- दशकौँदेखि दोहोरिँदो नेतृत्व, असफल नीति र जनतालाई ठोस परिणाम दिन नसक्ने दलहरूको प्रवृत्तिले व्यापक निराशा जन्माएको छ
पार्टी महाधिवेशन कुनै साधारण राजनीतिक जमघटको विषय मात्र हुँदैन । राजनीतिक दलको आत्मसमीक्षा, विचार नविनीकरण, संगठनात्मक पुनर्निर्माण र नेतृत्व हस्तान्तरणको निर्णायक मोड हुने गर्छ महाधिवेशन । विशेषत: आजको जटिल परिवेशमा एमालेको महाधिवेशनले केवल पदाधिकारी चयन मात्र होइन, मुलुककै दिशा निर्धारण र दीर्घकालीन मार्गचित्र निर्माण गर्ने क्षमता राख्नुपर्छ ।
नेपालका राजनीतिक संस्कृतिमा महाधिवेशन प्राय: शक्ति–सन्तुलन, पद–प्रतिस्पर्धा र अन्तिम क्षणमा देखिने ‘सम्झौतामूलक सहमति’मा सीमित हुने गरेका छन् । यस्तो विगत एमालेका सन्दर्भमा लागू नभए पनि अभ्यासका क्रममा विगतका सानातिना त्रुटिलाई यसपटकको महाधिवेशनले सच्याउन आवश्यक छ ।
महाधिवेशन भन्नेबित्तिकै नीति–निर्माण र नेतृत्व हस्तान्तरण प्रमुखतासाथ उठ्ने गर्छन् । यस सन्दर्भमा संसारका ठुला राजनीतिक दलले कस्तो अभ्यास गर्ने गर्छन्, तिनले देखाएको जिम्मेवारीपूर्ण अभ्याससँग आजका नेपाली दल साक्षात्कार हुनु आवश्यक छ । भारतको भारतीय जनता पार्टी (भाजपा) र चीनको कम्युनिस्ट पार्टी अफ चाइना दुवैले आफ्ना संगठनमा स्पष्ट, पूर्वनिर्धारित र प्रणालीगत नेतृत्व प्रक्रिया स्थापित गरेका छन् । यस्ता अभ्यासले राजनीतिक स्थिरता, नीति निरन्तरता र दीर्घकालीन विकास दृष्टिकोणलाई सुदृढ बनाएको छ । यसको अर्थ ती अभ्यासलाई जस्ताको तस्तै हाम्रोमा पनि लागू गर्नुपर्छ भन्ने मनसाय होइन । त्यहाँका राम्रा अभ्यासलाई हाम्रो चेतना, परिवेश र परिस्थितिअनुरूप अनुकूलन गर्न भने सक्नुपर्छ । तिनले शक्ति–हस्तान्तरणलाई व्यक्तिको इच्छाभन्दा पनि संस्थाको परम्परा, भविष्यको निरन्तरता र युवा पुस्ताको आकांक्षालाई प्राथमिकता दिन सक्छन् ।
नेतृत्व हस्तान्तरणको अन्तर्राष्ट्रिय अभ्यासलाई बुझ्न र आफ्नो देशको अनुकूलताअनुरूप लागू गर्न सक्नुपर्छ । नत्र लोकप्रियताको आडमा जेलेनेस्की र जडताको आडमा फासिस्ट शासक जन्माउने, त्यो खालको नेतृत्व स्थापित हुने खतरा उत्पन्न हुन्छ । यस सन्दर्भमा हाम्रा दुई छिमेकमा रहेका दलको अभ्यासलाई बुझ्न सकिन्छ । भाजपा जहिले पनि संगठनलाई केन्द्रमा राख्ने परम्परामा रहेको छ । जसका कारणले गर्दा भाजपा आज दक्षिण एसियाको सबैभन्दा संगठित र विचारकेन्द्रित दलमध्ये एक प्रमुख दलका रूपमा रहेको छ । यसको प्रमुख कारण शक्ति हस्तान्तरणमा अपनाइने संस्थागत पद्धति रहिआएको छ । भाजपाको नेतृत्व चयनमा व्यक्तिको निर्णायक प्रभाव कम र संगठनका मूल्य, परम्परा र सामूहिक निर्णयको प्राथमिकता बढी रहने गर्छ । उसले युवा नेतृत्वलाई स्थापित गर्न व्यवस्थित प्रशिक्षण, जिम्मेवारी र राजनीतिक जिम्मेवारी दिने परिपाटी विकास गरेको छ । परिणामस्वरूप सक्षम र ऊर्जावान् युवा नेतृत्व पार्टीभित्रैबाट उत्पादन हुने वातावरण तयार गरिएको छ । यस्ता कुरा नेपालका दलले सिक्न र व्यवहारमा प्रयोग गर्न आवश्यक छ ।
चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै ठुलो र व्यवस्थित पार्टीका रूपमा रहेको छ । यसले पनि आफ्नो पार्टीजीवनका सन्दर्भमा दीर्घकालीन योजना र अनुशासन संस्कृतिलाई अनुसरण गर्ने गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हस्तान्तरण विश्वकै सबैभन्दा संरचित र दीर्घकालीन योजनाअनुरूप हुने गर्छ । जसबाट देश, जनता तथा समग्र विश्वले नै अत्यन्त राम्रो अवसर पाइरहेको छ । यसले नेतृत्व हस्तान्तरण राष्ट्रको ३०–४० वर्ष लामो विकास रणनीतिसँग जोड्ने गर्छ, जसले नीतिगत स्थिरता सुनिश्चित गर्छ, परिपक्व नीति र नेतृत्व पाउने गर्छ । अस्थिरताको जन्जिरबाट देश र पार्टीलाई यसले जोगाउँदै आएको छ । कम्युनिस्ट पार्टीमा रहने शीर्ष तहका नेताहरू दशकौँ अगाडिदेखि प्रशिक्षित गरिन्छ, तिनको कार्य मूल्यांकन अत्यन्त वैज्ञानिक ढंगले गर्ने गरिन्छ र पारदर्शी रूपमा नेतृत्वको तयारी गरिन्छ । लामो समयको तयारी, मूल्यांकन र नेतृत्व क्षमताको विकासपछि मात्र उनीहरूलाई उच्च नेतृत्वमा प्रवेश गराइने परम्परा यसमा रहेको पाइन्छ । यहाँ पार्टीको अनुशासन आयोग अत्यन्त शक्तिशाली छ, जसले संगठन शुद्धीकरणलाई निरन्तर बरकरार बनाइरहन्छ । यहाँ विचार–परिकल्पना, नीति–नवीनता र संगठनात्मक अध्ययन महाधिवेशनको मुख्य एजेन्डा हुन्छ । जहाँ स्पष्ट वैचारिक प्रतिवेदन र भविष्यको मार्गचित्र तयार गरिन्छ । नेपालका दलहरू विशेषगरी एमालेले चिनियाँ कम्युनिस्ट पार्टीको यो अभ्यासबाट दीर्घकालीन पूर्वानुमान, नीति निरन्तरता र अनुशासित नेतृत्वजस्ता राम्रा कुरा अनुसरण गर्न जरुरी छ ।
पछिल्लो समय जेन–जी आन्दोलनले देखाएको असन्तोष र चेतनाको उभारसँगै आजको नेपाल गहिरो राजनीतिक संक्रमण, संस्थागत अव्यवस्था र आर्थिक निराशाको दिशामा गएको छ । दशकौँदेखि दोहोरिँदो नेतृत्व, असफल नीति र जनतालाई ठोस परिणाम दिन नसक्ने प्रवृत्तिले व्यापक निराशा जन्माएको छ । ‘टेस्टेड नेतृत्व’ले राष्ट्रलाई अघि बढाउँछ भन्ने विश्वास नै कमजोर भएको छ । राजनीतिक नेतृत्व पुरानै सोचमा बाँधिएको, निर्णय प्रक्रियामा अनिश्चय र व्यक्तिगत स्वार्थ हाबी भएको र परिवर्तनको नारा बोके पनि व्यवहारमा स्थायित्व दिन सकेको देखिँदैन । विशेषत: सक्षम, नैतिक र भविष्यदर्शी राजनीतिक नेतृत्वका लागि जनतामा तीव्र व्याकुलता छ, तर त्यसको प्रत्युत्तर अहिलेका दलले विश्वसनीय रूपमा दिन सकेका छैनन् । यस्तो संवेदनशील क्षणमा एमाले महाधिवेशन केवल दलको ‘रुटिन प्रक्रिया’ मात्र हुनुहुँदैन । यो सार्वजनिक असन्तोष, प्रणालीगत कमजोरी र युवापुस्ताको आकांक्षा सम्बोधन गर्ने ऐतिहासिक अवसर बन्न सक्नुपर्छ ।
युवाको असन्तोष केवल परिवर्तन खोज्न र अराजकता निम्त्याउन मात्र होइन, यो राजनीतिक नेतृत्वप्रति हराउँदै गएको विश्वासको परिणाम हो । महाधिवेशनको प्रमुख चुनौती पनि यही हो, युवा पुस्तालाई राष्ट्रिय विकासको मूलप्रवाहमा कसरी फर्काउने, कसरी सहभागी गराउने र उनीहरूलाई कसरी नेतृत्वको निर्णायक तहमा ल्याउने ? यो केवल शब्दले मात्र सम्भव हुँदैन; संरचनात्मक परिवर्तन अनिवार्य हुन्छ । एमाले यस दिशामा जानुपर्ने नै छ, नत्र भने एमाले फेरि निर्णायक राष्ट्रिय शक्ति बन्न सक्दैन । सक्षम, शिक्षित, जनताकै बिचबाट उठेका, विचार र दृष्टि भएका युवालाई शीर्ष तहमा उकास्ने राजनीतिक इच्छाशक्ति देखाउन नसके अब अर्कोपटक जनताले विकल्प खोज्नेछन् । त्यसलाई देशी–विदेशी शक्तिले ‘म्यानुपुलेट’ गरेर ‘पपुलिस्ट’, अराजकतावादी वा अल्पकालीन भावनात्मक चेत भएकाहरूलाई शक्तिकेन्द्रको मूल भागमा उभ्याउन कोसिस गर्नेछन् । अस्तिको अभ्यास पनि त्यही असन्तोषको फाइदा उठाउन खोज्दाको परिणाम हो ।
एमालेभित्र राजनीतिक रूपले परिपक्व, सैद्धान्तिक रूपमा स्पष्ट र सामाजिक रूपमा जरा गाडेका युवालाई वास्तविक भूमिकामा ल्याउनु केवल दलको फाइदा होइन, यो राष्ट्रिय आवश्यकता पनि हो । संरचनाभित्रका योग्य मानिसलाई अगाडि बढाउन सकेनौँ भने बाहिरबाट आउने अस्थिरताको चक्रलाई रोक्न सकिँदैन । यो या त्यो नाममा पपुलिस्टहरूकै हातमा शक्ति जानेछ ।
आजको राजनीतिक संकटको जरो भ्रष्टाचार, दण्डहीनता, अवसरवाद र नातावादमा छ, जसले राज्यको क्षमता खण्डित बनाएको छ र विकासको दिगो मार्ग अवरुद्ध गरेको छ । महाधिवेशनको ऐतिहासिक जिम्मेवारी अब देशले गुमाएको भरोसा कसरी पुनर्स्थापित गर्ने ? लोकतन्त्रलाई कसरी प्रभावकारी, जवाफदेही र परिणाममुखी बनाउने ? नेतृत्वको पुस्तान्तरणमा स्पष्टता, कार्यकाल सीमितता, आन्तरिक लोकतन्त्र, पारदर्शी निर्णय प्रक्रिया र नीति–निरन्तरताजस्ता विषयलाई महाधिवेशनको केन्द्रीय एजेन्डा बनाउन सकिएन भने आगामी दशकमा पनि पुरानै निराशाको चक्र दोहोरिनेछ । एमालेको महाधिवेशनको सन्दर्भमा हेर्दा युवाहरू अहिले दलको भित्री राजनीतिक संरचना, नेतृत्व चयन प्रक्रिया, नीति निर्माण र संगठनात्मक संस्कृतिमा मौलिक परिवर्तन खोजिरहेका छन् । युवाको आकांक्षा तीन मूलमा निहित छ– समान अवसर, योग्यताको पहिचान र सकारात्मक राजनीतिक संस्कृति । नेतृत्व सधैँ उमेरले नभई क्षमताले परिभाषित हुन्छ भन्ने मान्यतालाई युवाले अँगालेका छन् । यही विश्वासको कदर महाधिवेशनले नगरे, युवा राजनीतिबाट टाढिने, देशबाहिरको सम्भावनालाई अँगाल्ने र राष्ट्रिय नेतृत्वमा ‘पिँढीगत रिक्तता’ सिर्जना हुने जोखिम उच्च छ । यसको दीर्घकालीन परिणाम गम्भीर हुन्छ । जसका कारण देशलाई रूपान्तरण गर्नुपर्ने सर्वाधिक ऊर्जाशील वर्ग नै राजनीतिक प्रक्रियाबाट अलग्गिन सक्छ । त्यसैले नेतृत्व पुस्तान्तरण, अवसरको समता र योग्यतालाई प्राथमिकता दिन महाधिवेशनलाई प्रयोग गर्न सकिएन भने हामीले ठुलो मूल्य चुकाउनपर्ने हुन्छ ।
यो महाधिवेशन केवल पार्टी शुद्धीकरण प्रक्रिया मात्र होइन, यो देश कुन दिशामा अघि बढ्छ भन्ने दीर्घकालीन राजनीतिक दृष्टिको अभिमुखता निर्माण गर्ने अवसर पनि हो । नेपाल अहिले आर्थिक मन्दी, प्रशासनिक अनुत्तरदायित्व, शिक्षा–स्वास्थ्य प्रणालीको अव्यवस्था, संघीयता कार्यान्वयनका चुनौती र भू–राजनीतिक असन्तुलनको कठोर यथार्थसँग जुधिरहेको छ । यस्तो अवस्थामा महाधिवेशनले मुलुकका पाँच मूल एजेन्डामा ठोस दृष्टि मात्र होइन, कार्यान्वयनयोग्य मार्गचित्रसमेत दिन आवश्यक छ । हाम्रो महाधिवेशनले आर्थिक पुनरुत्थान, सुशासन र पारदर्शिता, शिक्षा–स्वास्थ्य र सामाजिक नीतिको पुनर्संरचना, संघीय संरचनाको कार्यसम्पादन सुधार र विदेश नीति तथा भू–राजनीतिक सन्तुलनको दीर्घकालीन योजनाजस्ता कुरामा ठुलो ‘डिपार्चर’ गर्न जरुरी छ । आशामा बसेका आमनेपालीमा पुन: राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने भावना विकास गर्न जरुरी छ । यी पाँच विषय केवल नीतिगत चर्चा होइनन्, यी नै नेपालको पुनर्खोज र स्थायी विकासका आधारस्तम्भ हुन्, जुन कुरालाई मूलमन्त्र बनाएर जनतासँग जोडिन आवश्यक छ । महाधिवेशनले यिनमा स्पष्ट, स्थायी र जनउत्तरदायी प्रतिबद्धता जनाउन सकेन भने त्यो नेतृत्व चयनको औपचारिकताभन्दा बढी बन्न सक्दैन । एमालेजस्तो मुलुकको ठुलो राजनीतिक दलले राष्ट्रको संकटलाई पूर्ववत् हेर्न वा केवल सामयिक नारा दिएर टार्न हुँदैन । देशको भावी शासन संरचना कस्तो हुनेछ भन्ने खाका अहिले नै कोर्नुपर्छ । अहिलेको महाधिवेशनले राष्ट्रिय नीति निर्धारण र दीर्घकालीन योजनाको जिम्मेवारी बोक्न तयार नहुने हो भने जनताले खोजेको विकल्प त्यही दलभित्र होइन, बाहिरबाट पैदा हुन थाल्नेछ । त्यसैले, महाधिवेशनले अब सुधार होइन, रूपान्तरण भन्ने शब्दलाई आफ्नो नीतिगत केन्द्र बनाउनु अनिवार्य छ ।
महाधिवेशन केवल एमालेको संगठनात्मक प्रक्रिया मात्र होइन, यो देशको राजनीतिक आत्मा पुनर्जीवित गर्ने दुर्लभ ऐतिहासिक क्षण पनि हो । आज सिंहदरबारदेखि गाउँबस्तीका युवासम्म सबैले एउटै प्रश्न गरिरहेका छन्– नेतृत्व बदलिन्छ कि फेरि उही चक्र दोहोरिन्छ ? यदि महाधिवेशनले युवा पुस्ताको आकांक्षा सुनेर, गुटभन्दा संस्थालाई ठुलो ठानी, दिगो दृष्टि र निडर निर्णयसहित नयाँ राजनीतिक दिशा दिन सकेन भने नेपाल फेरि केही दशकसम्म चरम असन्तोष, अविश्वास र राजनीतिक थकानमै अल्झिरहनेछ । यो केवल एक दलको विफलता होइन, राष्ट्रकै सामूहिक क्षतिमा परिणत हुनेछ ।
यदि यही महाधिवेशनले राजनीतिक साहस देखायो, परिवर्तनका ढोका खोल्यो, योग्य र जिम्मेवार नेतृत्वलाई अघि सार्यो र संस्थागत पुस्तान्तरणको नयाँ संस्कार स्थापित गर्यो भने नेपाल स्थिरता, विकास र भरोसाको नयाँ राजनीतिक युगमा प्रवेश गर्न सक्छ । युवाले देशभित्रै सम्भावना देख्नेछन्, जनताले फेरि राजनीतिक दलमा विश्वास गर्नेछन् र राष्ट्रले दीर्घकालीन योजनालाई निरन्तरता दिने क्षमता पुन: प्राप्त गर्नेछ । इतिहास कहिल्यै किनारामा बस्नेहरूले बनाउँदैनन् । महाधिवेशनसँग अहिले देशलाई मोड दिने शक्ति छ, तर प्रयोग गर्ने कि गुमाउने भन्ने निर्णय यसको हातमै छ । यसपटक प्रश्न सरल छ तर उत्तर गम्भीर रहेको छ । महाधिवेशनले इतिहास बनाउँछ कि इतिहास दोहोर्याउँछ ? इतिहास बनाउनेतर्फ एमाले अगाडि बढ्नुपर्छ ।