बर्दियामा अभिभावकविहीन बालक बेपत्ता भएका छन्। मधुवन नगरपालिका– १ पत्थरभोझीस्थित सरस्वती आधारभूत विद्यालयको कक्षा ५ मा पढ्ने १२ वर्षीय वसन्त रानाभाट बेपत्ता भएका हुन्।
मधुवन नगरपालिकाले अभिभावकबिहिन बालबालिकालाई पत्थरभोझीमा रहेको सरस्वती आधारभूत विद्यालयमा राख्दै आएको छ। पालिकाले विभिन्न जिल्लाबाट ल्याएर अभिभावकबिहिन बालबालिकालाई विद्यालयमा छात्राबास बनाएर राखेको छ।
पालिकाले विद्यार्थी राखेको क्षेत्र वन्यजन्तु हिँड्ने करिडोरसँग जोडिएको र विद्यालय नजिकको सामुदायिक वन बाघ, चितुवा, गैंडालगायतका वन्यजन्तुको बासस्थान हो। पालिकाले वन्यजन्तुको उच्च जोखिम रहेको स्थान हो भन्ने जान्दाजान्दै बालबालिकालाई त्यहाँ राखेको छ।
मंगलबार गेरूवा नदी किनारमा खेल्न गएका बालबालिकामध्ये रानाभाट खोलामा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए। उनले भने, ‘बालकले लगाएको कपडा र जुत्ता विद्यालय नजिक रहेको गेरूवा खोलामा फेला परेको छ। दिनभर बालकको खोजी गर्दा पनि फेला पार्न सकिएन।’
प्रहरी निरीक्षक कार्कीले भोलि बिहीबार गोताखोर बोलाएर बालकको खोजी गरिने जानकारी दिए।