उदयपुरको रामपुरमा अस्पताल प्रशासन प्रमुखसमेत भएर बिरामीको उपचार गरिरहेका एमडी डाक्टर विशाल राईलाई आफ्नो सीप अपुरो लाग्यो। मनमोहन विश्वविद्यालयले आफ्नो सिप निखार्ने विषय ‘हस्पिटल म्यानेजमेन्ट’ पढाइरहेको छ भन्ने थाहा पाएपछि उनीले मास्टर्स तहमा भर्ना गरेका छन्।
झापाको लखनपुरस्थित कोशी सरकारको प्रदेश आयुर्वेदिक केन्द्रमा चिकित्सकका रूपमा कार्यरत अभिषेक राजवंशीलाई पनि आफ्नै कार्यालयमा नेतृत्व अभाव भएको महसुस भइरहेको थियो। यो अभाव पूरा गर्ने योजनासहित उनले पनि हस्पिटल म्यानेजमेन्ट पढ्ने निर्णय गरेका छन्
लुम्बिनी प्रदेशको बुटवल घर भएकी डा. प्रतिज्ञा पौडेललाई पनि विज्ञ भएर बिरामी जाँच गर्दैमा आफूमा व्यवस्थापनसम्बन्धी लिडरसिप नभएको महसुस भयो। यसैले उनीहरू पनि अहिले मनमोहन प्राविधिक विश्वविद्यालयको कलेजमा हस्पिटल मनेजमेन्टमा भर्ना भएर पढ्दै छन्।
डा. राई , भण्डारी र अभिषेक राजवंशी मात्र हैन, अस्पताल व्यवस्थापन पढ्न विज्ञ चिकित्सक र नर्स, स्वास्थ्यकर्मी र प्राविधिकहरूको आकर्षण बढ्दो छ । गत वर्षदेखि नै मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘हस्पिटल म्यानेजमेन्ट एन्ड हेल्थकेयर’को मास्टर तहमा भर्ना हुन थालेका छन् । उनीहरू हरेक दिन बिहान ६ बजे विराटनगर–१४ जतुवामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक कलेजमा हस्पिटल म्यानेजमेन्ट पढाइ गर्न कक्षामा उपस्थित हुन्छन् । यहाँ विद्यार्थीले ८० प्रतिशत कक्षामै हाजिर हुनैपर्छ । प्राक्टिकल प्रतिवेदन तयार गर्नेपर्छ ।
कुशल स्वास्थ्य प्रशासक बन्न, आफ्नै क्लिनिक र अस्पताल सफल रूपमा सञ्चालन गराउन अनि अस्पतालमा कुशल नेतृत्व लिएर रोजगारी गर्न विज्ञ चिकित्सक, नर्स र दक्ष स्वास्थ्यकर्मीहरूले अस्पताल व्यवस्थापन विषय पढ्न थालेका छन् । बिरामी उपचार गरे पनि विद्यार्थी भएर पढ्न सुरु गरेको डा. राई बताउँछन् । ‘स्वास्थ्य क्षेत्रको विज्ञ भएर मात्र नपुग्दो रहेछ, अस्पताल व्यावस्थापनको व्यावहारिक सिपसहितको ज्ञान पनि चाहिनेरहेछ,’ डा. राईले भने ।
मनमोहन प्राविधिक विश्वविद्यालले देशमै पहिलोपटक दुई वर्षअघि अस्पताल व्यवस्थापन गर्नसक्ने दक्ष जनशक्त्ति उत्पादन गर्न ‘मास्टर्स अफ हस्पिटल म्यानेजमेन्ट एन्ड हेल्थकेयर’ विषय प्राध्यापन गराउन थालेको छ । कोर्स सुरु गरेर पठनपाठन गराउन थालेलगत्तै विज्ञ डाक्टर, नर्स र दक्ष स्वास्थ्यकर्मी, प्राविधिहरूले रुचि देखाइरहेको मनमोहन एचएमएसी कलेजकी कार्यक्रम संयोजक प्रतीक्षा रेग्मीले बताइन् । उनका अनुसार स्वास्थ्य क्षेत्रमा अस्पताल कुशलतापूर्वक सञ्चालन गर्ने र पेसामा नेतृत्व लिनसक्ने जनशक्तिको खाँचो छ । यसैले मनमोहन प्राविधिक विश्विद्यालयले अस्पताल म्यानेजमेन्टको पढाइ सुरु गराएको हो । रेग्मीले भनिन्, ‘पढाइ सुरु गरेको पहिलो ब्याचमै २४ जना र दोस्रो ब्याचमा २७ जना विद्यार्थी भर्ना भएर पढिरहेका छन् ।’
अस्पताल म्याजेमेन्टले अस्पताल सञ्चालन गर्न मात्र सिकाउँदैन एउटा कुशल नेतृत्वकर्ता डाक्टर, नर्स र स्वास्थ्य प्राविधिक बन्न पनि सहयोग गर्छ । यो पढाइले स्वास्थ्यसँग सम्बन्धित नीति र कानुन, खरिद ऐनको कार्यान्वयन, अस्पतालमा दैनिक आइपर्ने झैझमेलाको व्यवस्थापन र सञ्चालन व्यवस्थापनबारे व्यावहारिक सिप प्रदान गर्छ ।
मोरङको विराट टिचिङ अस्पतालमा क्वालिटी कन्ट्रोलरको रूपमा सेवा गरिरहेकी मोनिका रेग्मी आफ्नो विभागको सफल नेतृत्वकर्ता बन्न ‘हस्पिटल म्यानेजमेन्ट’ पढेको बताउँछिन् । विराट अस्पतालमै आइसियू विभागमा सुपरभाइजर रहेकी सुस्मिता सुपभाइजर भएर मात्र आफूमा लिडरसिपको ज्ञान अपूरो लागेर पढ्न थालेको बताउँछिन्।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवाश्री पोखरेल अस्पतालको प्रशासन चलाउनेहरूलाई कम्तीमा खरिद प्रक्रिया, स्वास्थ्य नीति र कानुन अनि द्वन्द्व व्यावस्थापनदेखि फोहोर व्यावस्थापन, जनसम्पर्क कला आदिबारे ज्ञान र सिप आवश्यक पर्दोरहेछ । यसैले आवश्यकता देखेर विदेशी, स्वदेशी विज्ञहरूबाट एमटियूले हस्पिटल म्यानेजमेन्टको कोर्स तयार गरेको हो । उपकुलपति पोखरेलले भने, ‘पोखरामा स्वास्थ्य नीति र कानुन अनि अस्पतालबारेको मात्रै हेल्थकेयर कोर्स रहेछ। यसैले हामीले बजारको मागलाई ख्याल गरेर ‘हस्पिटल म्यानेजमेन्ट’लाई प्राथमिकता दिएर कोर्स बनाउन लगाएर पढाउन थालेका हौँ।’
