सुनसरी चतराकी दीपा मग्रातीको अनेक परिचय छन् । उनी कविता लेख्छिन् । ढुंगामा चित्र बनाउँछिन् । स्कुल पढाउँछिन् । टेलिभिजनमा कार्यक्रम पनि चलाउँछिन् । सामाजिक मुद्दाहरूमा खरो रूपमा प्रस्तुत हुन्छिन् । यीमध्ये कविता र चित्रकला उनको प्राथमिकतामा पर्छ ।
भोजपुरमा जन्मिएकी दीपाले हतुवागढी गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय पढ्दा नै चित्र कोर्न सिकिन् । उनले सुरुवाती दिनमा कागजमा सिसाकलमले विभिन्न आकार–प्रकार बनाइन् । कक्षा तीनमा पढ्दै गर्दा विद्यालयको प्रतिनिधित्व गर्दै चित्रकला प्रतियोगितामा सहभागी भइन् । त्यो प्रतियोगितामा उनले तेस्रो स्थान हासिल गरिन् । त्यसपछि उनको चित्रकला यात्रा निरन्तर अगाडि बढ्यो । ‘कक्षा तीनमै हुँदै चन्दकला म्यामले एकपटक डाँफेको चित्र बनाउन लगाउनुभएको थियो । त्यो चित्र हेरिसकेपछि प्रतियोगितामा लिएर जानुभएको थियो । प्रतियोगितामा तेस्रो भएपछि मेरो कलाप्रतिको लगाव बढ्दै गयो,’ दीपाले भनिन् ।
दीपा कक्षाहरूमा उक्लिरहिन् र प्रतियोगितामा पनि भाग लिइरहिन् । पहिलो हुने सपनालाई पनि छाडिनन् । पहिलो स्थान हासिल गर्ने दृढताका साथ उनी लागिरहिन् । किनभने प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले रंगीबिरंगी रंगको बट्टा पाउँथ्यो । त्यही रंग प्राप्त गर्ने सपना देख्दै उनी प्रतियोगितामा भाग लिइरहिन् । कक्षा पाँच पढ्दा उनी फेरि प्रतियोगितामा सहभागी भइन् । त्यतिवेला उनले दोस्रो स्थान प्राप्त गरिन् । कक्षा ६ पढ्दै गर्दा फेरि सहभागी भइन् । त्यतिवेला उनले कुनै पनि स्थान जित्न सकिनन् । तर, उनले हरेश खाइनन् । धैर्य, मिहिनेत, सपनाको अगाडि उनी लागिरहिन् । कक्षा सात पढ्दै गर्दा उनले प्रथम स्थान हासिल गरिन् । ‘म जति कक्षा माथि उक्लिँदै गएँ त्यति नै पहिलो हुने चाहना बढ्दै गयो । जो पहिलो हुन्थ्यो, उसले कलर पाउँथ्यो । कक्षा सात पढ्दै गर्दा पहिलो भएँ,’ दीपाले भनिन्,‘पहिलो भएपछि अब मैले चित्र कोरिरहनुपर्छ भन्ने लाग्यो । तर, बिचमा विभिन्न कारणले चित्र कोर्न छोड्नुपर्ने अवस्था आयो ।’
चित्रकलासँगै दीपाले भोजपुरमै रहँदा कविता लेख्न थालिन् । सामाजिक काममा पनि लागिन् । गाउँपालिकाभित्र हुने बालविवाह रोक्नका लागि अडिग भएर लागिन् । त्यसको फलस्वरूप उनले गाउँ छाड्नुपर्यो । कक्षा नौ र दश पढ्न धनकुटा झरिन् । त्यतिवेला उनको चित्रकला यात्रा केही समय रोकियो । उच्च शिक्षा हासिल गर्ने क्रममा उनी परिवारसहित सुनसरीको चतरा आइपुगिन् । त्यसपछि उनको चित्रकला यात्रा फेरि मुर्झाउन थाल्यो । कागजमा कोर्दै गरेको उनको चित्रकला यात्रा ढुंगातर्फ मोडियो । ‘धनकुटा झरेपछि धेरै समस्याका कारण चित्रकलामा ध्यान दिन सकिनँ । चतरा आएपछि प्लस टु पढ्दै गर्दा चित्रकलालाई निरन्तरता दिएँ,’ उनले भनिन्,‘चित्रकलालाई निरन्तरता दिइरहे पनि मलाई चित्त बुझेको थिएन । जति सोचेको थिएँ, त्यति गर्न सकेको थिइनँ । मलाई केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि स्टोर्न आर्टतर्फ मोडिएँ ।’
...त्यसपछि स्टोन आर्ट
साढे तीन वर्षअघिको कुरा हो, दीपा घरनजिकैको धारामा बसी यसै केही सोचिरहेकी थिइन् । त्यहीवेला उनले धारानजिकै एउटा ढुंगा देखिन् । त्यही ढुंगाले उनको स्टोर्न आर्टतर्फ यात्रा मोडियो । त्यही ढुंगालाई उनले घर ल्याइन् । आफूसँग भएको ब्रसले जसोतसो रंग्याइन् । ढुंगामा डाँफे र हिमालको चित्र बन्यो । त्यही चित्र उनको पहिलो स्टोन आर्ट बन्यो । चित्रकलामा कखरा सिक्दै गर्दा उनले स्टोन आर्टबाट अनपेक्षित प्रतिक्रिया पाउन थालिन् । त्यस्ता धेरै प्रतिक्रियाले उनलाई अगाडि बढ्ने प्रेरणा मिल्यो । ‘स्टोन आर्टबाट निकै राम्रो प्रतिक्रिया पाएँ । त्यसपछि थप काम गर्न हौसला मिल्यो,’ ती दिन सम्झँदै उनले सुनाइन् ।
स्टोन आर्टले उनको चर्चा चल्न थाल्यो । सम्बन्धको घेरा फराकिलो हुँदै गयो । उनको कलालाई माया गर्नेहरू थपिँदै गए । जसले गर्दा उनले चित्रकलाको नौमहिने आधारभूत तालिम लिन पाइन् । सो तालिम लिन उनी चतराबाट धरान गइन् । त्यसपछि घरदेखि ४५ मिनेट टाढा रहेको पट्नाली खोलामा गएर ढुंगा जम्मा गर्न थालिन् । खोलाका ढुंगा उनको कला फक्रिने उर्वर स्थान बन्यो । उनको स्टोन आर्ट धरान, धनकुटा हुँदै टाढाटाढासम्म बिक्री भयो । तर, उनले आफ्नो कलाको मूल्य कहिल्यै राखिनन् । कलालाई माया गर्नेहरूले जति दिन्थे, त्यति नै लिन्थिन् । उनले बनाएको कलाले १५ सयदेखि पाँच हजारसम्मको मूल्य पायो । ‘मैले बनाएका स्टोन आर्ट दाङ घोराहीसम्म पुग्यो,’ दीपाले भनिन्,‘कलाको मर्म बुझ्ने धेरैले मैले बनाएको स्टोन आर्ट किनिदिनुभयो । सिक्ने क्रम भएको र आवश्यकताअनुसार रंग प्रयोग गर्न नसकेकाले आफ्नो कलाको मूल्य राख्न सकिनँ । उहाँहरूले कलालाई सम्मान गर्दै आफ्नै मनले पैसा दिनुहुन्थ्यो ।’ चित्रकलासँगै शिक्षण पेसाबाट आएको केही रकमले उनको दैनिकी सजिलो बनाएको थियो । चित्रकलाका लागि सामान जुटाउन केही हदसम्म सजिलो भएको थियो । तर, अहिले उनको चित्रकला यात्रा रोकिएको छ ।
२३ वर्षीया दीपाले सानै उमेरमा जातीय विभेद, लैंगिक विभेदजस्ता अनेक पर्खाल पार गरिन् । विभेदको पर्खाल नाध्ने क्रम अझै जारी छ । संघर्षपूर्ण जीवन बाँच्दै, कलाक्षेत्रमा खटिरहेकी उनको चित्रकला यात्रामा अहिले अवरोध खडा भएको छ । ‘अहिले पूर्ण रूपमा स्टोन आर्टमा केही गर्न सकेको छैन । त्यसमा फरकपन सिर्जना गर्ने मन छ । फरक काम गर्न नयाँ सामान चाहिन्छ । नयाँ सामान किन्न आर्थिक रूपमा अलि गाह्रो छ । तर, जसरी हुन्छ निरन्तरता दिन्छु ।’ दीपाले भनिन् । कलाप्रतिको लगावकै कारण उनले कलायात्रालाई निरन्तरता दिने लक्ष्य राखेकी छिन् ।
दीपा कहिले बालविवाहविरुद्ध आवाज उठाउन पुग्छिन् त कहिले सामाजिक मुद्दामा कविता सुनाउन पुग्छिन् । कहिले भ्रष्टाचार र सुशासनको पक्षमा प्लेकार्ड बोकेर सडकमा उभिन्छिन् । स्कुल पनि पढाइरहेकी छिन् । यी सबै कर्मका बाबजुद उनलाई खोलाका ढुंगाले पनि पर्खिरहेका छन् । ढुंगाले भनेझैँ लाग्छ, ‘दीपा हामी मूर्ति मात्रै बन्न चाहदैनौँ । आऊ अनेक रंगहरूले हामीलाई रंग्याऊ र समाजलाई केही भन ।’