दोस्रो ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने

बिहिबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

दुई विधा समावेश गरिएको दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप आगामी शनिबार हुने भएको छ। युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले ह्वाइटफिल्ड सेकेन्डरी स्कुलले मंसिर २७ गते एकदिने तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्न लागेको हो।

करिब १५ विद्यालयका ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ। खुसिबुस्थित ह्वाइटफिल्डमा पत्रकार सम्मेलन आयोजना गर्दै विद्यालयले प्रतियोगिताको बारेमा जानकारी दिएको हो। ह्वाइटफिल्डकी भाइस प्रिन्सिपल वर्षा श्रेष्ठले यस किसिमका प्रतियागिताले विद्यार्थीमा आत्मविश्वास बढाउने र उनीहरूमा भएका क्षमता वृद्धि विकास हुने बताइन्।

ग्योरोगी (फाइट) र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा हुने ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए। स्पिड किकमा तीन वटा पेटी (बेल्ट) समूहमा प्रतिस्पर्धा समावेश गरिएको छ। ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी गर्ल्स र ब्वाइज गरी कुल ८० तौल समूहमा प्रतिस्पर्धा हुनेछ। गर्ल्स र ब्वाइजमा समान १० तौलसमूहमा प्रतिस्पर्धा तय गरिएको छ।

स्पिड किकमा भने सेतो र पहेँलो पेटीमा, पहेँलो÷हरियोदेखि नीलो पेटी र नीलो÷रातोदेखि कालो पेटीसम्मको समूहमा खेलाडीले चुनौती प्रस्तुत गर्ने ह्वाइटफिल्डका राममणि बगालेले जानकारी दिए।

सुझावित समाचार