म्यानमारमा ४०० नेपाली अझै उद्धारको पर्खाइमा

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण
  • म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका थप ४७ (दुई महिला र ४५ पुरुष) नेपाली बुधबार स्वदेश फर्किए, म्यानमारको म्याओडी तथा म्यानमार, लाओस र कम्बोडियाको सीमा जोडिएको जंगल गोल्डन ट्र्यांगल क्षेत्रमा खुलेका अनलाइन स्क्यामिङमा अझै चार सय नेपाली उद्धारको पर्खाइमा

म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका थप ४७ जना नेपाली बुधबार स्वदेश फर्केका छन् । बैंककस्थित नेपाली दूतावासले थाइल्यान्ड सरकारसँग समन्वय र सहयोगमा उद्धार गरी उनीहरूलाई बुधबार नेपाल एयरलाइन्समार्फत स्वदेश फर्काइएको छ । उद्धार भएका २६ जिल्लाका नागरिक हुन्, जसमध्ये ४५ पुरुष र दुई महिला छन् । म्यानमारमा अरू सयौँ नेपाली उद्धारको पर्खाइमा छन् ।

दूतावासका अनुसार उद्धार गरिएकामा चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुमका एक–एक, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका दुई–दुई, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका तीन–तीन तथा झापाका पाँचजना छन् । दूतावासले जनाएअनुसार यीमध्ये एक १७ वर्षीय, २०–२५ वर्ष उमेर समूहका २६, २६–३० वर्षको उमेर समूहका १०, ३१–३५ वर्ष उमेर समूहका आठ, ४० वर्षका एक र ४१ वर्षका एकजना छन् ।

‘निजहरू प्राय: प्लस टु पास गरेका, सूचना प्रविधिसम्बन्धी अध्ययन गरेका छन् र उनीहरू स्क्यामिङ केन्द्रहरूमा दुई महिनादेखि १८ महिनासम्म आबद्ध भएको देखिएको छ,’ दूतावासले भनेको छ । चालू आर्थिक वर्षमा हालसम्म १४१ जना उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ । दूतावासका अनुसार त्यसअघि आर्थिक वर्ष ०८०/८१ मा ६८ र ०८१/८२ मा १५६ जनाको उद्धार भएको थियो । 

म्यानमारको म्याओडी तथा म्यानमार, लाओस र कम्बोडियाको सीमा जोडिएको जंगल गोल्डन ट्र्यांगल क्षेत्रमा खुलेका अनलाइन स्क्यामिङमा ३७ देशका मानिसले काम गरिरहेका छन् भने चिनियाँ र भारतीय नागरिकको संख्या ठुलो छ । त्यहाँ क्रिप्टोकरेन्सी, अनलाइन गेम, जुआ, अनलाइन डेटिङ र अनलाइन चिट्ठा खेलाउने गरिएको छ । अनलाइन स्क्यामिङका सञ्चालक चिनियाँ नागरिक छन् । 

औपचारिक च्यानलबाट नगएकाले संख्या यकिन नभए पनि कम्तीमा त्यहाँ चार सय नेपाली छन् र उनीहरू उद्धारको पर्खाइमा रहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् । ‘कम्तीमा पनि चार सयजना नेपाली त्यहाँ कार्यरत रहेको बुझिएको छ । तर, उनीहरू कतै रेकर्ड गराएर नगएको हुनाले कति छन् भन्ने स्पष्ट हुनै सकेको छैन,’ परराष्ट्रका एक अधिकारीले भने । 

उद्धार गरिएका व्यक्तिहरूको भनाइअनुसार साथीभाइ, अनलाइन साथी, पप्जीलगायत अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिबाट सम्पर्क गरी नेपाली त्यहाँ पुगेको पत्ता लागेको छ । ‘कोही–कोही भारतमा अध्ययन गर्दाको साथीमार्फत, कोही दुबईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत समेत त्यहाँ पुगेका रहेछन्,’ नेपाली राजदूत धनबहादुर ओलीले भने, ‘ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक, टेलिग्रामलगायत सामाजिक सञ्जालबाट घण्टाको यति कमाइन्छ भनी रोजगारीको प्रस्ताव आएपछि प्रलोभन परेर गएको देखिन्छ ।’ रोजगारीको प्रलोभनमा परी नजान दूतावासले अनुरोध गर्दै आएका छ । 

उद्धार भएकाले जनाएअनुसार गैरकानुनी रूपमा स्क्यामिङ केन्द्रमा पुगेकालाई केही महिना आरामदायी काम लगाउने र केही समयपछि कामको निश्चित लक्ष्य दिने गरिन्छ र पूरा नभए यातना दिइन्छ । दूतावासले प्रेस नोटमा भनेको छ, ‘सो पूरा गर्न नसके अन्य कुनै अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, निजहरूलाई बन्धक बनाई परिवारबाट फिरौती माग गर्ने, जेल पठाउने, हत्या गर्नेलगायतका यातनासमेत भोग्ने गरेको देखिएको छ । सट्टामा अर्को व्यक्ति नल्याएसम्म स्क्यामिङ केन्द्रबाट छुटकारासमेत नगराउने देखिएको छ ।’ 

विदेश जाने नाममा हतार नगर्न, राम्रोसँग बुझ्न तथा सामाजिक सञ्जाल, आफ्ना साथीभाइ आदिले प्रस्ताव गरेका वैदेशिक रोजगारीको आधिकारिकताको यथार्थता बुझ्न दूतावासले आग्रह गरेको छ । रोजगारदाताको आधिकारिकता बुझी नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पनि दूतावासले भनेको छ ।

उद्धार प्रक्रिया कस्तो छ ? 
दूतावासका अनुसार म्यानमारको म्यावाडीमा रहेका विदेशी नागरिकको स्वदेश फिर्तीलाई सहज बनाउन थाइल्यान्ड सरकारले एउटा कार्यसञ्चालन निर्देशिका बनाएको छ । निर्देशिकाअनुसार म्यानमारको सैनिक/प्रहरी तथा सम्बन्धित अधिकारीको सम्पर्कमा आई म्यानमारको सुरक्षा अधिकारीको नियन्त्रण/उद्धार केन्द्रमा आएका व्यक्तिहरूको जानकारी म्यानमारको परराष्ट्र मन्त्रालयलाई गराउने गरिएको छ । म्यानमारको परराष्ट्र मन्त्रालयले ती व्यक्तिहरूको मुलुकको राजदूतावास तथा थाइल्यान्डको परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने गरेको छ । त्यसपछि थाइल्यान्डको परराष्ट्र मन्त्रालयले थाइल्यान्डको टाक प्रान्त र सो प्रान्तमा रहेको माइसोट अध्यागमनलाई सहयोग गर्न अनुरोध गर्ने गरेको छ । 

‘नेपाली राजदूतावासले निजहरूसँग राहदानी भए–नभएको यकिन गर्छ र राहदानी नभएको हकमा एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्छ । थाइल्यान्ड सरकारसँग समन्वय गरी नेपाल फर्काउने दिन निश्चित गरी सो दिनको हवाई टिकट व्यवस्था गर्न सम्बन्धित व्यक्तिहरू/निजको घरपरिवारलाई अनुरोध गरिन्छ,’ दूतावासले भनेको छ । म्यानमारबाट दोस्रो थाई–म्यानमार मैत्रीपुल हुँदै थाइल्यान्डको माइसोट अध्यागमनबाट निजहरूलाई थाइल्यान्ड ल्याउने गरिएको छ ।

थाइल्यान्ड आइपुगेपछि उनीहरूको सामान्य स्वास्थ्य जाँच, मानव बेचबिखनका सम्भावित पीडितहरूको पहिचान गर्न सामान्य स्क्रिनिङ, अध्यागमन प्रक्रिया र सामान निरीक्षणसहित विभिन्न प्रक्रिया पूरा गर्ने गरिन्छ । थाइल्यान्डले बनाएको कार्यसञ्चालन निर्देशिकाअनुसार त्यहाँबाट उद्धार भएका व्यक्तिहरू आफ्नो मुलुकमा फर्केपछि सो मुलुकका सम्बन्धित अधिकारीले निजहरूउपर थप अनुसन्धान गर्छ । र, वास्तविक पीडकको पहिचान गरी कानुनी कार्यबाही गर्नसमेत थाइल्यान्ड सरकारले अनुरोध गरेको छ । 
 

सुझावित समाचार