भारतको गोवा राज्यको अर्पोरा गाउँमा रहेको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पर्यटक र १४ जना कर्मचारी रहेको प्रहरीले जनाएको छ । सरकारले यस त्रासदीको अनुसन्धान गर्न आदेश दिएको छ । आइतबार मध्यरातमा नाइटक्लबमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको अनुसन्धानको आदेश दिँदै दोषीविरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन् । ‘आगलागीको कारण पहिचान गर्न अनुसन्धानको आदेश दिएको छु,’ मुख्यमन्त्री सावन्तले भने । द टाइम्स अफ इन्डियाका अनुसार आगलागीमा ५० जना घाइते पनि भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीपछि सावन्तसँग कुरा गरेको र शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गरेको बताए । प्रत्येक पीडित परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति प्रदान गर्ने मोदीले बताएका छन् । ‘गोवाको अर्पोरामा भएको आगलागी दुःखद छ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा भने, ‘घाइतेको शीध्र स्वास्थ्य लाभको कामना गर्छु ।’ सामाजिक सञ्जालमा प्रसारित तस्बिरमा उद्धारकर्मीले धेरै मानिसलाई आपत्कालीन सवारी साधनमा अस्पताल ओसारपसार गरिरहेको देखाइएको छ । अनलाइन पोस्ट गरिएका भिडियो क्लिपमा क्लबको तल्लो भवनबाट आगोका लप्का र बाक्लो धुवाँको मुस्लो उडिरहेको देख्न सकिन्छ ।
पीडितमध्ये तीनजनाको जलेर र बाँकीको निसास्सिएर मृत्यु भएको थियो । पीडितमध्ये कम्तीमा तीनजना महिला थिए । आगलागी भएको ठाउँनजिकै काम गर्ने एक सुरक्षा गार्डका अनुसार आगो ग्यास सिलिन्डरबाट लागेको थियो । ‘हामीले पछि थाहा पायौँ कि सिलिन्डर विस्फोटपछि आगो लागेको थियो,’ गार्डले भने । सानो तटीय राज्य गोवा, विशेषगरी विदेशीमाझ लोकप्रिय पर्यटकीय गन्तव्य हो, जहाँ समुद्र तट र पहाडी परिदृश्य छन् । सरकारी तथ्यांकअनुसार वर्षको पहिलो ६ महिनामा विदेशबाट आएका दुई लाख ७१ हजारसहित लगभग ५५ लाख पर्यटकले गोवाको भ्रमण गरेका थिए ।
खराब निर्माण अभ्यास, अत्यधिक भिडभाड र सुरक्षा नियमको पालनाको अभावका कारण भारतमा आगलागी सामान्य छ । मे महिनामा भारतीय सहर हैदराबादमा तीनतले भवनमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो । त्यसको एक महिनाअघि कोलकाताको एक होटेलमा भीषण आगलागी भएको थियो, जसमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । केही मानिस भाग्नका लागि झ्यालबाट बाहिर निस्केका थिए । गत वर्ष पश्चिमी राज्य गुजरातमा खचाखच भरिएको मनोरञ्जन पार्क आर्केडमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।
फाइल तस्बिर