दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगर चौथो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ ।
सरस्वती माध्यमिक विद्यालय दिक्तेलसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरभित्रका २१ वटा सामुदायिक तथा दुईवटा संस्थागत मावि, दुईवटा आधारभूत विद्यालय र दिक्तेल बहुमुखी क्याम्पसको सहभागिता रहेको छ ।
चौथो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा ९८ स्वर्ण, ९८ रजत र १२२ रजतगरी ३१८ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सरस्वती माविका प्रधानाध्यपक शिवहरी ढकालले जानकारी दिएका छन् । प्रतियोगिताको विजेता विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको एथ्लेटिक्सतर्फका सम्पूर्ण खेल मङ्सिर–२४ गतेदेखि २६ गतेसम्म दिक्तेलस्थित माटिकोरे खेलमैदानमा, भलिबल जनजागृति मावि सोल्मामा मङ्सिर–२५ र २६ गते, कबड्डी मङ्सिर–२६ र २७ गते दिक्तेल ईङ्ग्लिस आवासीय विद्यालय दिक्तेलमा, सितोरियो कराते दिक्तेलस्थित खोटाङ बहुउद्देश्यी कभर्डहलमा तथा तेक्वान्दो शुभम् फाउण्डेसनमा मङ्सिर–२७ र २८ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि नगरपालिकाभित्र सञ्चालित विद्यालयका विद्यार्थी, खेल शिक्षक तथा प्रशिक्षकहरु दिक्तेल बजारमा भेला भएका छन् ।
सरस्वती माविले सञ्चालन गरेको चौथो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन कमजोर रहेको सहभागी विद्यालयले आरोप लगाएका छन् । बिगत वर्षहरुमा उल्लासका साथ भव्यरुपमा सम्पन्न हुने गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको यो संस्करण औपचारिकता पूरा गर्नेजस्तो मात्र देखिएको प्रतियोगितामा सहभागी विद्यालयका शिक्षकहरुले बताएका छन् ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तहमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कमजोर व्यवस्थापनले खेल क्षेत्रमा लाग्ने सोचमा रहेका विद्यार्थीको मनोबल गिराएको श्री मावि मझुवा बाँसबोटे लफ्याङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष काजीमान राईले बताए । प्रतियोगिता सञ्चालन गर्ने जिम्मा लिएको विद्यालयले कसैसँग समन्वय गरेको छैन । जुन विद्यालयमा जिल्लाकै सबैभन्दा बढी शिक्षक कार्यरत छन् ।
कार्यक्रममा तीनजना मात्र सहभागी भएको देखियो । यसले पनि कस्तो व्यवस्थापन होला भन्ने सहजै अनुमान गर्न सकिन्छ”, उनले भने, नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सशर्त रु एक लाख र नगरपालिकाको रु १३ लाखको खर्च उपलब्ध गराएको छ । यो रकम प्रयाप्त हो । व्यवस्थापन हेर्दा भद्रगोल देखिएको छ । यसको नैतिक जिम्मेवारी प्रधानाध्यापकले लिनुपर्छ ।
नगर उपप्रमुख विशन राईको अध्यक्षतामा आयोजित प्रतिगिताको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गरेका थिए । पानसमा बत्ती बालेर उद्घाटन गरेलगत्तै सम्बोधन गर्न मञ्चमा बोलाइएका प्रमुख अतिथि राई पोडिएममा पुग्नासाथ विद्युत अवरुद्ध भएपछि त्यत्तिकैमा कार्यक्रम छाडेर हिँडे ।