थाइल्यान्ड–कम्बोडिया सीमा झडप अझै रोकिएन, पाँच लाख विस्थापित

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

थाइल्यान्ड र कम्बोडियाबिचको लडाइँ चौथो दिन पनि रोकिएन । दुई देशले एक–अर्काका सीमापार गोलाबारी र हवाई आक्रमण गरिरहेका छन् । यसका कारण सीमा क्षेत्रबाट झन्डै पाँच लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छाडेर भाग्न बाध्य भएको अधिकारीहरूले बताए । 

थाइल्यान्डको रक्षा मन्त्रालयका प्रवक्ता सुरसान्त कोङ्सिरीले पत्रकार सम्मेलनमा भने, ‘सात प्रान्तबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको छ ।’ त्यस्तै छिमेकी कम्बोडियाले पनि ‘आफ्ना पाँच प्रान्तका एक लाख एक हजार २२९ मानिसलाई सुरक्षित आश्रय र आफन्तहरूको घरमा सारेको’ कम्बोडियाका रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले भने । 

दुवै देशले एक–अर्कामाथि द्वन्द्व पुन: सुरु गरेको आरोप लगाएका छन् । पछिल्लो द्वन्द्वमा हालसम्म कम्तीमा १३ सैनिक र सर्वसाधारणको ज्यान गइसकेको छ । थाई सेनाले बुधबार बताएअनुसार कम्बोडियासँग सीमा जोडिएका लगभग सबै प्रान्तमा छिटपुट लडाइँ चलिरहेको छ । 

पछिल्लो झडप जुलाईमा पाँच दिन चलेको लडाइँपछि सबैभन्दा घातक मानिएको छ । जुलाईको झडपमा दर्जनौँको मृत्यु भएको थियो भने थाइल्यान्ड–कम्बोडिया सीमाको दुवैतर्फबाट लगभग तीन लाख मानिस विस्थापित भएका थिए । 

त्यति वेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि दुई देशबिच एक कमजोर युद्धविराममा सहमति भएको थियो । यसपटक पनि ट्रम्पले दुई देशबिचको झडपबारे चासो देखाएका छन् । मंगलबार ट्रम्पले युद्ध रोक्न दुई देशका प्रतिनिधिसँग कुरा गर्ने बताएका थिए ।

यसपटक थाइल्यान्डको आक्रमणको तीव्रताले कम्बोडियालाई झस्काएको विज्ञहरूले बताएका छन् । थाई सेना कम्बोडियाभित्र पसेर तिनको केही भूमि कब्जा गरी बसेका छन् भने दैनिकजसो कम्बोडियाका भित्री स्थानमा समेत बमबारी भइरहेको ह्युमन राइट्स वाचकी सुनाई फासुकले भनिन् । 

‘यसपटक पनि राष्ट्रपति ट्रम्पले युद्ध रोक्न हस्तक्षेप गर्ने सम्भावना उच्च छ । तर, थाइल्यान्डले राष्ट्रपति ट्रम्पले लडाइँ रोक्न बाध्य पार्नुअघि नै कम्बोडियाको सकेसम्म भित्र पसेर पछि ती क्षेत्रको बदलामा हाल विवादित रणनीतिक बिन्दुहरू माग दाबी गर्ने रणनीति लिएजस्तो देखिन्छ,’ फासुकले भनिन् । 

सुझावित समाचार