साबिक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आठौँ स्थानमा रहँदै यात्रा टुंग्याएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार लिग चरणको अन्तिम खेलमा जनकपुरले कर्णाली याक्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यो खेलमा पराजित हुने टोली पुछारमा रहने समीकरण थियो । स्लो स्कोरिङ खेलमा जनकपुर कर्णालीसँग ३ रनले पराजित भयो ।
चालू एनपिएलमा दोस्रो जित निकालेको कर्णालीले भने रनरेटका आधारमा छैटौँ स्थानमा रहँदै यात्रा सकाएको छ । कर्णाली र चितवन राइनोजको समान ४ अंक भए पनि रनरेटमा चितवन सातौँ स्थानमा रह्यो । पहिलो ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १२९ रन जोडेको थियो । १३० रनको सहज लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेटको क्षतिमा १२६ रन मात्र बनायो ।
यसअघि कर्णाली लगातार चार खेलमा पराजित भएको थियो । पोखरासँग ३४ रन, काठमाडौंसँग पाँच विकेट, विराटनगरसँग तीन विकेट तथा सुदूरपश्चिमसँग ४५ रनले लगातार खेलमा हारेको थियो । कर्णालीले आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो । जनकपुरको एक मात्र जित चितवनविरुद्ध रह्यो । उसले चितवनलाई ६ विकेटले हराएको थियो । जनकपुर काठमाडौंविरुद्ध पाँच विकेट, विराटनगरविरुद्ध नौ विकेट, पोखराविरुद्ध २५ रन, सुदूरपश्चिमविरुद्ध ६ विकेट तथा लुम्बिनीसँग चार विकेटले पराजित भएको थियो ।
कर्णाली र जनकपुरबिचको खेलसँगै दोस्रो एनपिएलको लिग चरणका खेल सकिएका छन् । लिगमा सुदूरपश्चिम रोयल्स शीर्ष र दोस्रो स्थानमा विराटनगर किंग्स छन् । सुदूरपश्चिम र विराटनगरबिच पहिलो क्वालिफायर हुनेछ । तेस्रो स्थानको काठमाडौं गोर्खाज र चौथो लुम्बिनीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।
अन्तिम ओभरमा जनकपुरले जोड्यो १० रन
दोस्रो इनिङ्समा लक्ष्य पछ्याउँदा पिच स्लो भइसकेको थियो । पहिलो १० ओभरमा कमजोर सुरुवात गरेको जनकपुर त्यसपछि आक्रामक बन्यो । सञ्जय कृष्णमूर्ति र संगिथ कुरेले पाँचौँ विकेटका लागि ७५ रनको साझेदारी गर्दै जनकपुरलाई जितको आशा दिलाएका थिए । दुवैले आवश्यक रनरेट सुधार गर्दै टोलीलाई २९–४ बाट उकासेका थिए । तर, इनिङ्सको १६.६ ओभरमा कुरे सोमपाल कामीबाट क्याच आउट भए । कुरेले ३२ बलमा २५ रन बनाए ।
इनिङ्सको १९.१ ओभरमा सञ्जयले गुल्सन झाबाट क्याच आउट भए । उनले ३९ बलमा चार छक्का र एक चौका प्रहार गरी सर्वाधिक ५१ रनको योगदान दिएका थिए । यसअघि जनकपुरलाई जितका लागि अन्तिम ओभरमा १४ रन बनाउनुपर्ने थियो । क्रिजमा कृष्णमूर्ति थिए । नन्दन यादवले फ्याँकेको बलमा उनले गुल्सनलाई क्याच दिन पुगे ।
जनकपुरका लागि नामिबियाका जान निकोल इटन क्रिजमा थिए । उनले नौ बलमा दुई चौका प्रहार गरी १३ रन बनाए । इनिङ्सको अन्तिम बलमा जनकपुरलाई ४ रन बनाउनुपर्ने थियो । आदित्य महता रन लिने प्रयासमा आउट भए । आदित्य रन आउट हुँदा कर्णालीले ३ रनको रोमाञ्चक जित निकाल्यो । यो ओभरमा जनकपुरले महत्वपूर्ण दुई विकेट गुमाएको थियो ।
कर्णालीको कसिलो बलिङ
कृष्णमूर्ति र सञ्जयबिचको पाँचौँ विकेटका लागि साझदोरी चलिरहँदा जनकपुर प्रतिस्पर्धामा माथि रहेको थियो । तर, कर्णालीले लिगकै अन्तिम खेलको डेथ ओभरमा उत्कृष्ट बलिङ प्रदर्शन गर्यो । यसमा दीपेन्द्र रावत, नन्दन तथा सोमपालले स्तरीय बलिङ प्रदर्शन गर्दा जनकपुर लक्ष्यसम्म पुग्न सकेन । सोमपालले १०औँ ओभरपछि दुईपटक बलिङ गरी ११ रन खर्चेर एक विकेट लिए । नन्दनले तीन ओभरमा २३ रन दिँदै एक विकेट लिए । अन्तिम खेलमा अवसर पाएका दीपेन्द्रले २९ रन दिए ।
यसअघि जनकपुरले पावर प्लेमा कमजोर ब्याटिङ गर्यो । पावर प्लेमा जनकपुरले दुई विकेट गुमाएर २६ रन जोडेको थियो । १० ओभरको समाप्तिसम्म जनकपुरले स्कोर बोर्डमा चार विकेट गुमाएर ४० रन बनाएको थियो । आसिफ शेख र अनिल साह शून्यमा आउट भए । विलियम बोसिस्टो, मार्क वाट र पवन सर्राफले एक–एक विकेट लिँदा जनकपुरले पहिलो १० ओभरमा फितलो ब्याटिङ गरेको हो । कर्णालीले आफ्नो अन्तिम खेलमा इमरान शेखलाई अवसर दिएको थियो । सुरुवातमै ब्याटिङ गरेको कर्णालीका लागि ओपनर इमरानले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ३२ बलमा समान एक चौका र छक्का प्रहार गरे ।
अन्तिम खेलमा चार खेलाडी परिवर्तन
दोस्रो संस्करणको एनपिएलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सले आइतबार आफ्नो अन्तिम खेलमा खेलाडी परिवर्तन गरेका छन् । जनकपुर बोल्ट्ससँगको प्रतिस्पर्धामा कर्णालीले नियमित खेलाडीको स्थानमा दीपेन्द्र रावत र इमरान शेखलाई मौका दिएको हो । इमरानले एनपिएलमा डेब्यु गरेको खेलमै ओपनिङको अवसर पाए । उनले डेब्युमा ३३ रन जोडेका थिए ।
यसैगरी अर्को खेलाडी दीपेन्द्रले ११औँ क्रममा ब्याटिङ गरी २ रन बताए । यसैगरी जनकपुरले पनि कर्णालीविरुद्ध दुई खेलाडी परिवर्तन गरेको थियो । तुलबहादुर थापामगर र पप्पु यादवले मौका पाए । ट्यालेन्ट हन्टबाट छनोट भएका पप्पुसहित तुलबहादुरले दोस्रो सिजनमा डेब्युको मौका पाए । बलिङमा तुलबहादुरले दुई ओभरमा १५ रन खर्चेका थिए । जनकपुरविरुद्ध बलिङ गरेका दीपेन्द्रले तीन ओभरमा २९ रन खर्चेका थिए । पप्पुले भने ब्याटिङ र बलिङ गर्न पाएनन् ।
खेलपछिका भनाइ
सिजनको समीक्षा गर्नुपर्छ
सोमपाल कामी, कप्तान, कर्णाली
जनकपुर बोल्ट्सविरुद्ध १३० रन रक्षा गर्न सकिने आत्मविश्वास थियो । यो पिचमा स्लो स्कोरिङ रक्षा भएको उदाहरण छन् । जनकपुरविरुद्ध सुरुदेखि अन्तिमसम्म योजनाबद्ध रूपमै बलिङ भएको थियो । अन्तिम दुई ओभरमा नन्दन र मैले योर्कर फ्याँकेर दबाबमा राख्ने रणनीति बनायौँ । यद्यपि, हामीसँग स्पिनर कमी हुँदा फास्टबलरमाथि दबाब बढेको हो ।
चालू एनपिएलमा केही न केही कमजोर भयो । सोचेजस्तो केही पनि हुँदैन । चितवन र विराटनगरसँगको खेल गुमाएकाले पनि प्लेअफ दौडबाट बाहिरिएका हौँ । यी दुवै खेलमा धेरै गल्ती गरेका थियौँ । अब कर्णालीले दोस्रो एनपिएलको समीक्षा गर्नुपर्छ । अर्को सिजनमा उत्कृष्ट टोलीका रूपमा आउनुपर्छ । विदेशी स्टार खेलाडीसँग घरेलु युवा खेलाडीले डे«सिङ रुम सेयरिङ गर्ने अवसर पाएका छन् । एनपिएलको यो एउटा राम्रो अनुभव हो । हामीले यस्तो अवसर कमै पाउँछौैँ ।
फराकिलो जितको अन्तर
विराटनगर किंग्स २२०/६पोखरा एभेन्जर्स १६७/१० विराटनगर ५३ रनले विजयी
दोस्रो संस्करणको लिग चरणमा विराटनगर र पोखराले तेस्रो खेलमा प्रतिस्पर्धा गरेका थिए । खेलमा विराटनगरले ५३ रनको अन्तरले जित निकाल्यो । पहिलो ब्याटिङ गरेको विराटनगरले लोकेश बमको ७२ रनको सहयोगमा ६ विकेट गुमाएर २२० रन बनायो । प्रत्युत्तरमा पोखराले १८.५ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र जोड्दा विराटनगरले चालू एनपिएलमा ठुलो अन्तरको जित आफ्नो नाममा लेखायो । लोकेशले ४८ बलमा सात छक्का र एक चौका प्रहार गरे । न्युजिल्यान्डका मार्टिन गुप्तिलले ३५ बलमा पाँच छक्का र तीन चौका प्रहार गरी ६१ रन जोडे । विराटनगरका लागि मर्चान्ट डी लांगे, प्रतिश जिसी, शुभम रन्जने तथा सन्दीप लामिछानेले समान दुई विकेट हात पारेका थिए ।
काठमाडौं गोर्खाज १४२/१०चितवन राइनोज ८९/१० काठमाडौं ५३ रनले विजयी
चालू एनपिएलअन्तर्गत १५औँ खेल लो स्कोरिङ भएको थियो । काठमाडौंले सुरुवातमा ब्याटिङ गरी १९.४ ओभरमा सबै विकेटको क्षतिमा १४२ रन जोड्यो । चितवनले सहज मानिएको लक्ष्य भेट्टाउन सकेन । १७.२ ओभरमा चिवतन ८९ रनमै समेटियो । काठमाडौंले यो खेल ५३ रनले बाजी मारेको थियो । काठमाडौंका विकेटकिपर ब्याट्सम्यान जोन सिम्पसनले २९ बलमा ६० रन र दुई ब्याट्सम्यानलाई स्टम्पिङ गरे । उनले पाँच छक्का र तीन चौका प्रहार गरेका थिए । पाकिस्तानका सोहेल तनभिरले चार विकेट लिँदा काठमाडौं अलआउट भएको थियो । प्रत्युत्तरमा चिवतनका लागि देव खनाल तथा रवि बोपाराले समान २१ रनको योगदान दिए । रासिद खानले १.२ ओभरमा ३ रन खर्चेर तीन विकेट लिँदा काठमाडौंले ५३ रनको जित निकाल्यो ।
सुदूरपश्चिम १६९/४ चितवन राइनोज १२०/१० सुदूरपश्चिम ४९ रनले विजयी
सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच एनपिएलको २४औँ खेल भएको थियो । सुदूरपश्चिमले चितवनमाथि ४९ रनको जित निकाल्यो । यो एनपिएलकै तेस्रो फराकिलो जित अन्तर रह्यो । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो । क्रिस लियनले ५६ बलमा ७५ रनको योगदान दिए ।
प्रत्युत्तरमा चितवनले १७.१ ओभरमा १२० रन बनाउँदा तेस्रो फराकिलो हारको सामना गर्यो । लक्ष्य पछ्याएको चिवतनको इनिङ्समा रवि बोपाराले सर्वाधिक २९ तथा देव खनालले २८ रनको योगदान दिएका थिए । सुदूरपश्चिमलाई सानदार जित दिलाउने क्रममा पुनीत मेहराले २.१ ओभरमा १४ रन खर्चेर तीन विकेट हात पारेका थिए ।
चितवन राइनोज १७४/५विराटनगर किंग्स १२६/१०चितवन ४८ रनले विजयी
चालू एनपिएलमै सर्वाधिक योगफल बनाएको विराटनगर किंग्सले चौथो ठुलो अन्तरको हार निकालेको छ । एनपिएलअन्तर्गत १२औँ खेलमा विराटनगरले चितवन राइनोजविरुद्ध प्रतिस्पर्धा गरेको थियो । खेलमा चितवन ४८ रनले विजयी भयो । पहिलो ब्याटिङ गरेको चितवनले पाँच विकेट गुमाएर १७४ रन बनायो । विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रन जोडेको थियो । चितवनको सानदार जितमा रञ्जित कुमारले घातक बलिङ गरी २१ रन खर्चेर पाँच विकेट लिएका थिए । यसअघि चितवनका रवि बोपाराले ३८ बलमा चार छक्का र तीन चौका प्रहार गरी सर्वाधिक ६५ रन जोडेका थिए । विराटनगरको ब्याटिङमा मर्चन्ट डी लांगेले २२ बलमा चार छक्का र दुई चौका प्रहार गरी ३९ रन जोडेका थिए । प्रतिश जिसीले १२ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ३० रनको योगदान दिँदा विराटनगरले सय रनमाथिको योगफल कटाएको थियो ।
सुदूरपश्चिम रोयल्स १३९/९कर्णाली याक्स ९४/१० सुदूरपश्चिम ४५ रनले विजयी
सुदूरपश्चिमले फर्ममा रहेको कर्णालीविरुद्ध १०औँ खेलमा प्रतिस्पर्धा गरेको थियो । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो । १४० रन सहज लक्ष्य थियो, तर कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गर्दा सुदूरपश्चिमले १३९ रन रक्षा गर्यो । कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोड्दा सुदूरपश्चिम ४५ रनले विजयी भयो । दीपेन्द्रसिंहले ब्याटिङमा २८ बलमा ३९ रन तथा बलिङमा २३ रन खर्चेर चार विकेट हात पारेका थिए ।

