काठमाडौंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायर्समा

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण
काठमाडौंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायर्समा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको इलिमिनेटरमा लुम्बिनीले काठमाडौं गोर्खाजलाई ४ विकेटले हरायो।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १२ रनको  लक्ष्य दिएकाे थियो। प्रत्युत्तरमा लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै विराटनगरसँगको भेट तय गरेकाे हाे।

अब लुम्बिनीले फाइनल प्रवेश गर्न बिहीबार विराटनगरसँग खेल्ने छ।  पहिलो क्वालिफायर्समा सुदूरपश्चिमसँग पराजित भएर फाइनल पुग्न चुकेको विराटनगरलाई उपाधि जित्न अझै एक मौका छ।

यसअघि काठमाडौं १० अंकसहित तेस्रो र आठ अंकको लुम्बिनी चौथो स्थानमा रहँदै पहिलोपटक प्लेअफमा स्थान बनाएका थिए। फाइनल पुगेको सुदूरपश्चिम राेयल्स १२ अंकसहित शीर्ष स्थानमा रहेको थियो। विराटनगर भने १० अंकसहित दोस्रो स्थानमा रह्यो।

लुम्बिनीको लागि डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए। रसिद खानको बलमा जाेन सिम्पसनबाट क्याच आउट हुनुअघि उनले ३४ बलमा २ छक्का हिर्काएका थिए। सन्दीप जोराले २३ बलमा २३ रनकै योगदान गरे। कप्तान रोहित पौडेलले साहब आलमबाट बोल्ड हुनुअघि १८ रन बनाएका थिए। रोहित एनपिएलमा ५०० रन बनाउने पहिलो नेपाली खेलाडी बने। निरोशान डिकवेलले १४ रन बनाए। ओपनर दिनेश अधिकारीले मात्र ४ रन जाेड्न सके।

काठमाडौंका सन्तोष यादवले २ विकेट लिँदा करण केसी, सन्नी पटेल, सहाब आलम र रसिद खानले समान एक विकेट हात पारे।

यसअघि खराब सुरुआत गरेको काठमान्डूले पावरप्लेमै चार विकेट गुमाएर २९ बनाएको थियो। काठमान्डूका सन्तोष यादवले सर्वाधिक २३ रन बनाउँदा माेहम्मद आदिल आलम र जोन सिम्सनले समान १८ रनकाे याेगदान गरे। भिम सार्की १४, सन्तोष यादव ११ र कप्तान करण केसीले ९ रन मात्रै बनाए।

लुम्बिनीका शेर मल्ल र कप्तान रोहित कुमार पौडेलले समान ३ विकेट लिए। रुवेन ट्रम्पलमेनले २ तथा अभिशेष गौतमले १ विकेट लिए।

सुझावित समाचार