आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस पर्साले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।
सोमबार बसेको कांग्रेसको चारवटै क्षेत्रको क्षेत्रीय समितिको बैठकले आ–आफ्नो उम्मेदवारको नाम सिफारिस गरेको नेपाली कांग्रेस पर्साले जनाएको छ।
क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि संविधान सभा सदस्य अनिल कुमार रुगंटाको एकल सिफारिस भएको छ। कांग्रेस केन्द्रीय सदस्य रहेका उनी ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए।
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री अजयकुमार चौरसिया, पूर्वसांसद राजेन्द्र बहादुर अमात्य र युवा नेता राकेश यादवको नाम सिफारिस भएको क्षेत्रीय सभापति महमद साहबुद्धिनले जानकारी दिए। चौरसिया यसअघि तीनपटक सांसद भइसकेका छन्।
यसैगरी, क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको उम्मेदवारका लागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद चौधरी र कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीको नाम सिफारिस भएको छ। गत निर्वाचनमा पराजित भएका कांग्रेसका पुराना नेता चौधरी पर्साका पार्टी सभापति, सांसद र मन्त्री बनिसकेका छन्। क्षेत्री यसअघि निर्वाचन क्षेत्र नं ३ को (२) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
उता, पर्सा क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिस भएको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी दिए। निवर्तमान प्रतिनिधिसभा सदस्य रहेका रिजाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भइसकेका छन्।