वर्तमान भूराजनीति र नयाँ समाजवादको खोज

नेपाल ‘भूराजनीतिक खेलाडी’ बन्न खोजेर कुनै एक ध्रुवमा ढल्कियो भने त्यसले निम्त्याउने आर्थिक र सुरक्षाको जोखिम कल्पनातीत हुनेछ

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

विचार आफ्नो युगको बौद्धिक सार तत्व हो । कुनै कालखण्डको समय, स्थान, समाजको विकासक्रम, विज्ञान र प्रविधिको प्रगति तथा विविध ज्ञानका शृंखलाको एकीकृत र संश्लेषित रूप नै मानवीय सामाजिक व्यवहार हो । आदिम साम्यवाददेखि आजको डिजिटल युगसम्म आइपुग्दा मानिसले बाँच्नका लागि प्रकृतिसँग गरेको संघर्ष, उत्पादनमा गरेको संघर्ष र वर्गसंघर्ष नै ज्ञान प्राप्तिका आधारभूत स्रोत हुन् ।

सही ज्ञान र विज्ञानको आधारमा संसारलाई बदल्नु नै विचारको सही संश्लेषण हो । विचारले व्यवहारलाई र व्यवहारले विचारलाई निरन्तर दिशानिर्देश गरिरहेको हुन्छ । आजको विश्वमा मार्क्सवाद वा समाजवादी विचारधारा सतहमा हेर्दा रक्षात्मक वा कमजोर देखिए पनि अन्तरनिहित रूपमा यो पुँजीवादी संकटको एक मात्र सशक्त विकल्पका रूपमा पुनः अगाडि आइरहेको छ ।

आजको पुँजीवादी विचारले आफ्नो परम्परागत चरित्र गुमाएर पूर्णतः साम्राज्यवादी र ध्वंसात्मक स्वरूप ग्रहण गरेको छ । यसको वास्तविक आत्मा अब ‘युद्ध पुँजीवाद’मा परिणत भएको छ । हिजोको उदारवाद र नवउदारवाद हुँदै आज यो वित्तीय पुँजीवाद र दलाल पुँजीवादको चरणमा प्रवेश गरेको छ ।

आफ्नो आयु लम्ब्याउन यसले उत्तरआधुनिकतावादको सहारा लिइरहेको छ, जसले सत्यलाई सापेक्षताका नाममा खण्डित गर्छ । सन् १९९१ मा सोभियत संघको विघटनसँगै फ्रान्सिस फुकुयामाजस्ता विद्वान्ले ‘इतिहासको अन्त्य’ र समाजवादको एकतर्फी अन्त्य भएको घोषणा गरेका थिए । तर, त्यो एकध्रुवीय अमेरिकी विश्व व्यवस्था आज तीन दशक नबित्दै बहुधु्रवीय संक्रमणको कालगतिमा फसेको छ ।

शक्ति राष्ट्र आज आणविक हतियार, स्वचालित युद्ध प्रणाली र अन्तरिक्ष कब्जा गर्ने होडबाजीमा छन् । पुँजीवादले आफ्नो संकट टार्न उत्तरआधुनिकतावादी विचारमार्फत वर्गीय आन्दोलनलाई ‘लोकप्रियतावादी’ आन्दोलनमा बदल्ने रणनीति लिएको छ । विज्ञान र प्रविधिको दुरुपयोग गर्दै युवाको सपना मार्ने, उनीहरूलाई निराश बनाउने र सामाजिक असन्तुष्टिलाई वर्गीय दृष्टिकोणबाट होइन, ‘जेनेरेसनल’को कोणबाट विघटन गर्ने खतरनाक खेल भइरहेको छ । ‘जेन–जी’का नाममा युवाको आक्रोशलाई पुँजीवादले आफ्नो स्वार्थसिद्ध गर्न प्रयोग गरिरहेको छ ।

आजको विश्वमा माक्र्सवाद वा समाजवादी विचारधारा सतहमा हेर्दा रक्षात्मक वा कमजोर देखिए पनि अन्तरनिहित रूपमा यो पुँजीवादी संकटको एक मात्र सशक्त विकल्पका रूपमा पुनः अगाडि आइरहेको छ

सन् ०२४/२५ को छोटो अवधिमै बंगलादेश, केन्या, इन्डोनेसिया, मोरक्को, मडागास्कर, नेपाल, पेरु, फिलिपिन्सजस्ता दर्जनौँ राष्ट्रमा देखिएका जेन–जी विद्रोहहरू स्वस्फूर्त मात्र छैनन्, यसमा भूराजनीतिक खेलको गन्ध पनि छ । अमेरिकाले आफ्नो खस्कँदो साख जोगाउन करका दर वृद्धिमार्फत व्यापार युद्ध, रुस र चीनलाई घेराबन्दी गर्न युक्रेन र मध्यपूर्वमा प्रोक्सी युद्ध र साना देशमा गृहयुद्ध, सैनिक कु वा ‘कलर रिभोलुसन’मार्फत सरकार परिवर्तन गर्ने रणनीति अपनाएको छ । इन्डो–प्यासिफिक रणनीति र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ता रणनीतिक परियोजना यही रणनीतिका हिस्सा हुन् ।

दक्षिणपूर्व एसिया, दक्षिण एसिया र समग्र एसिया आज शक्ति राष्ट्रहरूको भूराजनीतिक क्रिडास्थल बनेको छ । भारतको रणनीतिक तटस्थतालाई यो साता पुटिनको आगमनले थप पुष्टि मात्र गरेको छैन, यसले विश्वको भूराजनीतिमा ठुलो तरंग पैदा गरेको छ । चीनविरुद्ध अमेरिकी अस्थिरताको प्रयासले दक्षिण एसिया नयाँ शीतयुद्धको केन्द्र बन्दै छ ।

यद्यपि, आणविक हतियारको त्रासले शक्ति राष्ट्रहरूले प्रत्यक्ष तेस्रो विश्वयुद्ध रोकेका छन्, तर अप्रत्यक्ष विश्वयुद्ध भने सुरु भइसकेको छ । संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, आइएमएफ, विश्व बैंकजस्ता पश्चिमा नेतृत्वका संस्था कमजोर र औचित्यहीन बन्दै जाँदा ब्रिक्स, सांघाई सहयोग संगठन, युरेसियन आर्थिक संघ, न्यू डेभलपमेन्ट बैंकजस्ता ‘ग्लोबल साउथ’का संस्थाको सामूहिक आवाज बलियो बन्दै गएको छ ।

तथ्यांक हेर्दा विश्व उत्पादनमा अमेरिकाको हिस्सा २५ प्रतिशतबाट घटेर १६ प्रतिशतभन्दा तल झरेको छ भने चीनको हिस्सा १८.६ प्रतिशतभन्दा माथि पुगेको छ । यसले स्पष्ट रूपमा पश्चिमको पतन र पूर्व–दक्षिणको उदयलाई संकेत गर्छ । यसले एसियालाई पुनः विश्वको उत्पादन र शीतयुद्धको केन्द्र बनाएको छ । अमेरिका र पश्चिमी गठबन्धनले आफ्नो गुम्दै गरेको विश्व नियन्त्रण कायम राख्न युद्ध र द्वन्द्वको सहारा लिइरहेका वेला चीनले समानता, संवाद र साझा विकासलाई जोड दिई बहुधु्रवीय विश्वको आधार तयार पारिरहेको छ ।

चीनका तीन प्रमुख पहल– ग्लोबल डेभलपमेन्ट इनिसिएटिभले ८० भन्दा बढी देशमा दिगो विकास, ग्लोबल सेक्युरिटी इनिसिएटिभले संवादबाट द्वन्द्व समाधान र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभले सांस्कृतिक सद्भावको वकालत गर्दा विश्वलाई नयाँ विकल्प दिएका छन् । नेपालले यी पहलबाट लाभ लिँदै आफ्नो कूटनीतिक रणनीतिलाई सुदृढ र सन्तुलित बनाउन आवश्यक छ ।

आजको पुँजीवाद केवल उद्योगमा सीमित छैन, यो ‘भूमण्डलीकृत वित्तीय पुँजीवाद’ र ‘डाटा साम्राज्यवाद’मा बदलिएको छ । जहाँ सूचना, एल्गोरिदम र वित्तीय पुँजीको प्रभुत्व छ । प्रत्यक्ष वैदेशिक लगानी र ऋणको जालोमार्फत नवऔपनिवेशिक प्रभुत्व जमाउने प्रतिस्पर्धा चलिरहेको छ ।

नेपालजस्ता देशमा ‘दलाल पुँजीवाद’ नामक एक नयाँ परजीवी वर्गको जन्म भएको छ । यो वर्ग न त पुँजी लगाउँछ, न त श्रम गर्छ । यसले केवल बिचौलियाको भूमिका खेल्दै राज्यसत्ता कब्जा गरेर कमिसनबाट अकुत सम्पत्ति जम्मा गर्छ । दलाल पुँजीवादी राज्यसत्ताले सञ्चित पुँजीलाई उत्पादनमा लाग्न नदिई कसरी पलायन र शोषण गर्छ भन्ने कुराको गहिरो अध्ययन आजको माक्र्सवादले गर्नुपर्छ । पुँजी लगाउने र श्रम गर्ने वर्गबिचको अन्तरसंघर्षले नै समाजवाद जन्माउँछ, तर दलाल पुँजीवादले यो प्रक्रियालाई अवरुद्ध पारेको छ ।

यतिखेर चीनले अमेरिकालाई पश्चिम एसियामा अल्झाउने रणनीतिअन्तर्गत इरानलाई गोप्य सहयोग गर्दै क्षेत्रीय शक्तिका रूपमा स्थापित गर्न मद्दत गरिरहेको छ । चीनका लागि इरान मध्य एसिया र युरोप जोड्ने महत्वपूर्ण ‘ट्रान्जिट’ हो । उता, हिन्द प्रशान्त क्षेत्रमा ‘फ्री तिब्बत मुभमेन्ट’ र ताइबानको मुद्दा उचालेर अमेरिकाले चीनलाई घेराबन्दी गर्न खोज्दै छ । जापानले आफ्नो सैन्य सामथ्र्य बढाउँदै चीनमाथि आक्रामक मुद्रा देखाउनु र ‘रेल गन’जस्ता आधुनिक हतियारको विकासले हिन्द–प्रशान्त क्षेत्रको शक्ति सन्तुलन उल्टिने खतरा बढेको छ ।

अर्कातर्फ, ‘दुर्लभ पृथ्वी तत्वहरू’को युद्ध पेचिलो बन्दै छ । आधुनिक प्रविधि, मिसाइल र विद्युतीय सवारीका लागि नभई नहुने यी १७ विशेष धातुको ७० प्रतिशत उत्पादन र ८५ प्रतिशत प्रशोधन चीनको नियन्त्रणमा छ । अमेरिका ८० प्रतिशत आयातमा निर्भर छ । चीनले यसलाई भूराजनीतिक हतियार बनाउँदा पश्चिमा प्रविधि संकटमा पर्न सक्छ ।

अमेरिकाको ‘जी–२’ (अमेरिका–चीन द्वैध शासन) को प्रस्तावलाई चीनले अस्वीकार गर्दै बहुधु्रवीयता रोज्नुले अमेरिका चिढिएको छ ।सन् १९९० को दशकमा १५ टुक्रामा विभाजित र ४० प्रतिशत अर्थतन्त्र गुमाएको रुसलाई भ्लादिमिर पुटिनले पुनः महाशक्ति बनाएका छन् । रुसले ‘टोबोल’जस्ता इलेक्ट्रोनिक युद्ध प्रणाली विकास गरेको छ, जसले स्याटेलाइट र रडारलाई अवरुद्ध गर्न सक्छ । युक्रेन युद्धमा यसको सफल प्रयोगले आणविक हतियारभन्दा सूचना प्रविधि कति घातक हुन सक्छ भन्ने पुष्टि गरेको छ ।

जापान अमेरिकाको प्रमुख सहयोगीका रूपमा क्षेत्रीय प्रहरीको भूमिकामा छ भने भारत ‘रणनीतिक स्वायत्तता’को नीतिमा छ । भारत एकैपटक ‘क्वाड’मार्फत अमेरिकासँग र ‘ब्रिक्स’मार्फत रुस–चीनसँग सहकार्य गर्दै आफ्नो राष्ट्रिय हित साधना गरिरहेको छ । विश्व भूराजनीति बहुध्रुवीय बन्दै जाँदा नेपालजस्ता साना राष्ट्र शक्ति संघर्षको केन्द्रमा परेका छन् ।

चीनको बिआरआई र अमेरिकाको एमसिसी/आइपिएसको चेपुवामा नेपाल छ । नेपाल कुनै एक ध्रुवमा ढल्कियो भने त्यसले निम्त्याउने आर्थिक र सुरक्षाको जोखिम कल्पनातीत हुनेछ । नेपाल ‘भूराजनीतिक खेलाडी’ बन्न खोज्नु आत्मघाती हुनेछ । त्यसैले, नेपालले भूराजनीतिक प्रतिस्पर्धालाई ‘भू–आर्थिक’ अवसरमा बदल्नुपर्छ ।

नेपालले भारत र चीनबिचको ‘व्यापारिक पुल’ वा ‘बफर जोन’का रूपमा आफूलाई विकास गर्दै दुई विशाल अर्थतन्त्रबाट कृषि, पर्यटन, जलविद्युत् र आइटी क्षेत्रमा लाभ लिनुपर्छ । यसका लागि नेपालले आफ्नो ऐतिहासिक ‘शान्ति क्षेत्र’ प्रस्तावलाई पुनः अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्नुपर्छ । तर, यसका लागि आन्तरिक राजनीति बलियो हुन आवश्यक छ । विद्यमान अस्थिरता अन्त्य गर्न केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रदेशमा पहिचानसहितको प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने शासकीय स्वरूप आजको आवश्यकता हो ।

जेनोम सिक्वेन्सिङ र डिएनए सम्पादनले ‘सुपरह्युमन’ बनाउने सम्भावना देखाएको छ, जसले वर्गीय खाडललाई ‘जैविक खाडल’मा बदल्न सक्छ । एआईले अर्बौंको रोजगारी खोस्दै छ, जसले उत्पादक शक्ति र सम्बन्धमा फेरबदल ल्याउँदै छ । यो प्रविधिको स्वामित्व कसको हातमा हुने ? एक प्रतिशत खर्बपतिको वा ९९प्रतिशत आमजनताको ? यही प्रश्नले अबको क्रान्तिको स्वरूप निर्धारण गर्नेछ ।

सिलिकन भ्यालीको डाटा साम्राज्यवादले समुदायलाई कमजोर बनाएको छ । पुँजीवादले व्यक्तिलाई बलियो बनाउने नाममा समाजलाई विघटन गर्यो । यसको विकल्प अब पुरानो मोडेलको समाजवाद होइन, आजको चेतना र प्रविधिमा आधारित ‘नयाँ वैज्ञानिक समाजवाद’ हो ।

नयाँ समाजवादले ‘म र हामी’ अर्थात् ‘निजी सम्पत्ति र सामूहिक सम्पत्ति’को द्वन्द्वात्मक समायोजन गर्नुपर्छ । पूर्ण निजीकरणले असमानता ल्याउँछ भने पूर्ण सरकारीकरणले निरंकुशता र प्रेरणाको कमी ल्याउन सक्छ । त्यसैले, निजी पहलकदमी र सामुदायिक स्वामित्वको प्रतिस्पर्धात्मक र पूरक मोडेल नै वैज्ञानिक बाटो हो । माक्र्सले परिकल्पना गरेको साम्यवाद—स्वतन्त्रता, समानता र भ्रातृत्वसहितको समाज आजको प्रविधिले सम्भव बनाएको छ । जहाँ मानिसको जीवनशैलीमै समाजवाद झल्किन्छ ।

नेपालले बाह्य हस्तक्षेप र जेन–जी विद्रोहको गलत प्रयोगबाट बच्न १४२ जातजातिलाई एकीकृत गर्दै बलियो राष्ट्रिय एकता कायम गर्नुपर्छ । श्रम शक्ति पलायन रोक्न र बिदेसिएकालाई फर्काउन दोहोरो नागरिकताको प्रावधान र स्वदेशमै सम्मानजनक श्रम मूल्यको ग्यारेन्टी गरिनुपर्छ ।

अन्त्यमा, राजनीतिको फोहोर सफा गर्न संगठनको ढाँचा बदल्नुपर्छ । २१औँ शताब्दीको जनवादको विकासका लागि दुईवटा विधि आदर्श बन्नुपर्छ– १. निरन्तर सर्वहारा सांस्कृतिक क्रान्ति : विचारको शुद्धीकरणका लागि अति आवश्यक छ । २. नेतृत्वको पृथकीकरण : पार्टीको मूल नेतृत्व सरकारमा नजाने र सरकारमा जानेहरू आलोपालो विधिबाट जाने । यसले सत्ताको उन्माद र भ्रष्टीकरणबाट नेतालाई बचाउँछ ।

पार्टी र सेना (कार्यकर्ता)लाई बन्दुक वा भाषणमा मात्र होइन, श्रम र उत्पादनसँग जोड्नुपर्छ । जब समुदाय नै उत्पादक र उपभोक्ता बन्छ, तब दलाल पुँजीवाद परास्त हुन्छ । पुष्पलालको नयाँ जनवाद, मदन भण्डारीको जनताको बहुदलीय जनवाद र माओवादीको २१औँ शताब्दीको जनवादलाई निषेध होइन, संश्लेषण गरेर मात्र हामी नयाँ वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्न सक्छौँ । समाजवादलाई केवल राजनीतिक नारा होइन, आमजनताको जीवनशैली, संस्कृति र खुसीसँग जोड्न सके मात्र मानव सभ्यता अर्को सौर्यमण्डलसम्म फैलिने आधार तयार हुनेछ ।

सुझावित समाचार