गण्डकीका ११ अस्पताल व्यवस्थापन समितिमा कांग्रेस र एमालेले गरे भागबन्डा

६ अस्पताल कांग्रेस र पाँच अस्पताल एमालेको भागमा

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारले मातहतका ११ अस्पतालमा कांग्रेस र एमालेले भागबण्डाको आधारमा नयाँ व्यवस्थापन समिति गठन गरेका छन् । भागबण्डाअनुसार कांग्रेसको भागमा ६ र एमालेको भागमा पाँच अस्पताल परेका छन् ।

मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई दललाई भाग लगाउँदै नयाँ व्यवस्थापना समिति गठन गरेको हो । गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे र स्वास्थ्यमन्त्री एमालेका कृष्णप्रसाद पाठक रहेका छन् ।

यसअघि ३ भदौमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका सबै अस्पतालहरूको व्यवस्थापन समिति खारेज गरेको थियो । सोही दिनको मन्त्रिपरिषद् बैठकले अस्पताल र आयुर्वेद अस्पताल व्यवस्थापन समिति गठन आदेश ०८२ समेत स्वीकृत  गरेको थियो । सोहीअनुसार अस्पतालहरूमा नयाँ समिति गठन गरिएका हुन् । प्रदेशमा अस्पताल व्यवस्थापन समिति गठन आदेश, ०७७, ०७८ मा त्यसको पहिलो संशोधन, ०८० मा पुरानो आदेश खारेज गर्दै नयाँ आदेश र ०८२ सालमा पुरानोलाई खारेज गर्दै पुनः अर्को नयाँ गठन आदेश ल्याइएको हो । प्रदेश मातहत १४ अस्पताल र दुई आयुर्वेद अस्पताल सञ्चालनमा रहेका छन् ।

दुई दलले गरेको भागबण्डाअनुसार कांग्रेसको भागमा दमौली, मध्यविन्दु, मुस्ताङ, लमजुङ, पर्वत, बुर्तिबाङ अस्पताल र एमालेको भागमा पोखरा लेखनाथको जनरल तथा सरुवा रोग, स्याङ्जा, धौलागिरी प्रादेशिक, बेनी, मनाङ अस्पताल परेको छ । भागमा परेका अस्पतालमा दुई दलले आफु निकट व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

जसअनुसार तनहुँको दमौली अस्पतालमा कमलामोहन वाग्ले, नवलपुरको मध्यविन्दु अस्पतालमा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकाली, लमजुङ अस्पतालमा विजय गुरुङ, पर्वत अस्पतालमा यामबहादुर नेपाली, बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कमल भुषाल अध्यक्षमा नियुक्त भएका छन् ।

यसैगरी पोखरा लेखनाथस्थित जनरल तथा सरुवा रोग अस्पतालमा ऋषिराज जम्मरकट्टेल, स्याङ्जा अस्पतालमा डिलकुमार भुजेल, धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा श्रीप्रसाद शर्मा, म्याग्दीको बेनी अस्पतालमा डेकबहादुर बानियाँ, मनाङ अस्पतालमा अर्विण गुरुङ  अध्यक्षमा नियुक्त भएका सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले जानकारी दिए ।

सुझावित समाचार