- दोस्रो एनपिएलको लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सको विजेता नै सातौँ स्थानमा रहनेछ
दोस्रो संस्करणको एनपिएलकै लिग चरणको अन्तिम खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच आज दिउँसो ३:३० बजे हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबिचको प्रतिस्पर्धा सातौँ वा आठौँ स्थानमा रहँदै एनपिएलको यात्रा सकाउने हुनेछ । कर्णाली र जनकपुरले समान ६ खेलबाट दुई अंक बटुलेका छन् । रनरेट आधारमा कर्णाली सातौँ र जनकपुर आठौँ स्थानमा छ । एनपिएलकै साबिक विजेता रहेको जनकपुरले उपाधि रक्षा गर्न सकेन । जनकपुर लगातार चार खेलमा पराजित हुँदा प्लेअफ प्रवेश कमजोर बनेको थियो ।
जनकपुरले सुरुवातदेखि नै ब्याटिङ र बलिङमा फितलो प्रदर्शन गर्यो । एकरुपता प्रदर्शन गर्न नसक्दा नै जनकपुरको दोस्रो एनपिएल अन्यन्तै खराब नतिजा निकालेको हो । जनकपुरले जस्तै कर्णालीको पनि यस्तै अवस्था रह्यो । गत वर्ष तेस्रो स्थानमा रहेर एनपिएल सकाएको कर्णालीले यसपटक थप राम्रो नतिजा ल्याउने योजना बनाएको थियो ।
यहीअनुसार कर्णालीले राम्रो स्वदेशी तथा विदेशी खेलाडीमाथि लगानी गर्यो । लगानी गरेअनुसार कर्णालीले नतिजा निकाल्न सकेन । चालू एनपिएलमा कर्णाली प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली नै बन्यो । लुम्बिनीविरुद्ध एक मात्र निकाल्यो । विराटनगरसँगको जितेको खेल पनि अन्तिम पाँच ओभरमा कसिलो बलिङ गर्न नसक्दा खेल गुमाएको थियो । यसै खेलबाट कर्णालीको प्लेअफ आशा समाप्त भएको थियो ।
अब कर्णालीको पनि लक्ष्य सातौँ स्थानमा रहेर एनपिएल यात्रा समाप्त गर्ने हो । कर्णालीले अन्तिम खेलमा सबै अस्त्र प्रयोग गर्नेछ । यस सिजनमा कर्णालीका लागि स्वदेशीभन्दा विदेशी खेलाडीले राम्रो खेले । ओपनिङ, मध्य र पुछारसम्म विदेशी ब्याट्सम्यानले सम्हाले । घरेलु खेलाडीमा गुल्सन झा, नन्दन यादव तथा सोमपाल कामीजस्ता खेलाडी भए पनि कर्णालीले अपेक्षाअनुरूप नतिजा निकाल्न सकेन ।
जनकपुरले भने दोस्रो एनपिएलमा खेलाडी अनुबन्धदेखि कमजोरी देखाएको थियो । ठुला नाम चलेका खेलाडीहरूलाई जनकपुरले अनुबन्ध गरेन । स्थानीय खेलाडीकै भरमा जनकपुरले एनपिएलमा प्रतिस्पर्धा गरेको थियो । जान निकोल, किशोर महतो, मयांक यादव, लाहिरू मिलान्थ, अनिल साह र वाने पार्नलजस्ता खेलाडीले जनकपुरलाई प्लेअफसम्म पुर्याउन सकेनन् । जनकपुरको एउटै लक्ष्य कर्णालीलाई हराउँदै सातौँ स्थान रक्षा गर्ने हो । तर, पछिल्लो समयमा टोलीभित्र विविध समस्या आउँदा जनकपुरको म्यानेजमेन्टले कप्तान परिवर्तन गरिरहेको छ । नियमित कप्तान अनिलको स्थानमा अस्ट्रेलियन पार्नललाई कप्तानी जिम्मेवारी दिएको थियो । लुम्बिनीसँगको खेलमा नामिबियाका जानले नेतृत्व गर्न अवसर पाएका थिए । टोली भित्र जस्तो समस्या भए पनि जनकपुरले कर्णालीलाई हराउँदै यात्रा सकाउने योजना बनाएको छ ।
प्लेयर्स टु वाच
मार्क वाट (कर्णाली)
कर्णालीले मार्क वाटलाई बलरका रूपमा भित्र्याएको थियो । एनपिएलमा वाट बलर नभएर ब्याट्सम्यानका रूपमा चम्किए । बलरका रूपमा क्रिकेट करिअर सुरु गरेका उनले आफूलाई बिस्तारै एक विश्वासिलो ब्याट्सम्यानका रूपमा परिणत गरेका छन् । एनपिएलमा उनले यस्तै उदाहरण प्रस्तुत गरेका छन् । तर, कर्णालीले केही महत्वपूर्ण खेल गुमाउँदा प्लेअफमा पुग्न सकेन । लिगकै अन्तिम खेलमा कर्णालीले जनकपुरविरुद्ध खेलिरहँदा वाट प्रमुख खेलाडी बन्नेछन् । कर्णालीले लुम्बिनीमाथि सानदार जित निकाल्दा उनले दोस्रो एनपिएलकै पहिलो शतकीय योगदान दिए । उनले सो खेलमा ११४ रन तथा एक विकेट हात पारेका थिए । पोखरासँगको खेलमा पनि उनले ५९ रन बनाए ।
पवन सर्राफ (कर्णाली)
कर्णालीले सुरुमा पवनलाई मौका दिएको थिएन । सुरुवातमा कर्णालीले स्तरीय विदेशी खेलाडीको भरमा खेल जित्ने योजना बनाएको थियो । तर, उनीहरूबाट सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि कर्णालीले स्वदेशी अलराउन्डर पवनलाई टोलीमा समावेश गर्यो । कर्णालीले पाँच खेल गुमाए पनि उनले ब्याटिङमा मध्यम योगदान दिए । उनले काठमाडौंविरुद्ध ३५ रन तथा सुदूरपश्चिमविरुद्ध २७ रन जोडेका थिए । बलिङमा काठमाडौं र विराटनगरविरुद्ध उनले समान एक विकेट हात पारे । लिगकै अन्तिम खेलमा पवनले जनकपुरविरुद्ध बलिङ र ब्याटिङमा प्रभाव पार्न सक्छन् । जनकपुरले पनि उनीबाट यस्तै प्रदर्शनको अपेक्षा राखेको छ ।
मयंक यादव (जनकपुर)
उपाधि रक्षा गर्न चुकेको जनकपुरले घरेलु क्रिकेटमा चम्किएका खेलाडी मयंकलाई पाँच खेलमा अवसर दिएको थियो । यद्यपि, मयंकले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सकेनन् । उनले लुम्बिनीविरुद्धको महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्याटिङमा २७ रन बटुलेका उनले बलिङमा तीन रन खर्चेर दुई महत्वपूर्ण विकेट हात पारेका थिए । मयंकको यो प्रदर्शन लिगमा ढिला भइसकेको थियो । मयंकले कर्णालीविरुद्धको खेलमा ब्याटिङ र बलिङमा यस्तै किसिमको खेल देखाउने विश्वास छ । उनले सुदूरपश्चिमसँगको खेलमा ६ रन बनाएका थिए । चितवनसँगको खेलमा मयंक ड्रप भएका थिए ।
जान निकोल (जनकपुर)
जनकपुरले लुम्बिनीविरुद्ध कप्तान परिवर्तन गरेको थियो । नामिबियाका नियमित खेलाडी जान निकोल इटनले लुम्बिनीसँगको खेलमा कप्तानी गर्न अवसर पाए । ब्याटिङमा जनकपुरले राम्रो प्रदर्शन गर्न नसके पनि बलिङमा भने लुम्बिनीलाई दबाबमा राखेको थियो । पहिलोपटक कप्तानी गरेका जानले पछिल्लो खेलमा आफ्नो अन्तर्राष्ट्रिय अनुभव प्रयोग गरेका थिए । उनले ब्याटिङमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा ३९ रनको योगदान दिएका थिए । विराटनगरसँगको खेलमा उनले सर्वाधिक ४१ रनको योगदान दिए । बलिङमा उनले एकपटक चितवनसँगको खेलमा एक विकेट हात पारेका थिए ।