धनकुटामै वाइन उद्योग खुलेपछि किबी किसानलाई राहत

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

धनकुटाको महालक्ष्मी नगरपालिका– २, मारेकटहरे तोरीबारीका दुर्गामणि पौडेलले वाइन उद्योग सञ्चालन गरेका छन्। वसन्तपुर तीनजुरे बेभरेज प्रालिले सञ्चालनमा ल्याएको तीनजुरे किबी उद्योगले ‘तीनजुरे बगान वाइन’ उत्पादन सुरु गरेको हाे। उद्योग सञ्चालनमा आएसँगै स्थानीयले रोजगारी पाउनुको साथै स्थानीय कृषकहरूले उत्पादन गरका किबी पनि खपत हुँदै आएको छ।

१० करोड रुपैयाँको लगानीमा पौडेलले उद्योग खोलेका हुन्। यसमा कृषि मन्त्रालयले २५ लाख र विश्व बैंकको सहयोगमा सञ्चालित आर्थिक करिडोर कार्यालयले ७० लाख रुपैयाँ अनुदान सहयोग गरेका छन्।

२८ वर्षअघि गाउँ छोडेर अन्यन्त्र बसाइँ सरेका पौडेल ०७४ सालमा पुनः गाउँ फर्केका थिए। गाउँ फर्केसँगै उनले आफ्नै एक सय रोपनी जग्गामा किबी खेती पनि गरेका छन्। आफूले किबी खेतीसँगै किबीको वाइन उद्योग खोलेपछि स्थानीय किसानले लगाएको किबी पनि खपत हुँदै आएको उद्योगका सञ्चालक पौडेलले बताए।

उनले भने, ‘यहाँ वरिपरि उत्पादन भएको किबी त उद्योगमा खपत हुन्छ नै। थप आवश्यक परेको अवस्थामा छिमेकी जिल्लाहरूबाट पनि किबी खरिद गर्दै आएको छु।’ उद्योगबाट वार्षिक तीन लाख लिटर वाइन उत्पादन हुन्छ। उद्योगबाट वार्षिक करिब ३० करोड रुपैयाँ आम्दानी गर्दै आएका पौडेलले ल्याब टेस्ट गरेर अर्गानिक किबी खरिद गरेर वाइन उत्पादन गर्दै आएको बताए।

वाइन उद्योगको क्षमता वार्षिक पाँच सय टनको भए पनि हाल कम मात्रामा मात्रै वाइन उत्पादन गर्दै आएका छन्। केही समयपछि पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्ने योजना रहेको उनले सुनाए। अहिले उनले पाँचजनालाई नियमित रोजगारी दिँदै आएका छन्। सिजनमा १५ देखि २० जनासम्मलाई रोजगारी दिने गरेको उनले बताए।

उद्योग सञ्चालनअघि स्थानीय कृषकहरूले किबीको बजार नपाउने समस्या झेल्दै आएका थिए। तर, अहिले गाउँमौ वाइन उद्योग खुलेपछि बजारको समस्या नभएको कृषक तिलबहादुर पौडेलले बताए। गत वर्ष स्थानीय कृषकले उत्पादन गरेको किबी ग्रेड छुट्याएर प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा उद्योगले खरिद गरेको थियो।

सुझावित समाचार