन् । 

‘अन्त्यारम्भ’मा विषयको विविधता छ । प्रेम, यौन, जीवनदर्शन, देशको दूरावस्था, मानव अधिकारप्रतिको खिसिटिउरी, लैंगिक हिंसा र समाजका विकृतिहरूलाई कथाले विषयवस्तुका रूपमा ग्रहण गरेका छन् । कथासंग्र्रहभित्रका हरेमुरारे, बिहेको कोट, गाउँ हराएको सूचना, कथाभित्रको कथा, भूतपूर्व प्रेमिका, मातृत्व भोक, चरित्र(हीन), छोक्रा, लिलामीमा प्रेम, नजन्मेकी वीरांगना, कामोद्यान, न्यायाधीशकी छोरी, अधिकार हराएको चित्र, वर्गशत्रु, जनताको पार्टी, नमस्कार, स्वानसभा, भकुन्डो जिन्दगी, भगवान्, न्यायको योग्यता र अन्त्यारम्भ शीर्षकका २१ वटा कथाहरूले कथाकारको सिर्जनात्मक चेत, क्षमता र सामाजिक सोचलाई सर्लक्क अनुवाद गरेका छन् । आफ्ना कथाहरूको अनुहारमा आफ्नो समयलाई उजागर गर्नु सजिलो काम होइन । तर, कथाकारले त्यही असजिलो कामलाई फत्ते गरेका छन् । 

चरित्रहीन, छोक्रा, लिलामीमा प्रेम, नजन्मेकी वीरांगना, भगवान्जस्ता कथाहरूले लैंगिक समानता र महिला अधिकारको विषयमा लोभलाग्दो शैलीमा समाजको वास्तविकतालाई झल्काएका छन् भने वर्गशत्रु, जनताको पार्टी, बेपत्ता न्यायजस्ता कथाहरूले देशको राजनीतिक विकृतिको तस्बिर प्रस्तुत गरेका छन् । अधिकार हराएको चित्र कथाले मानव अधिकारको चरम दूरावस्थाको चित्रण गरेको छ । जिन्दगी एक भकुण्डो लेखक स्वयंको भोगाइ हो भने अन्त्यारम्भ कथा मानव जीवनदर्शन हो । यसैगरी, स्वानसभा राजनीतिप्रतिको तीखो व्यंग्य हो भने कामोद्यान यौन मनोविज्ञानमा आधारित कथा हो । 

आजको मान्छेले गर्ने प्रेममा प्रेम छैन, प्रदर्शन छ । भावना छैन, भौतिकता छ । त्यसप्रति उनले इमानपूर्वक विमति राखेका छन् । तथापि, उनको विमति प्रश्नसहितको छ । ती प्रश्नमा मात्रै प्रश्न छैनन्, तिनमा असन्तुष्टि पनि छ । जस्तै–

‘यहाँ प्रेमको नाममा मान्छे बिक्री भइरहेको छ । मान्छेले मान्छेलाई बिक्री गरिरहेछ । मान्छेले मान्छेलाई किनिरहेछ । ... अब शाश्वत प्रेम अब कहाँ रह्यो र ? प्रेम त सामाजिक भइसक्यो । .... समाजमा प्रेमको नाममा जुन नाटक भइरहेका छन्, ती सबै प्रेमको नामका उन्नत खालका मानव व्यापार हुन् ।’ (लिलामीमा प्रेम, पृ. ७३)
मानिस प्रेममा होस् वा यौनमा इमानदार छैन । वैश्य युगमा जुनसुकै कुरा पनि व्यापारीकरण भइसकेकाले यौन र प्रेममा समेत इमानदार मान्छे पाउन गाह्रो भएको छ । यौनका मामिलामा मान्छे पशुजत्तिको पनि इमानदार हुन नसकेको तथ्यले उनलाई भित्रभित्रै गुम्स्याएको छ । निसास्सिएर छट्पटाएका कथाकारले कथाकै सहारामा आफूलाई फुक्काफाल बनाउन यत्न गरेको अनुभव कथामा गर्न सकिन्छ ।

देश अशिक्षा, अन्धविश्वास र गरिबीको जालोमा जगडिएको छ । यो अशिक्षा, अन्धविश्वास र गरिबीको जालोबाट देशलाई बाहिर निकाल्न कुनै युगपुरुषको आवश्यकताबोध कथाकारलाई भएको छ । त्यसका खातिर देशले वीर र वीरांगना खोजिरहेको छ । तर, तिनै वीरांगनाहरू नजन्मिदैँ भ्रुणमै मारिइरहेको तीतो पक्षलाई उनले सत्यको प्रकटीकरणमा खरो उत्रिएर उजागर गरेका छन् ।

आजको युग मानव अधिकारको युग हो भनेर स्वीकार गरिए पनि त्यसमाथि भइरहेको बहसले यसलाई कोरा सिद्धान्तको आवरणबाट मुक्त नगरेको असन्तुष्टि कथाकारमा भेटिन्छ । समाजका टाठाबाठा मान्छेले लगाइरहने मानव अधिकारको रटान उनीहरूका लागि गरिखाने मेलो भएको र यो अन्तर्राष्ट्रिय रूपमा गरिब मुलुकलाई दबाबमा राख्ने हतियार बन्न पुगेको वास्तविकताप्रति उनलाई खेद छ । आफैँ बाँचेको समयको दारुण पक्षलाई आफ्नै छातीको चोट ठानेर उनी भक्कानिएका छन् ।

मान्छेको जिन्दगी मान्छेकै वशमा छैन । जिन्दगी नियतिको फुटबल हो भन्ने पनि थाहा छ उसलाई । तर पनि मान्छे अरूलाई भकुन्डो बनाउने दौडमा छ । घाउले घाउलाई नै दुखाएजस्तो, पीडितले पीडितलाई नै रुवाएजस्तो गरेर आजको मान्छे बाँचिरहेको छ । जीवनको यति मार्मिक पक्षलाई पनि उनी कथामा दार्शनिक रूप दिन खप्पिस छन् ।

संग्रहभित्रका कथाहरू न लामा छन् न छोटा छन् । बरु ती एक बसाइमा सजिलै पढिसकिने खालका छन् । विचारका दृष्टिले यसभित्रका सबै कथाले स्पष्ट सन्देशप्रवाह गरेका छन् । संग्र्रहमा कथानक, चरित्र, परिवेश, दृष्टिविन्दु, जीवनदर्शन, भाषाशैली आदि तत्वलाई समायोजन गरेर कथाहरू लेखिएका छन् । परम्परागत कथाका तत्वहरूलाई नमेटीकन नवीन शैलीमा कथाहरू लेखिएका छन् । समग्रमा संग्रहभित्रका कथाहरूमा सामाजिक विसंगति, प्रेमका जटिलता, मानवताको ह्रास, नागरिकप्रतिको राज्यको उदासीनता, न्यायप्रणालीमा देखिएका कमजोरी, लैंगिक विभेद र समाजका छद्मभेषी पात्रहरूको चरित्रजस्ता विषय उठान गरिएका छन् ।

सुन्दर स्वदेश पब्लिकेसनले प्रकाशित गरेको संग्र्रहभित्र घटनालाई टपक्क टिपेर अनुकूल परिवेशले सिँगारेका सरल र बोधगम्य कथाहरू छन् । कौतुहलताको प्रयोग, मनोदशाको चिरफार र जीवनका जटिल विषय उठान गरेर पनि विभिन्न वर्ग, क्षेत्र, घटना र चरित्रलाई उभ्याएर सिर्जना गर्न कथाकार सफल देखिन्छन् । उनको यो सफलताले नै भनिरहेको छ– कथा साहित्यको विराट वृक्षमा एउटा सुन्दर र नयाँ फूल देखिएको छ । ‘अन्त्यारम्भ’ त्यही सुन्दर फूलको नाम हो ।
 

See More On

सुझावित समाचार