दनुवार समुदायको न्वागी पर्वमा उदयपुरका दुई पालिकामा बिदा

बिहिबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

दनुवार समुदायको सांस्कृतिक पहिचान जगेर्ना र स्थानीय परम्परा संस्थागत गर्ने उद्देश्यसहित उदयपुरका त्रियुगा र कटारी नगरपालिकाले न्वागी पर्वको अवसरमा आज बिहीबार सार्वजनिक बिदा दिएका छन् । स्थानीय तहबाट केही वर्षयता जातीय संस्कृतिको संरक्षणमा देखिएको सक्रियता यस वर्ष न्वागी पर्वमा पनि प्रष्ट देखिएको छ । त्रियुगा नगरपालिकाले मंसिर ११ गते बसेको नगर कार्यपालिकाको पाँचौँ बैठकमार्फत आकस्मिक सेवाबाहेक एक दिनका लागि बिदा घोषणा गरेको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिए ।

यता कटारी नगरपालिकाले पनि नगर प्रमुख स्तरमै निर्णय गर्दै मंसिर २५ गते सार्वजनिक बिदा दिने जानकारी प्रमुख राजेश चन्द्र श्रेष्ठले दिए । दनुवार समुदायले नयाँ अन्न अर्पण, पूर्वजप्रति सम्मान र कृषि–संस्कृति संरक्षणको प्रतीकका रूपमा न्वागी पर्व मनाउने गर्छन् । उदयपुरका कटारी, त्रियुगा लगायतका क्षेत्रहरूमा ३.०५ प्रतिशत दनुवार समुदायको बसोबास रहेको छ । जसले गर्दा यो पर्व स्थानीय पहिचानसँग गहिरो रूपमा जोडिएको छ ।

यसैबीच, न्वागी पर्वलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्दै दनुवार संस्कृतिको राष्ट्रिय पहिचान बढाउने उद्देश्यसहित उदयपुरमा यस वर्ष तीन दिनसम्म विशेष उत्सव आयोजना हुने भएको छ । दनुवार जागरण समिति र मूल आयोजक समितिले मंसिर २५ देखि २७ गतेसम्म त्रियुगा–८ को बैरेनीचौरमा ‘दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव’ सञ्चालन गर्ने तयारी गरेको संयोजक गुरुदेब दनुवारले जानकारी दिए ।

उत्सवको पहिलो दिन मुख्य न्वागी पर्वलाई आधिकारिक कार्यक्रममार्फत सार्वजनिक गरिँदै सामूहिक पूजा हुनेछ । दोस्रो र तेस्रो दिन महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरको सहकार्यमा खुला सांस्कृतिक नृत्य प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सांस्कृतिक मोटरसाइकल र्याली, जातीय झाँकी प्रदर्शन, दनुवारी परिकार प्रदर्शन लगायतका गतिविधि गरिने आयोजकले जनाएको छ ।

समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित उत्सवले उदयपुरलाई सांस्कृतिक पर्यटनको आकर्षक केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने आयोजक समितिको अपेक्षा छ ।

सुझावित समाचार