ट्रम्पले प्रश्न उठाएपछि जेलेन्स्की ‘चुनाव गराउन तयार’

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको संसद् र विदेशी सहयोगीले अनुमति दिएमा आगामी तीन महिनाभित्र युद्धका बिच चुनाव गर्न तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि सत्तामा टाँसिएको आरोप लगाएपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो प्रश्न फेरि संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले उठाएको हुनाले म यसबारे धेरै संक्षिप्त रूपमा जवाफ दिन्छु, म चुनावको लागि तयार छु,’ जेलेन्स्कीले मंगलबार साँझ भने । मंगलबार प्रकाशित पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘उनीहरू (युक्रेनीहरू)ले लामो समयदेखि चुनाव गरेका छैनन् । तिनीहरू लोकतन्त्रको कुरा त गर्छन्, तर उनीहरूको गतिविधि हेर्दा त्यहाँ लोकतन्त्र नरहेजस्तो देखिन्छ ।’

यसअघि गत हप्ता मात्र ट्रम्पका छोरा डोनाल्ड जुनियरले दोहामा एक सम्मेलनमा भने, ‘जेलेन्स्कीले युद्ध अन्त्य भए चुनाव गराउनुपर्छ । आफू हार्ने डरले उनले युद्ध लम्ब्याइरहेका छन् ।’ जेलेन्स्कीको पाँचवर्षे कार्यकाल गत वर्ष मे महिनामा समाप्त भएको थियो ।

तर, युक्रेनी संविधानले युद्धकालमा चुनाव गर्न निषेध गर्छ । युक्रेनका विपक्षी दलले समेत सुरक्षा र राजनीतिक हिसाबले युद्धकालमा चुनाव गर्न नहुने बताएका छन् । जेलेन्स्कीले चुनाव गराउन तयार भएको तर त्यसमा दुई प्रमुख चुनौती रहेको बताए ।

जेलेन्स्कीका अनुसार पहिलो चुनौती युद्धमा खटिएका सैनिक, लाखौँ विस्थापित नागरिक र रुसी नियन्त्रणमा रहेका क्षेत्रका नागरिकलाई चुनावमा सहभागी गराउने कुरामा छ भने दोस्रो, सैन्य शासन लागू भएको वर्तमान अवस्थामा कानुनले नै चुनाव नगर्न भनेको छ । 
 

सुझावित समाचार