दोस्रो संस्करणको एनपिएलमा विराटनगर किंग्सको यात्रा क्वालिफायर २ मै सीमित भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा उक्लेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार लुम्बिनीका दुई खेलाडी आउट गर्दै सन्दीप सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । उनले समग्रमा नौ खेलमा १७ विकेट संख्या पुर्याएका छन् ।
सुदूरपश्चिम रोयल्सका अविनाश बोहराले आठ खेलमा १६ विकेट लिएका छन् । उनी फाइनलमा लुम्बिनीविरुद्ध प्रतिस्पर्धा गरिरहँदा विकेट संख्या बढाउने योजनामा हुनेछन् । चालू एनपिएलमा अब चार खेलाडीबिच सर्वाधिक विकेट लिने होडबाजी चल्न सक्छ । क्वालिफायर २ बाट बाहिरिएको विराटनगरका कप्तान सन्दीपको दोस्रो संस्करणको एनपिएल यात्रा समाप्त भइसकेको छ ।
तेस्रो स्थानमा लुम्बिनीका शेर मल्ल छन् । उनले नौ खेलमा १४ विकेट पुर्याएका छन् । काठमाडौं गोर्खाजका साहब आलमले १३ विकेट तथा काठमाडौंकै कप्तान करण केसीले पनि १३ विकेट लिएका छन् । काठमाडौं पहिलो इलिमिनेटरबाटै बाहिरिँदा साहब र करणले थप विकेट संख्या बढाउन पाएनन् । सुदूरपश्चिमका हर्मित सिंहसमक्ष पनि विकेट बढाउने अवसर छ । उनले अहिलेसम्म आठ खेलमा १२ विकेट हात पारेका छन् । लुम्बिनीका रुबेल ट्रम्पलम्यानले पनि १२ विकेट लिएका छन् ।