नेप्से २६ सय विन्दुनजिक

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर २६ सय विन्दुनजिक पुगेको छ। नेप्से ३.०२ अंकले ओरालो लागेर २६ सय ६.६७ विन्दुमा कायम भएको हो। लगातार छैटौँ दिन पनि नेप्सेमा गिरावट आएको हो।

आज ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ६६ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आइतबार पाँच अर्ब २७ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो।

नेप्सेका १३ समूहमध्ये पाँच समूहको सूचक बढ्दा बाँकी समूह घटेका छन्। जलविद्युत्, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूह एक प्रतिशतभन्दा कमले उकालो लाग्दा बाँकी समूह पनि एक प्रतिशतभन्दा कमले गिरावट भएका हुन्।

नेप्से घटे पनि आज अपर सांगे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, इङ्वा हाइड्रोपावरको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरैले बढेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ता छन्। उक्त कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटेको छ।

सुझावित समाचार