अध्यागमन प्रणालीमा पुनर्संरचनाको सुरुवात

भिजिट भिसाको सेटिङका कारण बदनाम बनेको अध्यागमनमा केही सुधारका संकेत देखिँदै

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

विभागले गरेका पाँच सुधारका काम 

१. भिजिट भिसामा सरलीकृत र सहजीकरण

२. एयरलाइन्सको ओभर बुकिङ विकृतिमा कमी 

३. विदेशी नागरिकमाथि नियमन र पक्राउ

४. विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको सुरुवात 

५. अध्यागन विभागको पुनर्संरचना

भिजिट भिसाको सेटिङका कारण बदनाम बनेको अध्यागमनमा केही सुधारका संकेत देखिएका छन् । अध्यागमन विभागले हालै पुनर्संरचनाका काम अघि बढाएको छ । 

पछिल्लो समय सुधारिएको मुख्य काम भनेको भिजिट भिसा जाने प्रक्रियालाई सहजीकरण हो । भिजिट भिसासम्बन्धी कार्यविधि संशोधन गरेर गत १३ कात्तिकदेखि पर्यटक भिसामा विदेश जाने प्रक्रियालाई सरल बनाइएको छ । नयाँ कार्यविधिअनुसार पासपोर्ट, भिसा र टिकट भएकालाई अध्यागमनले नरोक्ने गरेको छ । यसअघि शंकास्पद भ्रमण भन्दै अध्यागमनले रोक्ने र सेटिङमा पठाउने गरेको थियो । जसमा विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । 

छानबिनका क्रममा अध्यागमन भिजिट भिसाका बिचौलियाको निर्देशनमा चल्ने गरेको खुलिसकेको छ । सो प्रकरणपछि बनाइएको नयाँ कार्यविधिपछि अध्यागमनमा हुने भिजिट भिसाको सेटिङ लगभग बन्द भएको छ । पासपोर्ट, भिसा र टिकट भएको अवस्थामा रोकेमा कर्मचारी नै जिम्मेवार हुने गरी निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ । 

भिजिट भिसामा हुने सेटिङ रोकेसँगै ट्राभल एजेन्सीहरूले ओभर बुकिङ गर्ने विकृति पनि कम हुँदै गएको छ । यसअघि भिजिट भिसामा विदेश जाँदा दुईतर्फी टिकट काट्नुपर्ने हुन्थ्यो । ट्राभल एजेन्सीको मिलेमेतामा त्यसका लागि ओभरबुकिङ गर्ने र सम्बन्धित व्यक्ति विमानस्थल पुगेलगत्तै त्यसलाई रद्द हुने गर्दथ्यो । ‘दुईतर्फी टिकटका नाममा हुने ओभर बुकिङले विदेश जाने नागरिकमाथि ठुलो रकम ठगी हुँदै आएको थियो,’ अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, ‘दुईतर्फी टिकटको प्रावधान हटाएपछि यो धन्दा लगभग बन्द भएको छ ।’ 

अध्यागमनबाट भिजिट भिसाको सेटिङ रोकिएपछि एयरलाइन्सहरूले बोर्डिङ पास नै रोकेर यसमा चलखेल गरिरहेका छन् । त्यसमा पनि अध्यागमन विभागले लिखित कारणविना कसैको पनि बोर्डिङ पास नरोक्न एयरलाइन्स कम्पनी तथा विमानस्थलको ग्राउन्ड हेन्डलिङसमेत गर्दै आएको नेपाल एयरलाइन्सलाई निर्देशन दिएको छ । 

अध्यागमनले सुदृढीकरणका लागि थालेको अर्काे काम भनेको शंकास्पद रूपमा बस्दै आएका विदेशी नागरिकमाथि छानबिन हो । विभागले पछिल्लो तीन महिनामा २० जना विदेशीलाई पक्राउ गरी निष्कासन गरिसकेको छ । धर्म प्रचार तथा भिसा प्रयोजनविपरीतका गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कारबाही थालिएको विभागका निर्देशक टीकाराम ढकाल बताउँछन् । घुम्ने बहानामा नेपाल आएर कतिपय धर्म प्रचारमा संलग्न हुन थालेपछि नियमन प्रणाली कमजोर रहँदै आएको थियो । कतिपय पर्यटक भिसामा बसेर व्यापार तथा जागिरजस्ता गतिविधिमा संलग्न भेटिएपछि विभागले निगरानी बढाएको छ । 

त्यस्तै, व्यापार र विद्यार्थी भिसामा बस्दै आएका विदेशी पनि अन्य गतिविधिमा संलग्न रहेको सूचना पाएपछ विभागले नियमन थालेको छ । नयाँ बजारमा बसेर नेपाली युवतीलाई विवाहको आवरणमा चीनमा तस्करी गर्दै आएका तीन चिनियाँलाई दुई साताअघि विभागले पक्राउ गरेको थियो । उनीहरू व्यापारसम्बन्धी भिसा लिएर लामो समयदेखि नेपालमा बस्दै आएका थिए । उनीहरू आपराधिक गतिविधिमा समेत संलग्न रहँदै आएको अनुसन्धानमा खुलेको थियो । व्यापारसम्बन्धी भिसामा नेपाल बस्दै आएका चिनियाँहरू अनलाइन ठगी, सुन तस्करीलगायत गतिविधिमा संलग्न रहँदै आएका छन् । 

विद्यार्थी भिसामा बस्दै आएकाहरू पनि अन्य गतिविधिमा संलग्न देखिएपछि उनीहरूका गतिविधिबारे जानकारी दिन विभागले हालै शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । विद्यार्थी भिसामा बसेर जागिर तथा धर्म प्रचारमा संलग्न हुनेको संख्या ठुलो रहेको सूचना विभागले पाएको छ । 

विभागले केही नीतिगत सुधारको काम पनि गरिरहेको छ । विभागको पुनर्संरचना गरी भिसा अवधि थपका लागि विभागमै पुग्न नपर्ने गरी सेवा केन्द्र स्थापनाका लागि पनि प्रक्रिया अघि बढेको छ । त्यस्तै, माथिल्लो मुस्ताङ घुम्न जाने पर्यटकले न्यूनतम पाँच सय डलर तिर्नुपर्नेमा त्यसलाई संशोधन गरी दिनको ५० डलरका दरले तिर्ने नियम बनाइएको छ । 

अध्यागमन राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पाटो भएकाले पुनर्संरचना थालिएको महानिर्देशक तिवारी बताउँछन् । ‘अध्यागमन भनेको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो, हाम्रो देशको छविसँग जोडिएको छ,’ उनले भने, ‘विकसित देशमा जस्तै खराब मान्छेलाई नेपाल छिर्न डराउने वातावरण होस् र देशभित्र विदेशीका गतिविधि नियन्त्रण होस् भने नियमन र कारबाही थालेका हौँ ।’

पर्यटकको नियमनका लागि सबै पक्ष तयारीमा 
अध्यागमन विभागले सुरुवात गरेको एउटा काम भनेको विदेशी नागरिकको नियमन हो । आगामी १ जनवरी (१७ पुस) देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ कार्यान्वयन गर्न लागिएको छ । पहिलो चरणमा काठमाडौंका तारे होटेलबाट यो प्रणाली कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ । तीन महिनापछि सबै होटेल, ट्राभल व्यवसायीले यो प्रणालीमा अनिवार्य रूपमा कार्यान्वयन गर्न थालिएको छ । यो प्रणाली राष्ट्रिय सुरक्षा सुदृढीकरणकै महत्वपूर्ण पाटो भएको विभागका अधिकारीहरू बताउँछन् । 

नियमन प्रणाली कार्यान्वयनका लागि विभागले बुधबार सरोकारवालासँग छलफल गरेको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले यसलाई पर्यटकको ट्र्याकिङ नभई सूचना प्रणाली भएकाले यसलाई सकारात्मक रूपमा लिएर त्यहीअनुसार प्रचार गर्नुपर्ने बताए । ‘यो असल नियतले सुरु गरिएको काम हो, विदेशमा धेरै देशमा यस्तो प्रणाली छ,’ उनले भने, ‘यसबाट हामीले सकारात्मक सन्देश दिनु जरुरी छ ।’ 

होटेल एसोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले यो प्रणाली कार्यान्वयनका लागि व्यवसायीहरू तयार रहेको बताए । तर, धेरै होटेलहरू दर्ता नभएकाले नीतिगत सहजता गरी दर्ता प्रक्रियामा ल्याए यो प्रणाली कार्यान्वयनका लागि सहज हुने उनको भनाइ छ । ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईंले यो प्रणालीले पर्यटकको सुरक्षामा पनि सहयोगी हुने बताए ।

राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि अध्यागमनको पुनर्संरचना : रामचन्द्र तिवारी, महानिर्देशक, अध्यागमन विभाग 
अध्यागमन राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पाटो हो र यो देशको छविसँग जोडिएको छ । अध्यागमनका विभिन्न पक्षलाई क्रमैसँग पुनर्संरचना गरिरहेका छौँ । भिजिट भिसामा हुने विकृति ठप्प भइसकेको छ ।

अन्य नीतिगत सुधारका काम गरिरहेका छन् । भिसाको प्रयोजनविपरीत बस्ने विदेशी नागरिकलाई पक्राउ र छानबिन गरी निष्कासन गरिरहेका छौँ । अब १ जनवरीदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको सुरुवात गर्न लागेका छौँ ।

यो देशको सँगै पर्यटककै सुरक्षाका लागि हो । अन्य नीतिगत निर्णय पनि प्रक्रियामा छन् । नेपालमा गलत मनसायले विदेशी नागरिक आउन डराउने अवस्था बनाउँछौँ ।

सुझावित समाचार