मनोज भट्टको ‘कामरेड जलजला उपन्यासको विवेचना’ सार्वजनिक

शनिबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’ सार्वजनिक भएको छ ।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित भीमकाय उपन्यास ‘कामरेड जलजला’ माथिको समीक्षात्मक कृतिका रुपमा भट्टले ‘कामरेड जलजला उपन्यासको विवेचना’ बजारमा ल्याएका हुन् ।

उक्त कृतिको विमोचन शनिबार काठमाडौंमा आयोजित समारोहमा ‘कामरेड जलजला’ उपन्यासका लेखक मोहनविक्रम सिंहले नै गरे । सो अवसरमा लिखित मन्तव्य प्रस्तुत गर्दै सिंहले विवेचनात्मक पुस्तक प्रकाशन गरेकोमा भट्टलाई धन्यवाद व्यक्त गरे। ‘कमरेड जलजला’ पुस्तकमा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्त्व दिइएको र त्यसक्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको उनको भनाइ थियो ।

कार्यक्रममा भट्टको पुस्तकमाथि नेपाली कम्युनिस्ट पार्टीका नेता तथा साहित्यकार दीनानाथ शर्मा, एमालेका उपमहासचिव तथा प्रगतिवादी साहित्यकार प्रदीप ज्ञवाली, भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट, नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ बाबा बस्नेतले समीक्षा गरेका थिए । 

२६० पेजको उक्त पुस्तकको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

सुझावित समाचार